नेपाली युवा पुस्तामा विदेश मोह भयावह देखिन्छ । सरकारी तथ्याङ्कले सरदर दैनिक २ हजार भन्दा बढि लक्का जवानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर विदेश जाने गरेको देखाउँछ भने अनाधिकारिकरुपमा विदेश जानेहरुको कुनै तथ्याङ्क नभए पनि यतिकै संख्यामा दैनिक अन्य नाका प्रयोग भई विदेश जाने गरेको सहजै अनुमान गर्न सकिन्छ । यसले देशभित्रै संभावनाका क्षेत्रहरु नभएकै हो त भन्ने संकेत गरेको भए पनि यथार्थमा त्यसो हो भन्न सकिदैन । हाम्रो समाज युवाहरुलाई विदेश धपाउन उद्यत छ । नेपाली समाजमा विदेशिने सँस्कृति पुरानो भए पनि यसले दीर्घकालिनरुपमा देशलाई फाईदा गरेको मान्न सकिदैन । विगतमा भारतीय तथा बेलायती सेनामा निश्चीत समयावधि सेवा गरेर स्वदेश फर्कने प्रचलन थियो भने अहिले बैदेशिक रोजगारका नाममा संसारका विभिन्न जोखिमयुक्त एवं असुरक्षित बजारमा सस्तो मूल्यमा नेपाली श्रम विक्रि भईरहेका छन् । उनीहरुले पठाएको रेमिट्यान्समा राज्य रमाईरहेको पाईन्छ । नेपाली युवाहरुलाई नेपालमै उपयुक्त रोजगारीको ब्यवस्था गरी स्वदेशमै रमाउने वातावरण बनाउन सरकारको खासै ध्यान जान सकेको छैन । विदेश पलायनमा उद्यत युवाहरुलाई स्वदेशमै रहन प्रोत्साहित गर्न सरकारले उपयुक्त नीति तथा कार्यक्रम ल्याउन सकेको छैन भने हाम्रो समाज एवं घरपरिवारले पनि युवाशक्तिलाई सकभर स्वदेशमै उद्यमशील क्षेत्रमा प्रेरित गर्न सकेको छैन ।
भनिन्छ, छिमेकी मुलुक भारतलाई छोडेर करीव ८० लाखभन्दा बढि नेपालीहरु विश्वका विभिन्न मुलुकमा अदक्ष कामदारकारुपमा श्रम गरिरहेका छन् । त्यसमा अत्यन्त कम संख्यामा भए पनि उच्च स्तरिय जनशक्ति एवं वौद्धिक क्षमता भएका नेपालीहरु पनि पर्दछन् । देशका विभिन्न क्षेत्रमा अत्यावश्यक पर्ने नेपाली प्राविधिक तथा विद्वत वर्ग विदेश पलायन हुँदा देशमा छिमेकी मुलुकबाट महंगो जनशक्ति आयात गर्नुपरेको र नेपाली पूँजी बाहिरिने गरेको तथ्य हाम्रो सामु छर्लङ्ग छ । विदेशिने सँस्कृति अब निश्चित समयका लागि नभएर अब अनिश्चित कालका लागि बन्न पुगेको छ । लामो समयसम्म विदेशमा रहँदा बस्दा विदेशको हावापानी, रहनसहन, खानपान, सफासुग्घरले जीवनशैलीमा पार्ने प्रभावले गर्दा उनीहरुलाई स्वदेशभन्दा विदेशमा जीवनयापन सहज लाग्नु स्वभाविकै हो । तथापि यो नै स्थायी समाधान भने कदापी हुन सक्दैन । एक त उनीहरु स्वदेशमा संभावना देख्दैनन् अर्को स्वदेश फर्केर के गर्ने भन्ने द्विविधामा उनीहरुको दशकौं बित्ने गरेको पाईन्छ । अन्ततोगत्वाः बूढो हाडछाला लिएर स्वदेश फर्कनेहरुको संख्या अनपेक्षितरुपमा ठूलो हुँदैछ । लामो समयसम्म विदेशिने सँस्कृतिले नेपाली समाजमा अनेकौं विकृति र विसंगतिहरु बढाएको छ । घरपरिवारमा बेमेल, सम्बन्ध विच्छेद, अनैतिक सम्बन्ध, अभिभावकत्वको अभावमा बच्चाहरुमा सहि शिक्षा दिक्षाको यथोचित ब्यवस्थापनको कमी आदीले गर्दा उनीहरुमा देखिने बेवारिसेपन तथा उच्छृङ्खलपन