काठमाडौँ – जापान सरकारले निर्माण गरेको वीपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । वि.सं.२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त वीपी राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएपछि जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको उनको दावी छ । मन्त्री नेम्बाङले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा समेत गरे । जापानले नेपालको पूर्वाधार क्षेत्रमा गरेको सहयोग देशको विकासका लागि कोशेढुंगा भएको पनि बताए ।
देशको केन्द्रीय राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो वीपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण शुरु गरी सन् २०१५ मार्चमा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो । तर हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको थियो । त्यसपछि पनि जापानले वीपी राजमार्गको पुनर्निर्माणको जिम्मा लिँदै सन् २०१९ जुलाई ३ देखि जापानी निर्माण कम्पनी हाजमा अण्डो कर्पोरेशनमार्फत काम शुरु गरेको थियो । करिब १८ महिना अर्थात सन २०२१ जनवरी १८ मा वी।पी। राजमार्गको पुनर्निर्माण सम्पन्न गरी जापानले बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।