आधिकारिक तथ्याङ्क नभए पनि अहिले जापानमा सयौं नेपाली संघसंस्थाहरु रहेको मानिन्छ । कोरोना महामारीको त्रासदीपूर्ण अवस्था करीव ६ महिनादेखि विद्यमान छ । यतिका संघसंस्थाहरु मध्य कतिपय आफ्नै कारण र कतिपय कोरोनाका कारण त्यति चलायमान हुन सकेका छैनन् । जुम मिटीङ गरेरै भएपनि कतिपयले नियमित कार्यसम्पादनमा मात्र आफुलाई सीमित राखेका छन् । कतिपयको नाम निशाना समेत जनमानसबाट हराउन थालेको अवस्था छ । कारण उनीहरुको हुनुपर्ने नियमित बैठक, आवधिक साधारण सभा, अधिवेशन जस्ता कार्यक्रमहरु वर्षौदेखि हुन नसकेका संघसंस्थाहरुको संख्या दर्जनौ छ । तथापि अहिले आएर उनीहरुलाई कोरोना एउटा बहाना बन्न पुगेको छ ।
कुनै निश्चित अवधिभित्र तोकिएको जिम्मेवारी सम्पन्न गरी अर्को उपयुक्त ब्यक्तिलाई कार्यभार हस्तान्तरण गरिनु समाजसेवाको उद्देश्यले खोलिने हरेक संघसंस्थाका अगुवाहरुको पहिलो कर्त्तब्य हो । आफुले प्रमुख जिम्मेवारी सम्हालेको संस्थामा कुनै गतिविधि हुन नसके पनि अन्य सार्बजनिक कार्यक्रमहरुमा भने अध्यक्षको हैसियतले सहभागिता जनाउने, मान सम्मानको अपेक्षा गर्ने र भाषण ठोकिहाल्ने प्रवृत्ति भने उस्तै छ । काम केही गर्न नपर्ने नामको मात्र भोगी सँस्कार असाध्यै मौलाएर गएको छ । कोरोना महामारीको उच्च राप र तापको समयमा यहाँका संघसंस्थाहरुले अपबादलाई छोडेर अपेक्षित भूमिका निर्बाह गर्न पटक्कै सकेनन् । एक्लै संभव नहुने काम सामुहिक प्रयासद्वारा सम्पादन गर्नका लागि नै समुह वा संस्थागत स्वरुपको आवश्यकता पर्ने हो । विशेष परिस्थितिमा आ-आफ्नो संस्थागत उपस्थिति जनाउन नसक्नुमा अगुवाई गर्नेको भिजनमा खोट हो । मानिस स्वभावैले चलायमान प्राणी हो, नत्र एउटा नीर्जिव मूर्तीलाई नेता मानिदों हो । जो संग सिजन अनुसारको भिजन हुँदैन उसले नेतृत्व गरेको संघसंस्था होस वा ब्यवसाय वा परिवार कुहिरोको कागझैं अन्यौलमा पर्नु स्वभाविकै हो ।
जापान जस्तो कामकाजी देशमा बस्दै गर्दा यहाँका संघसंस्थाहरुबाट समाजले अपेक्षा गरेअनुसार पर्फमेन्स नपाउँदा यहाँका सर्बसाधारणहरुको संघसंस्थाहरुप्रतिको आकर्षण क्रमशः ओह्रालो लाग्दो छ । नेपालीहरुको कूर्चीमोह कति छ भन्ने यसैबाट पनि प्रष्ट हुन्छ कि आफु डेट एक्स्पायर भएको जान्दा-जान्दै पनि उनीहरु अझै कूर्चीमै टाँसिईरहन रुचाउँछन् । अझ भ्याएसम्म उनीहरु दुई-तीनवटा संस्थामा मुख्य जिम्मेवारीको पगरी गुथ्न पछाडि पर्दैनन् । यो हो पछिल्लो एक दशकमा हामीले हुर्काएको जापानको नेपाली समाजको वास्तविक चित्रण ।
मकै रोपे पो मकै फल्छ, फापर छरेर मकैको अपेक्षा गरिनु सर्बथा मुर्खता मात्र हो । हामीले हाम्रो समाज उन्नत र परिष्कृत बनाउन सकेनौं । हामी सामाजिक चेत भएका मानिसहरु हुलमुलमा छिरेर अचेत भएका छौं । आफ्नै गुनगान र भजनकिर्तन मात्रै सबैभन्दा प्रिय ठान्छौं । आलोचनात्मक टिप्पणी गर्नेलाई सिधै बिरोधीको कित्तामा दर्ज गरिहाल्छौं । संख्यात्मक दृष्टिबाट भिडले भ्रम त सिर्जना गर्ला तर सकारात्मक परिणाम निकाल्न सक्दैन । हामीले संख्यात्मक भन्दा गुणात्मक र परिमाणमा भन्दा परिणाममा बिश्वास गर्ने समाज अझै निर्माण गर्न सकेका छैनौं । सबैलाई आ-आफ्नै डम्फू बजाउन ठीक्क छ, त्यतातिर कसैको ध्यान जान सकेको देखिदैंन ।
कुनै पनि संघसंस्थाको सबैभन्दा बलियो मेरुदण्ड भनेको उसको साधारण सदस्यता हो । बिधि-बिधान हो, अनुशासन हो र मर्यादाको लक्ष्मण रेखा हो, त्यसपछि कार्यदिशा हो । यि मामिलामा प्रायःजसो संघसंस्थाहरु कर्मकाण्डी शैलीमा जेनतेन घिस्रिरहेको देखिन्छ । जापानका संघसंस्थाहरुलाई नियमन तथा अनुगमन गर्ने, आवधिक अपडेट गर्ने एउटा उच्चस्तरिय स्वतन्त्र साझा संयन्त्र बन्न सके यहाँका संघसंस्थाहरु चलायमान हुनुका साथै थप कामकाजी हुनेथिए होलान् । नत्र नाम मात्रका संघसंस्थाहरु जति खुले पनि पिकनिक गर्न, चन्दा उठाउन र जन्मदिनको शुभकामना दिने काममा मात्र सीमित हुँदै नजालान् भन्न सकिन्न । सतहमा देखिएका दृश्यहरुले यतैतिर संकेत गर्दछन् ।
अर्कोतिर हरेक संस्थामा अब कुशल नेतृत्वको चर्को खडेरी पर्ने देखिन्छ । कारण हामीले अगुवा उत्पादनमा लगानी शून्य गर्यौं । नेतृत्व बिकासका लागि जापानमा सभा, सेमिनार वा गोष्ठि हुन सकेका छैनन् । वौद्धिक कार्यक्रममा अधिकाँशको रुची छैन, अध्ययन गर्ने, पत्रपत्रिका, पुस्तक पढ्नेहरुको संख्या पातलिदों छ । आफ्ना अनुभवका संगालो, विचारमन्थन, यात्रा संस्मरण, साहित्यिक सिर्जना जस्ता रचनात्मक बिषयमा कलम चलाउने मान्छेहरुको अनिकाल छ । अधिकाँशको स्वभाव खल्लीबल्ली, भिडभाड र भोजभतेरमा रमाउने खालको हुँदै गएको छ । त्यसैले ढिलै भए पनि हामी बसेको समाजलाई सुधार्न प्रयासको थालनी अपेक्षित छ ।***