हाम्रो देशमा धेरै राजनैतिक व्यवस्थाहरु परिवर्तन भए, धेरै नेपाल आमाका छोराछोरीहरुले आफ्नो ज्यान बलिदान दिए, रगतको खोला बर्षाको भेल झै बेला बेलामा बगिरहृयो, समृद्ध नेपालको सपना बोकेर लड्नेहरुको पक्षमा न त लोकतन्त्र आयो न त संघीय शासन । मर्नेहरु मरेर गए, बाँच्नेहरुको जीवन अन्याय, अत्याचार, गरिबीकै चपेटामा परिरहेको छ । दुख गरेर जीवन गुजारा गरिरहेका नेपालीहरुले राज्यबाट पाउनुपर्ने सुबिधाहरु पाउन सकेनन् । संबिधानमा धेरै हक, अधिकार र सेवा सुबिधाहरु पाउने कुरा उल्लेख भएता पनि अधिकाँश नेपालीहरु यी कुराहरुबाट बिमुख देखिन्छन् । जो बोल्न सक्छन्, जो दलको कार्यकर्ता बनेको छ, जसको आफन्त नातागोता, राज्यको बिभिन्न निकायमा छन् उनीहरुको मात्र पहुँच रहेको पाईन्छ ।
बिकास निर्माणमा बजेट बाँडफाँट हुन्छ तर स्थानीय तहहरुमा अझै बजेटको कार्यान्वयन सही रुपमा भएको पाइदैंन । गाँउगाँउमा सिंहदरबार पुगेको छ । जनताले गाउँमै सरकार पाएका छन् । स्थानीय तहमा करोडौ बजेट छुट्याइएको पाइन्छ तर सीमित ठाउँहरुमा बाहेक बजेट कार्यान्वयनको पक्ष अत्यन्तै फितलो देखिएको छ । बेरोजगारीका कारण शिक्षित युवाहरु प्लस टु उत्तीर्ण हुनासाथ बिदेशिने गरेका छन् । स्थानीय तहमा नेतृत्व गर्नेहरु आफ्नो नाम राम्ररी लेख्न नसक्ने अनि कमजोर नेतृत्वका कारण बिकास पुरानै शैलीमा अगाडि बढिरहेको छ । अझै पनि बार्षिक रुपमा बिनियोजित बजेट प्रत्येक बर्ष त्यही एकै ठाँउको काठे पुल भत्काउने, पर्खाल लगाउने जस्ता अनुत्पादनशील क्षेत्रमा लगानी भईरहेका छन् । कुनै एक व्यक्तिले एउटा सरकारी काम तथा प्रशासनिक सेवा लिन हप्तौ दिन लगाउनुपर्ने बाध्यता, हरेक काममा राजनैतिक ब्यक्ति र नेताहरुको सिफारिस नभई हाम्रो देशमा काम गर्नै गाह्रो छ । सरकारी कर्मचारीहरु कार्यालयको कामलाई आफ्नै किराना पसल, दुकानमा झै मनपरि समयमा आउने जाने, खाजा खाना गएपछि लामो समय हराउने, ग्राहकहरुलाई वास्तै नगरी कुर्सीमा उपरखुट्टी लगाएर बस्ने, दशै तिहार जस्ता चाडहरुमा महिनौ बित्दा समेत कार्यालयमा फर्केर नआउने जस्ता व्यवहारले पनि सामान्य नागरिकहरु सरकारी सेवा र सेवा प्रदायक निकायदेखि रुष्ट भएको पाइन्छ ।
प्राकृतिक रुपमा सुसज्जित नेपालको पर्यटन प्रवर्धन गर्न हाम्रो देशको राजनैतिक वातावरणलाई राम्रो बनाउनुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशी बिदेशी पर्यटकप्रति गरिने व्यवहारमा सुधार हुनुपर्दछ । उनीहरुको सुविधाका लागि एट्राक्सन बोर्ड, सस्तो र सुलभ सवारी साधन, बिरामी हुँदा रेस्क्यु टिमको व्यवस्था, राजधानीमा अस्तब्यस्त शौचालयहरु ब्यबस्थित गर्नुपर्दछ । पर्यटकहरु बस्ने होटल रेष्टुराँको मेन्यूमा एकरूपता ल्याउन सके नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने देखिन्छ ।
हाम्रो देशमा अझै पनि गाँउ गाउँमा सिटामोल पुग्न सकिरहेको छैन । नागरिकहरु समयमा उपचार हुन नसकि अकालमा ज्यान गुमाउन बाध्य छन् तर नेताहरु भने स्वास्थ्य परिक्षणका लागि राज्यकै ढुकुटी खर्च गरेर बिदेश गई उपचार गर्छन् । पछिल्लो समय वाइड बडी, सुन तस्करी, बलात्कार, हत्या-हिंसा जस्ता जघन्य अपराधका घटनाहरुमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सत्तामा रहेका दलका नेताहरु नै संलग्न रहेको पाइन्छ । नेपालको संबिधानले यस्ता गलत कार्य गर्ने नेताहरुलाई किन कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा कार्बाही गर्न सकिरहेको छैन ? कहाँ के अनुसन्धान गरेर बसिरहेका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यहाँ कार्यरत अधिकारीहरु ? जनताले पहिचान, अधिकारको माग गर्दा लाठी र अश्रु ग्याँस छर्कने ति प्रहरी प्रशासन किन टुलुटुलु हेरिरहेको छ ? जनताको बिश्वासको मतले जितेर गएका प्रतिनिधिहरु गलत काममा संलग्न हुन्छन् भने अब जनता लाटो भएर अझै बिश्वास गर्नेवाला छैनन् । चुनाव जित्नु अघि यो गर्छु र त्यो गर्छु भनेर बोलेका अथवा प्रतिबद्धताहरु कति कार्यान्वयन भने नेताहरुले आत्मालोचना, आत्ममुल्याङ्कन गर्नुपर्ने देखिन्छ । बिकास निर्माणमा खर्चनुपर्ने महत्वपूर्ण समय अराजक क्रियाकलाप गरेर ढुकुटी रित्याउने र सरकारको ५ बर्षको समयावधि सकाउने खेल हो भने अब जनताले पक्कै पनि माफी दिने छैनन् । हामीले हाम्रो देश समृद्ध बनाउन सर्बप्रथम राजनैतिक दलका नेताहरु र सरकारी निकायहरुमा कार्यरत कर्मचारीहरुको व्यवहार र मनस्थितिमा सकारात्मक परिवर्तन हुनु अत्यन्त आवश्यक छ ।***
(लेखक शेर्पा -‘समायोजन खबर डट कम’ का सम्पादक हुन्)