Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

मुलुकमा अब चेतनशील नागरिकहरुले विवेक पुर्‍याउने बेला आएको छ । यो हाम्रो पुस्ताका लागि अवसर र चुनौती दूवै हो । हाम्रो पुस्ताले मुलुकका लागि त्याग र समर्पण देखाउने समय हो यो । कुनै मुलुकको कायापलट हुने गरी बिकास गर्न त्यहाँको एउटा पुस्ताले त्याग गरेको इतिहास पढ्न पाइन्छ । त्यसका लागि त्यति टाढा जानै पर्दैन, दोस्रो विश्वयुद्धमा क्षतविक्षत भएको हामी बसेको मुलुक जापान आधा शताब्दीमै जुरुक्कै उठेर विश्वमै उदाहरण बनेको छ ।

बिशेषगरी बिदेशमा बस्ने झण्डै आधा करोड नेपाली अब मुलुकलाई नयाँ शिराबाट माथि उठाउन विभिन्न ढंगले जुट्नु जरुरी छ । बिदेशको सफा, चिल्ला एवं सुकिला-मुकिलामा रमाउँदै कोठे भेला र ओठे भाषणमा नेताहरुलाई सराप्दै देश बनाउने आदर्शका कुरा गरेर बस्ने बेला अब रहेन । अब जुनसुकै हालतमा प्रवासका ऊर्जाशील युवाहरु स्वदेशफिर्ती अभियानमा जुट्नुपर्छ । मुलुकमा राजनैतिक संक्रमण त छँदैथियो त्यसमाथि प्राकृतिक बिपत्तिले थलिएको नेपाल अझै पूर्णरुपमा ब्युँतिन सकेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अहिले नयाँ संबिधान कार्यान्वयनको चरणमा भएकोले यतिबेला सरकार र राज्यले मात्रै चाहेर पनि सबैथोक गर्न सक्दैन । चेतनशील जनता जनस्तरबाटै उठ्नुपर्छ । राज्य र जनता एकै ठाउँमा उभिएर सिंगो मुलुकलाई नयाँ ढंगले उठाउने संकल्प गरिनुपर्दछ ।

अब जाग्ने भनेको सचेत जनता हो, विद्वत समाज हो, नागरिक समाज हो र ऊर्जाशील युवा जमात हो, जुन वर्गको ठूलो हिस्सा अहिले बिदेशमा भुलेको छ । जसले राजनीति क्षेत्रलाई निरन्तर खबरदारी गर्दै मुलुक निर्माणमा दबाब सिर्जना गर्ने हैसियत राख्दछ । यसका लागि बिदेशिएका लाखौं युवाहरु अब स्वदेश फर्केर देशकै लागि समर्पित हुने मनस्थिति बनाउनुपर्दछ । आजको पुस्ताले त्यो त्याग देखाउन सक्नुपर्दछ ।

