काठमाडौं – नेपालमा ७७ जिल्लाकै प्रमुख स्थानमा इन्टरनेट फोर जीको पहुँच विस्तार भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा मंगलबार फोर जी जडान र परीक्षण सम्पन्न भएसंगै देशका सबै जिल्लामा यो सेवा बिस्तार भएको हो ।
गत वर्ष माघ २० गते एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गर्ने सम्झौता भए अनुसार नै यसको पहुँच बढाइएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबारको सफलतासंगै देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक बनेको छ ।
टेलिकमले गत वर्ष नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्कका लागि चाइना कम्युनिकेशन सर्भिसेज इन्टरनेशनल (सीसीएसआई) हङकङसंग सम्झौता गरेको थियो । दुवै कम्पनीसंग एक वर्षभित्रै देशभर चौथो पुस्ताको फोर जी सेवा विस्तार गर्ने सम्झौता थियो । टेलिकमले अहिलेसम्म दुई हजार ३८ साइडका तीन हजार ६ सय ८३ टावरमा जडान फोर जी प्रविधि जडान गरेको र दुई सयभन्दा बढी नयाँ टावर नयाँ स्थापना गरेको अधिकारीले जानकारी दिनुभयो । फोर जीको माग र संभावित बजार पहिचान गरेर नयाँ स्थानमा यसको सेवा विस्तार गर्ने काम भइरहेको छ, उहाँले भन्नुभयो । फोरजी परियोजना अन्तर्गत कम्पनीले चार हजार दुई सय टावरमा फोर जी प्रविधि जडान र थप ६ सय ४० नयाँ टावर स्थापना गर्ने लक्ष्य राखेको छ ।
नेपाल टेलिकमले त्यसअघि २०७३ पुस १७ गते नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको थियो । त्यतिबेला १८ सय मेगाहर्ज ब्यान्डमा फोरजी सेवा सुरु गरेको कम्पनीले काठमाडौं उपत्यका र पोखरामा मात्र यो सेवा उपलब्ध गराएको थियो । एकैपटक फोर जी विस्तार गर्ने योजनाअन्तर्गत टेलिकमले कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्कका लागि २०७४ पुस १७ र २२ गते यसका विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । बोलपत्रअनुसार अप्टिकल कोरका लागि जेडटीईले एक करोड ५३ लाख डलर, सिंगापुरको मभिनिरले दुई करोड १० लाख डलर र चिनियाँ कम्पनी हुवावेले तीन करोड ८० लाख डलर रकम कबुल गरेका थिए । ***