जस्ता विकृतिहरु बढेका छन् । बालबच्चाहरुलाई राम्रो शिक्षादिक्षा दिने नाममा आफ्नो जमिनजग्गा बाझो राखेर वा अरुलाई सुम्पेर गाउँको मान्छे बजारमा, बजारको मान्छे सदरमुकाममा र सदरमुकामको मान्छे पोखरा, काठमाडौं जस्ता ठूला सहरमा बसाईसराई गरी महंगा डेरा लिएर बस्ने, दिनभर हुने फुर्सदमा जुवा, तास, मद्यपान जस्ता अवाञ्छित कुलत र खराव संगतमा फस्ने गरेको हामी पाउँदछौं । कतिपयले चौपायलाई झैं आफ्ना बालबच्चा अर्काको भरमा सुम्पेर विदेशनै सबथोक हो भनेर रमाउने जमात पनि बढ्दो छ । विदेशमा दुख गरेर कमाएको पूँजी घरजग्गा जस्ता अनुत्पादनशील क्षेत्रमा लगानी भईरहेको छ । रोजगारीका अवसरहरु सिर्जना हुने उद्यमशील क्षेत्रमा लगानी गर्न हाम्रो समाज अझै सकारात्मक हुन सकेको देखिदैन । नागरिकमा देखिएको सचेतनाको कमी, सीपयुक्त जनशक्ति उत्पादन गर्न नसक्ने हाम्रो शिक्षा प्रणाली, विदेश मोहमा चुर्लुम्म डुबेको हाम्रो समाज र देखासिकी र लहैलहैमा जस्तोसुकै मूल्य चुकाएर भएपनि विदेशै होमिन तयार युवा पुस्ताका कारण विदेशिने लर्को घट्दो हैन बढ्दो छ, राज्यले उत्पादन हैन, मानव निर्यात गरेर आफ्नो निकम्मापन प्रदर्शन गरिरहेको छ । यसतर्फ सम्बन्धित सबैको समयमै ध्यान जान र जिम्मेवार हुन आवश्यक छ ।
देशभित्रै रोजगारी, उत्पादन, उद्यमशिलताको बिकास नगरी नाराले मात्र समृद्धि आउँदैन । प्रविधिको विकास बिना उद्योग धन्दा कलकारखानाको बिस्तार संभव छैन । साना-साना पूँजीलाई एकत्रित गरी विदेशमा भएका नेपालीहरुलाई देशभित्रै सुरक्षित लगानीतर्फ आकर्षित गर्न अब निजी क्षेत्रबाट पनि पहल हुनु आवश्यक छ । सरकारको मात्र मुख ताकेर अब ढिला भईसकेको छ । आजको पुस्ताले झै भोलिको पुस्ताले पनि विदेश ताक्न नपर्ने स्थितिको सिर्जना गर्नु आजको पुस्ताको दायित्व हो । त्यसका लागि संभावनाका क्षेत्रहरु केलाउने समाजलाई सुसूचित गराउने जस्ता कार्यमा विज्ञ, विशेषज्ञहरुको भूमिका महत्वपूर्ण हुन्छ । अपेक्षित त्यो भूमिका निर्बाह हुन सकिरहेको देखिदैन ।
यी त भए आजको नेपाली समाजमा देखिएको विदेश मोह र यसले जन्माएका अनेकन अनुत्तरित प्रश्नमाथि हुन नसकेका बहस र विवेचनाका पाटो । विदेश जानैपर्ने स्थिति आएमा आफु जान लागेको गन्तब्य मुलुकको बारेमा सामान्य भन्दा सामान्य जानकारी नलिईकन उडिहाल्ने कमजोरी नै विदेश पुगेपछि उत्पन्न हुने संभावित समस्याका मुल कारक बन्ने गरेका छन् । अध्ययन, अनुसन्धान, उच्चशिक्षा, रोजगारी वा ब्यवसाय कुन प्रयोजनका लागि आफु जान लागेको हो, आफु जान लागेको मुलुकको दैनिक बोलीचालीका आधारभुत भाषाज्ञान, त्यहाँको रहनसहन, जीवनशैली, हावापानी, कला, सँस्कृति र विकास प्रविधि जस्ता बिषयमा जानकारी हुनु अनिवार्य छ । गन्तब्य मुलुकको मुद्रा, यातायात ब्यवस्था, बैंक, हुलाक, अस्पताल, स्कुल, कलेज, प्रहरी प्रशाशन, स्थानीय सरकार जस्ता बिषयमा घरमै बसीबसी इन्टर्नेटको माध्यमबाट सर्च गरेर जानकारी