काठमाडौं – सरकारले फागुन २ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना भाइरसविरूद्धको खोप लगाउने तयारी गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले फागुन २ गतेदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई खोप लगाइने जानकारी दिए । साथै जिल्लास्थित सबै सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारीलाई पनि खोप दिइने गौतमले बताए ।
उनले त्यसका लागि सबै तयारी पूरा भएको जनाए । यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्ने अन्य कर्मचारीले पनि उक्त समयमा खोप लगाउन सकिने गौतम बताउँछन् ।
अहिले सरकारले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीहरूलाई खोप लगाइरहेको छ । डा. गौतमका अनुसार जिल्लाका पत्रकारहरूलाई पनि फागुन २ गतेबाटै खोप लगाउने कार्यक्रम छ । उनले अन्य व्यक्तिको हकमा भने चाँडै खोप आउने र सोही अनुसार यथाशिघ्र लगाइने जनाए ।