काठमाडौँ — अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् ।
यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित रहन सक्ने भएकाले पनि उत्साह बढेको छ । कोभिडका लागि हालसम्म दाबी गरिएको यो सबैभन्दा प्रभावकारी खोप हो ।
सहप्रवक्ता डा. अधिकारीले हाल अन्तिम परीक्षणमा रहेका खोपलाई धेरै जनसंख्यासम्म पुर्याउने सबैभन्दा ठूलो अवरोध त्यसको भण्डारण र ओसारपसार रहेको बताए । सामान्य कोठाको तापक्रममा दुई–तीन घण्टा राख्न नसकिने खोपको नेपाल जस्तो भौगोलिक विकटता भएको मुलुकमा कामै नरहेको उनले बताए ।
‘अत्यन्त न्यून तापक्रममा भण्डारण गर्न सकिने खोप उपयोग गर्नका लागि सम्बन्धित दक्ष जनशक्ति, ढुवानी, भण्डारणलगायतका संरचनालाई अद्यावधिक गर्न थप स्रोत साधन र लगानी गर्नुपर्छ,’ उनले भने । उनका अनुसार नेपालका स्वास्थ्यकर्मी जुन तापक्रममा भएका खोप राख्न र उपयोग गर्न अभ्यस्त छन्, त्यसभन्दा चिसो तापक्रममा राख्न सकिने खोपलाई चलाउन जनशक्ति र भूगोललगायतका कारण झन्झटिलो र खर्चका हिसाबले महँगो हुन सक्छ । मोडर्नाका अनुसार उसको खोप भने उपलब्ध मेडिकल फ्रिजर र रेफ्रिजेरेटरमै तापक्रम ‘मेन्टेन’ गर्न सकिन्छ ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले कोभिड–१९ विरुद्घको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिनु एकदम सकारात्मक भएको बताए । ‘सामान्य इन्फ्लुएन्जा (रुघाखोकी) विरुद्घको खोपको प्रभावकारिता ४० देखि ६० प्रतिशतसम्म हुन्छ । दादुराका दुई खोप ९७ प्रतिशतसम्म प्रभावकारी छन् । कोभिड–१९ को ९५ प्रतिशत प्रभावकारी देखिनु एकदम राम्रो हो,’ उनले भने । इन्फ्लुएन्जा खोपको प्रभावकारिता कम हुनुको कारण यो भाइरस हरेक वर्ष नयाँ रूपमा देखिनु पनि हो ।
मोडर्ना खोप अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थको सहयोगमा निर्माण गरिएको हो । यो खोप २८ दिनको अन्तरालमा दुई मात्रा दिइन्छ । डा. गौतमका अनुसार मोडर्नाको खोप नयाँ प्रविधिमा आधारित छ । यसले ‘म्यासेन्जर आरएनए’ को एउटा अणुको ‘सिन्थेटिक’ संस्करण उपयोग गर्छ । यसले कोषिकाहरूलाई ‘ह्याक’ गरेर तिनीहरूलाई प्रभावकारी रूपले खोप बनाउने कारखानामा परिणत गर्छ ।
विभिन्न मिडिया रिपोर्टका अनुसार २०२० को अन्त्यसम्म अमेरिकाका लागि मोडर्ना खोपको २ करोड मात्रा उत्पादन हुनेछ । आगामी वर्षसम्म विश्वमा ५० करोडदेखि १ अर्बसम्मको परिमाणमा खोप बनाउने योजना छ । यस्तै, सबै कुरा योजनाअनुसार भइरहे बायोएनटेकसँग मिलेर तयार गरिएको फाइजरले तयार गरेको वर्षमा १.३ अर्ब मात्रा उत्पादन गर्ने गरिएको छ ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का निर्देशक डा. एन्थनी फौसीको अनुमानअनुसार डिसेम्बरको अन्त्यसम्म मोडर्ना र फाइजरको खोप अमेरिकाको उच्च जोखिम समूहका लागि उपलब्ध हुनेछ । एनआईएआईडीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार मोडर्नाको खोप कोभिड–१९ को लक्षण भएका वयस्कहरूमा सुरक्षित र प्रभावकारी देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हाल विश्वभरि कोभिड–१९ विरुद्घ २ सय १२ खोप उत्पादनमा काम भइरहेको छ । यसमध्ये ४८ खोपको क्लिनिकल परीक्षण भइरहेको छ । तीमध्ये ११ खोपको अन्तिम परीक्षण भइरहेको छ । अलजजिरा डट कमका अनुसार भारत बायोटेकले कोभाक्सिन २६ हजार व्यक्तिमा तेस्रो चरणको परीक्षण सुरु गरेको छ । यो भारतमा उत्पादन भएको पहिलो खोप हो ।
हैदराबादमा रहेको भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा यो खोप तयार गरेको हो । यसको पहिलो डोज नाजाम्स इन्स्टिच्युट अफ मेडिकल साइन्सका स्वयंसेवकलाई दिइनेछ । यसको असरबारे निगरानी हुनेछ । यस्तै, चीनले तयार पारेका कोरोनाविरुद्धका चार खोप अन्तिम परीक्षणमा रहेको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । चीनको सिनोभ्याकले निर्माण गरेको खोप चीनलगायत अरू देशमा अन्तिम क्लिनिकल परीक्षण भइरहेको छ ।
कस्तो खोप राम्रो ?
विज्ञहरूका अनुसार संक्रमण वा कुनै पनि रोगविरुद्ध ९० प्रतिशतसम्म सुरक्षा दिने खोप राम्रो मानिन्छ । हालसम्म उपलब्धमध्ये कुनै पनि खोपले शतप्रतिशत सुरक्षा दिँदैन । सामान्यतया खोप लगाएको १० दिनमै रोगविरुद्ध लड्ने गरी प्रभावकारी हुन्छ ।
हामीकहाँ प्रयोग गर्दै आएका धेरैजसो खोपमा मरेको भाइरस वा ब्याक्टेरिया हुन्छ अथवा त्यसमा कमजोर बनाइएका जीवित भाइरस हुन्छन् । तिनले शरीरमा गएर कीटाणुविरुद्घ लड्ने प्राकृतिक एन्टिबडी निर्माण गर्छन् । विकासका क्रममा रहेका कोभिड–१९ विरुद्धका खोपमा निष्क्रिय वा कमजोर भाइरसको खोपसमेत छ । हरेक खोपले खास रोगविरुद्ध दिने सुरक्षाको समयसमेत फरक–फरक हुन्छ ।
डब्लूएचओका अनुसार कोभिड–१९ का लागि विकास गरिएको अर्को प्रोटिनमा आधारित खोप हो जसमा प्रोटिन वा प्रोटिनको सेलको हानिरहित अंश उपयोग गरिन्छ । त्यसले प्रतिरक्षा प्रतिक्रियालाई सुरक्षित रूपले उत्पन्न गर्न कोभिड भाइरसको नक्कल गर्छ । यस्तै, भाइरल भेक्टर खोपमा रोग उत्पन्न नगर्ने उद्देश्यले आनुवांशिक रूपमा इन्जिनियरिङ गरेका भाइरसको उपयोग गरिन्छ । तर सुरक्षित रूपमा प्रतिरोधक प्रतिक्रिया उत्पन्न गर्न कोरोना भाइरस प्रोटिन उत्पन्न गर्छ । आरएनए र डीएनए खोपअन्तर्गत प्रोटिन उत्पन्न गर्न आनुवांशिक रूपले इन्जिनियर्ड आरएनए र डीएनए उपयोग गरिन्छ जसले आफैं प्रतिरक्षा प्रक्रियाको संकेत दिन्छ ।