अब नेपालमा फुटपाथका नाङ्ले पसलदेखि तारे होटलसम्म जे गरे पनि उद्योग ब्यवसायको भबिष्य सुनिश्चित देखिन्छ । गाउँघरदेखि सहरबजारसम्म जनशक्तिको अभाव छ । सिकर्मी, डकर्मी, ज्यालादारी मजदुरदेखि उच्चतहका जनशक्तिको नेपालमै अभाव छ । हाम्रा युवाहरु मासिक बिस-तीस हजार कमाउन खाडिको चर्को गर्मी थेग्न तयार हुन्छन् । उनीहरुलाई रोजगारीका अवसर सिर्जना गरी आर्थिक समृद्धिका क्रियाकलापमा सहभागी बनाउने खालका राज्यको सहि नीति तथा योजनाका अभावमा बुझेर या नबुझेर लाखौं युवाहरु बिदेशमोहले ग्रस्त देखिन्छन् । यसलाई अब नयाँ ढंगले सम्बोधन गरिनुपर्दछ । बिशेष अवसरबाहेक सामान्य भन्दा सामान्य कामका लागि उच्च जोखिम मोलेर बैदेशिक रोजगारमा जाने युवाशक्तिलाई देशभित्रै रोजगारीको बन्दोबस्ती राज्यले मिलाउनुपर्दछ भने बिदेशमा भएका नेपालीलाई मुलुक फर्केर आ-आफ्नो ठाउँबाट योगदान गर्न राज्यका तर्फबाट आह्वान गरिनुपर्दछ । बिदेशमा भएका नेपालीहरु पनि मुलुक संकटमा परेको बेला स्वदेश फर्केर आफुले जानेको, सिकेको र अनुभव गरेको क्षेत्रमा योगदान गरेर नेपाललाई साँच्चिकै नयाँ बनाउने अभियानमा जुट्नुपर्दछ । यी सबका लागि सबैभन्दा आवश्यक पर्ने मुल नेतृत्व र नीति तथा योजना नै हो । त्यसैले कुनै बेला भन्ने गरिएको नयाँ नेपालका लागि नयाँ नेतृत्वको बहस यतिबेला सान्दर्भिक देखिन्छ । पुराना शक्ति र नेतृत्व हामीले हेरिसक्यौं, भोगिसक्यौ । देश बनाउनका लागि आवश्यक पर्ने दूरदर्शीता र त्याग भएका राजनेता अब अगाडि आउनुपर्दछ र उसलाई सबैले सहयोग गर्नुपर्दछ । मित्रराष्ट्र सिंगापुरले लि क्वान यु जन्मायो, लि ले आधुनिक सिंगापुर जन्माएको कथा धेरै पुरानो भएको छैन । एउटा सामान्य बन्दरगाहलाई आजको आधुनिक सिंगापुर बनाउने भिजन त्यतिबेलै सोच्न सक्ने दूरदर्शी नेता लिबाट नेपालका नेताहरुले कहिलै सिकेनन् । अब उनीहरुलाई अभिभावकीय भूमिकामा रहन दिएर नयाँ नेतृत्वको खोजी गरिनुपर्दछ, त्यो संभव छ । संकट र समस्याले नयाँ नेतृत्व जन्माउने हो । परिवर्तित सन्दर्भमा नेपालले अब नयाँ नेतृत्व खोजेको छ जुन कुरा हरेक सचेत नेपालीलाई महशुस भईरहेकै छ ।

नेपालको सन्दर्भमा विभिन्न कालखण्डमा शासन ब्यवस्था परिवर्तनका लागि मात्र तत्कालिन पुस्ताले आन्दोलन गरेको इतिहास छ । शासन ब्यवस्था आफैमा सबैथोक होइन, यो त एउटा साधक मात्र हो । मुलुकलाई बिकासे राजमार्गमा डोर्‍याउन नीति योजना सहितको नेतृत्व नै सबैभन्दा महत्वपूर्ण कुरा हुन् । काम चलाउकारुपमा अब कुनै पनि सरकारलाई समय खेर फाल्ने छुट पटक्कै छैन । राज्य संयन्त्र र सरकारलाई सकारात्मक खबरदारी तिनले मात्र गर्न सक्छन् जसले देशदुनियाँ देखेको छ, घुमेको छ र आफ्नै चेतनाद्वारा विवेकको उपयोग गर्न सक्दछन् । सत्तामा रहुञ्जेल तिनै नेता र दलहरुलाई सत्तोसराप र गाली गरेर नथाक्ने चुनाव आएपछि फेरि तिनै नेताहरुलाई भोट दिएर सत्तामा पुर्‍याउने नेपाली जनताको मनोविज्ञानमा पनि गम्भीर समस्या छ । बलेको आगो ताप्ने र यथास्थितिबाट बाहिर निस्कनै नसक्ने हाम्रो समाजको वास्तविक चरित्र हो । त्यसैले काँग्रेससंग रिसाउँदा कम्युनिष्टलाई, कम्युनिष्टबाट निराश हुँदा काँग्रेसलाई मत दिने परम्परा चाँडै अन्त्य होलाजस्तो छैन । यी दुई पार्टीको आश्वासनको ललिपपबाट बाहिर निस्कन अझै समय लाग्ने देखिन्छ । नेपाली मतदाताहरु भित्तेघडीको पेण्डुलमझैं कहिले काँग्रेसको र कहिले कम्युनिष्टको भित्तामा ठक्कर खाँदै गरेको परिदृश्य अझै थप केही वर्ष हेर्नैपर्ने स्थितिबाट पार पाउन सर्बशक्तिमान जनतामा निहित चेतसहितको विवेकले काम गर्नैपर्ने हुन्छ ।

