काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारी सोही बैंकका खातावालाको पैसा झिकेर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । दैलेखको दुल्लु नगरपालिकामा रहेको शाखामा कार्यरत जयबहादुर थापाले सोही बैंकमा रहेको भवानीप्रसाद आचार्यको खाताबाट ८ लाख रुपैयाँ झिकेको खुलासा भएको हो ।
बैंककै कर्मचारीबाट बिना जानकारी ८ लाख रुपैयाँ झिकेर सम्पर्कविहीन भएको भन्दै पीडित पक्षले छानबिनका लागि राष्ट्रिय वाणिज्य बैंक दुल्लु शाखामा वैशाख ७ गते निवेदन दिएका थिए । बैंक शाखाका प्रबन्धक कृष्णप्रसाद उपाध्यायले उक्त निवेदन वैशाख ८ गते केन्द्रीय कार्यालयमा पठाएको बताए ।
उपाध्याय भन्छन्, ‘निवेदन केन्द्रीय कार्यालयमा गएपछि बैंकको कर्णाली प्रदेश कार्यालयबाट आएको टोलीले अध्ययन गरेर फर्किएको छ । उक्त रिर्पोट केन्द्रमा पठाइएको छ । दोषी भएमा कारबाही हुनेछ ।’ पीडित पक्ष जिल्ला प्रहरी कार्यालय दैलेख पुगे पनि जाहेरी भने दर्ता गरेका छैनन् ।
प्रबन्धक उपाध्यायका अनुसार पैसा फागुनमै निकालिएको थियो । ‘जयबहादुर चैत्रबाट अफिस पनि आउनु भएको छैन । चैत्रको १२, १३ गतेबाट बिदा लिनु भएका थापा २६, २७ गते अफिसमा हाजिर हुनुपर्ने भए पनि हालसम्म आउनु भएको छैन । हामीले सम्पर्क गर्न खोज्दा सम्पर्क भएको छैन ।’ उपाध्यायले बताए ।
उनका आफन्तलाई सोधपुछ गर्दा ज्वरो आएर घरमै सुतेको भन्ने सुन्नमा आएको उपाध्यायको भनाइ छ । कर्मचारीलाई अफिसमा हाजिर हुन अनुरोध गरिएको छ । थापा र आचार्य नजिकका चिनजानका मानिस हुन् । कर्मचारी थापा दुल्लु नगरपालिका-५ का बासिन्दा हुन् भने खातावाला आचार्य दुल्लुकै -८ निवासी हुन् । बैंकका कर्मचारीले पैसा सापटी मागेको र खातावालाले चेक छैन भने पनि हाललाई चलाउँछु भनेर रकम निकालेको हुनसक्ने प्रबन्धक उपाध्यायको आशंका रहेको छ ।