लिन सकिन्छ । यदि कुनै एजेन्सी मार्फत जान लागेको हो भने उनीहरुसंग आफुले पाउने सेवा, सुविधा, भिसा, नविकरण, आवासको ब्यवस्था, बिरामी वा भैपरी आउँदा सम्पर्क गर्ने सहयोगी वा निकाय बारे बिस्तृतमा जानकारी हासिल गरेर मात्र गन्तब्य मुलुकको यात्रा तय गर्नु बुद्धिमानी हुन्छ । बिदेशमा देखिने र सुनिने समस्याहरु अधिकांश सम्बन्धित ब्यक्तिकै असावधानी र अज्ञानताका कारण हुने गरेको पाईन्छ । आफु सजग र सतर्क हुन सके अरुबाट सशंकित हुन आवश्यक छैन, आधा समस्या स्वतः समाधान हुन जान्छन् । बन्द कोठामा आपसी सहमतिमा गरिने सम्झौता विदेश आईसकेपछि कुनै समस्या उत्पन्न हुनासाथ एक अर्कालाई दोषारोपण गरेर रडाको मच्चाउने नेपाली सँस्कारले विदेशीहरु सामु नेपालीहरुलाई लज्जित बनाएको छ । जापानको कुरो गर्नुपर्दा रोजगारी र विद्यार्थी क्षेत्रमा यो अधिक देखिन्छ । आफ्ना अभिभावक वा नजिकको पढेलेखेको मान्छेको रोहबरमा सबै सहमति र सम्झौता गरी जबाफदेहीताको दायरा स्पष्ट किटान भएपछि मात्र चनाखोपूर्वक बिदेशको यात्रा तय गर्न सके बैदेशिक रोजगार क्षेत्रमा विद्यमान अहिलेको जस्तो गञ्जागोलको स्थितिलाई मुक्त गर्न सकिन्छ ।
जापानमा अहिले नेपालीहरुप्रतिको दृष्टिकोण सकारात्मक छैन, भिसामा कडाई गरिनु यसको ज्वलन्त उदाहरण हो । यसो हुनुको कारण अरु केही नभएर नेपालीहरुले नै यहाँ देखाउने गरेको पर्फेन्स हो । गएको ८, १० वर्षमा नेपालीहरुको संख्या तेब्बर बृद्धि भई झण्डै १ लाख नाघेको छ । सन् २०१० यता भाषा पढ्न आउने विद्यार्थीहरुको संख्या तिब्र बृद्धि भयो । सपरिवार यतै बस्ने, बालबच्चा यतै जन्माउने अब जापानमा सामान्य भईसक्यो, जुन पहिले अचम्म मानिन्थ्यो । दसैतिहार जस्ता पर्वमा आफु नेपाल नगएर बाबुआमा यतै झिकाउने, घुमाउने पठाउने प्रचलन बढेको छ । नेपालीहरुको संख्या बृद्धि भएसंगै अवाञ्छित क्रियाकलापमा संलग्न नेपालीहरुका कारण सर्बसाधारण सबै नेपालीहरुले यसको असर भोग्नुपरेको छ । अर्कोतिर टाउको दुखाईको बिषय बनेको जापान सरकारको शरणार्थी समस्यामा नेपालीहरुको पनि लामबन्दी अग्रपंक्तिमा छ । यसबाट सर्बसाधारण परिश्रम गरेर खाने नेपालीहरुलाई प्रतिकुल असर परिरहेको छ । बैंकको कारोबार, घरभाडामा लिने काम, जापानबाट अन्य राष्ट्रको भिसा लिने काम र प्रतिस्पर्धा गरेर जब हण्टिङ गर्ने कामहरुमा समेत यसको प्रत्यक्ष असर परेको देखिन्छ । उसो त शरणार्थीमा आबेदन दिनेहरुको जतिसुकै लामो सूची भए पनि जापान सरकारले कडाईका साथ छिटो र छरितो ढंगले छानबिन गरी बिश्वास नलागेमा काम गर्नमा प्रतिबन्ध लगाउने र स्वदेश फिर्ता समेत पठाउने कदम चाल्न सुरु गरिसकेको छ । हजारौ संख्याबाट बर्षेनी १५, २० जनालाई मात्र शरणार्थीको मान्यता दिने गरेबाट जापान सरकारले शरणार्थी नीतिमा कडाई गरेको प्रष्ट हुन्छ । नेपालमा न त अहिले गृहयुद्ध नै छ न कुनै विद्रोहको स्थिति छ, जसले गर्दा देशका नागरिक बिदेशमा शरणार्थी बन्नुपर्ने बाध्यता होस् । राष्ट्रियता बन्धकी राखेर अर्काको देशमा दोस्रो दर्जाको नागरिक हुनुभन्दा आफ्नै माटो खोस्रेर स्वभिमानका साथ स्वदेशमै बाँच्ने हिम्मत गर्ने पौरखी हातहरु महान हुन्छन् । यस बिषयमा ब्यापक जनचेतनाको अभाव देखिन्छ ।