हामी नेपालीलाई तत्कालै हात-हातमै समृद्धि चाहिएको छ । विकास निर्माण भनेको दर्घकालीन अभियान हो, यो सापेक्ष हुन्छ भन्ने कुरा नेपालीहरुले पचाउँदैनन । उनीहरुमा कुर्न सक्ने धैर्यता पटक्कै छैन । त्यसैले प्राथमिकताको आधारमा प्रविधि, साधन, क्षमता र संभाब्यताको ख्यालै नगरिकन गरिने हावादारी गफलाई नेपालीहरुद्वारा मन पराईन्छ । त्यो अनुसारको अपेक्षा पुरा नहुँदा जनतामा निराशाको ज्वारभाटा विभिन्नरुपमा प्रस्फुटन हुने गरेको पाईन्छ ।

यद्यपि मुलुकले अब दिशा समातेको छ । जनतामा विद्यमान मनोविज्ञान र राजनीतिक दलहरुमा हुर्कदो सँस्कारमा भने अझै समस्या देखिन्छ । दुईतिहाईको सरकारले देखिने गरी फटाफट काम गर्न कुनै रोकतोक छैन । कुरा थोरै काम धेरै गरेर आफुलाई अब्बल सिद्ध गर्नुपर्नेमा त्यस्तो देखिएको छैन । अर्कोतिर प्रतिपक्षको धर्म भनेको बिरोध मात्रै गर्ने हो भन्ने सँस्कार पनि नेपालको अर्को समस्या हो । पञ्चायतले शासन गरेको ३० वर्ष भन्दा बढि समय बहुदलिय व्यवस्थामा सबैभन्दा लामो समय सत्तामा बसेको नेपाली काँग्रेस यसो प्रतिपक्षमा पुग्दासाथ आफुले के के नै कायापलट गरेर देखाएझैं गरी कुर्लने र आफुबाहेक अरु सबै नालायक हुन् भन्ने ढंगले चित्रण गर्ने प्रवृत्तिले जनतामा एकप्रकारको भ्रम छ । यि सबै वस्तुस्थितिलाई मिहिन ढंगले विश्लेषण गरी विवेकपूर्वक आफ्नो मताधिकार प्रयोग गर्न सक्ने सचेत जनता नजाग्दासम्म सत्ता पक्ष र प्रतिपक्षको झिनाझम्टीको चपेटामा मुलुक अझै रुमल्लिने आशंका जिवितै छ । त्यसकारण पनि पढेलेखेका, सचेत र युवा वर्ग देशभित्रै हुनु वाञ्छनीय छ ।

राज्यले विदेशका नेपालीहरुलाई आकर्षित गर्ने खालका प्रभावकारी योजना तथा कार्यक्रम ल्याउन सकेन । नारामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनियो, विदेशबाट फर्केका युवालाई सहुलियत ऋण भनियो तर सारमा यो प्रभावकारी बन्न सकेन । कार्यक्रमको नाम मात्र लोकप्रिय भएर भएन कार्यान्वयन पक्ष सवल हुन सकेन भने त्यसको कुनै तुक रहँदैन । समृद्धि सरकारमा बस्नेहरुको एकोहोरो रटानले मात्रै आउने हैन, स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले अपनत्व ग्रहण गर्न सकून्, प्रतिपक्षको साथ सहयोग रहोस्, कर्मचारीतन्त्रमा इमान्दारिता सहितको हिजोभन्दा आज फरकपन देखियोस् । अनि मात्र गाउँगाउँमा सिंहदरबारको छनक पाईन्छ । काम गरेर खान्छु भन्दा पनि अवसर नपाएर साँझबिहान दुईछाक खानका लागि हम्मेहम्मे पर्ने नेपालीको संख्या अझै १८ प्रतिशत रहेको सरकारी तथ्याङ्कले नै बताउँछ । धनीहरु झन धनी हुँदै गएको र गरिवहरु झन झन गरिव हुँदै गएको ग्राफ हेरेर समाजबादी उन्मुख गणतन्त्रको मन्त्र मात्र जपेर बस्न अब हरेक सचेत नेपालीलाई छुट छैन । आ-आफ्नो ठाउँबाट पहलकदमी उठाउन सक्नुपर्दछ । आफ्ना नेताले जे गरे पनि ठीक र अरुले गरे सबै बेठीक भन्ने सँस्कार दलका कार्यकर्तापंत्तिमा हावी देखिन्छ । यसको अचुक औषधी पनि राजनैतिक चेतसहितको विवेक नै हो, यो वर्ग तुलनात्मकरुपमा विदेशमा बढि देखिन्छ, उनीहरु स्वदेश फिर्नुपर्दछ, त्यसको वातावरण राज्यले बनाउनुपर्दछ ।***

तपाईको प्रतिक्रिया