काठमाडौं – आजदेखि सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिका लागि कोरोनाविरुद्धको खोप लगाइदै छ । आज देखि फागुन ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई खोप दिईने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले माघ १४ गतेदेखि कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कोरोना महामारीबिरुद्ध खटिएका फ्रन्टलाइनर कर्मचारीलाई खोप दिइएको थियो ।
दोस्रो प्राथमिकतामा सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिन लागिएको हो । यसका लागि देशभर २ सयभन्दा बढी खोपकेन्द्र तोकिएको छ ।
मन्त्रालयका अनुसार स्वास्थ्य स्वयमसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलगायतलाई पनि खोप दिइने छ ।