यसका अलावा जापानमा नेपालीहरुले गरेका उन्नती प्रगति पनि लोभलाग्दा छन् । कामदारबाट स्तरोन्नती भई ब्यवसायी नेपालीहरुको संख्या बढ्दो छ । स्वरोजगारिताको अवधारणामा बिकास भएको छ । कहलिएका विश्वविद्यालयमा प्राध्यापन गर्ने नेपालीहरुको संख्या पनि बढ्दो क्रममा छ । नाम चलेका अस्पतालहरुमा पनि नेपाली डाक्टर छन् । सयौं रेष्टुरेन्टका मालिक बनेर हजारौंलाई रोजगार दिन सक्ने सक्षम नेपाली पनि छन् । हरेकजसो जमघटमा नेपालकै मात्र चिन्ता गर्ने देशको बिकास र समृद्धिमा कसरी साझेदारी बन्न सकिन्छ भनेर बहस र छलफल गर्ने बौद्धिक जमात पनि छन् । विदेश पलायनका कारण नयाँ पुस्तामा नेपाली भाषा, सँस्कृति लोप भएर नजाओस् भन्ने उद्देश्यले नेपालीहरुकै सामुहिक लगानीमा अन्तर्राष्ट्रिय स्तरको पठनपाठन हुने नेपाली स्कुल पनि सञ्चालनमा छ । नेपालीहरुका लगानीमा जापानका हरेक स्टेशनमा नेपाली रेष्टुरेन्ट जापानी ग्राहकको पर्खाईमा छन् । जापानभरि करिव ४ हजार भन्दा बढि यस्ता रेष्टुरेन्टहरुले स्वरोजगारिताका साथै ठूलो संख्याका नेपालीहरुलाई रोजगारी दिईरहेका छन् भने उनीहरुमा आश्रित परिवारले जापानमा रोजगारी गर्न पाएका छन् । नेपालीहरुकै लगानीमा दर्जनौ संख्याका रेमिट्यान्स कम्पनीहरु सेवारत छन् । यसबाहेक नयाँ नयाँ क्षेत्रमा पनि नेपालीहरुले ब्यक्तिगत र सामुहिकरुपमा लगानी गरिरहेका छन् ।
विद्यार्थी, कुक, प्राविधिक कामदारका साथै अब कियरभिरमा समेत जापानमा नेपाली कामदारको संभावना बढेर गएको छ । बिबाह गर्ने, सन्तान जन्माउने तर्फ उदासिन जापानी समाजमा बृद्धबृद्धाहरुको संख्या अत्यधिक बढ्दो छ । ६० वर्ष माथि उमेर समुहका जापानीहरुको जनसंख्या अब छिट्टै ४० प्रतिशत पुग्दैछ । उनीहरुको हेरचाह गर्ने क्षेत्रमा लाखौको संख्याका कामदारहरुको अभाव भईरहेको यहाँका सञ्चार माध्यमहरुमा पढ्न पाईन्छ । फिलिपिन्स, कोरिया, ताईवान, थाई, भियतनाम जस्ता मुलुकहरुबाट वषौं पहिलेदेखि यो क्षेत्रमा काम गर्दै आईरहेकोमा अब जापानले नेपाली कामदारका लागि पनि यो अवसर दिने संकेत गरिसकेको छ । नेपाली बजारमा विचौलियाहरुले तथ्यहिन अफवाह फैलाएर सर्बसाधारणलाई आकर्षित गर्ने र वास्तविकता नबुझिकन भ्रममा पर्ने जनमानसका कारण उपलब्ध अवसरलाई सहिरुपले उपयोग हुन नसकेको अवस्थामा नेपाल सरकारको सम्बन्धित निकायले बेलैमा बिधि र प्रक्रियागत ढंगले स्पष्ट नीति अवलम्बन गर्न सके दशकौंसम्म जापान एउटा राम्रो संभावना भएको श्रमबजार हुन सक्छ । यसका लागि पहिलो सर्त नागरिक चेतना हो । नागरिकमा चेतनाको स्तर उच्च भए राज्य स्वतः जबाफदेही बन्न पुग्छ र कहिँ कतै अनियमितताको गुञ्जायस बाँकी रहँदैन ।***