काठमाडौं – आर्थिक वर्ष २०७६/७७ विश्वका कुनै पनि मुलुकका लागि सुखद् रहेन ।
कोरोना भाइरस ‘कोभिड – १९’को महामारीका कारण विश्वको अर्थतन्त्र तहसनहस भयो । विश्वका कयौँ कम्पनीहरु टाट पल्टिए । हजारौं व्यक्ति बेरोजगार बने । कोरोनाका कारण विश्वकै आर्थिक वृद्धिदर निकै खुम्चियो । परिणाम, विश्वको अर्थतन्त्र सन् १९३० को दशकको महामन्दी पछिको ठूलो संकुचनमा पुग्यो । त्यस्तै,कोरोनाको नियन्त्रण तथा रोकथाम गर्न विश्वव्यापी रूपमा अवलम्वन गरिएका उपायहरूबाट उत्पादनदेखि आपूर्तिसम्म अवरुद्ध भए । जसले गर्दा विश्वको अर्थतन्त्र नराम्ररी प्रभावित भयो । यसलाई विश्व अर्थ जगतमा निकै दर्दनाक घटनाको रुपमा लिइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अक्टोबर २०२० मा प्रकाशित गरेको वल्र्ड इकोनोमिक आउटलुकमा सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ४.४ प्रतिशतले घट्ने आँकलन गर्यो,जसमा विकसित मुलुकहरूको ५.८ प्रतिशत तथा नेपालको आर्थिक वृद्धिदर ०.०२ प्रतिशत मात्र रहने प्रक्षेपण गरेको थियो । विश्व बैंक,अन्तर्राष्ट्रिय मुद्राकोष, एशियाली विकास बैंक लगायतका संस्थाहरूले कोरोनाको संक्रमणका कारण विश्व आर्थिक मन्दीतर्फ उन्मुख भएको पटक–पटक बताउँदै आएका छन् ।
केन्द्रीय तथ्याङ्क विभागले नेपालको सन्दर्भमा चालू आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर २.८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । तर विश्व बैंकले भने नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । त्यस्तै,कोरोनाले आर्थिक गतिविधि ठप्प बनाएपछि चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन-कार्तिक) मा मुलुकको अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको विभागको तथ्यांकले देखाएको छ । तर पछिल्लो समयमा आर्थिक गतिविधि चलायमान भएसँगै अर्थतन्त्र सकारात्मक गतिमा अघि बढेको समेत विभागले उल्लेख गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा २ प्रतिशतले अर्थतन्त्रको आकारमा संकुचन आएको राष्ट्रिय योजना आयोगको जिकिर छ। कोरोनाले सिथिल पारेको अर्थतन्त्र सुधार गर्न ६ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक रहेको आयोगले उल्लेख गरिसकेको छ । आयोगले कोरोनाका कारण कुन क्षेत्र कति प्रभावित भएको छ भनेर क्षतिको आँकडा निकालेको थियो । सोही आधारमा शिथिल बनेको अर्थतन्त्र सुधार गर्न ६ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक भएको आयोगले जनाएको हो ।
धन्न धान्यो रेमिट्यान्सले
कोरोनाका कारण ठूलो परिमाणले रेमिट्यान्स घट्ने प्रक्षेपण गरिए पनि प्रक्षेपण गरिए अनुसार घटेको भने छैन । कोरोनाका कारण विश्व अर्थतन्त्र सिथिल भइरहेका बेला कयौं श्रमिकको तलब सुविधा कटौती भयो भने कयौँ श्रमिकले रोजगारी गुमाउनु परेको थियो । जसका कारण नेपाल भित्रिने रेमिट्यान्समा भारी गिरावट आउने आंकलन गरिएको थियो । चालु आर्थिक वर्षका सात महिनासम्म आइपुग्दा रेमिट्यान्समा कोरोनाको खासै असर देखिएको छैन ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मै रेमिट्यान्स आप्रवाह २३.० प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको थियो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २.० प्रतिशतले बढेको थियो । त्यस्तै, दोस्रो महिना (भदौ)मा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई १६५ अर्ब ७३ करोड पुगेको थियो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । त्यस्तै,चालू आर्थिक वर्षको तीन महिना (असोज) मा रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई २५८ अर्ब ८६ करोड पुगेको थियो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । यसैगरी राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार फागुन महिना (आठौँ महिना) सम्म आइपुग्दा पनि रेमिट्यास आप्रवाहमा खासै असर देखिएको छैन । यस अवधिमा रेमिट्यान्स आप्रवाह ८।६ प्रतिशतले वृद्धि भई ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।