काठमाडौं – कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै काठमाडौं उपत्यका लगायत देशका ठूला सहरका विद्यालय बन्द गर्न सिफरिस गरिएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा लगायत सहरका विद्यालयहरु एक महिना बन्द गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष विद्यालय बन्दको निर्णयका लागि सिफारिस गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएको र त्यसको चेनब्रेक गर्नका लागि विद्यालय बन्द गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको गौतमले बताए । सीसीएमसीले मन्त्रिपरिषदलाई सिफारिस गरेपछि मन्त्रिपरिषद् निर्णयबाट विद्यालय बन्दको निर्णय कार्यान्वयनमा आउँछ ।