विश्वका ८० राष्ट्रमा फैलिएको एनआरएन अभियान नेपालको समृद्धिको यात्रामा सरकारको सारथी बन्ने हैसियतमा पुगिसकेको छ । सोहीअनुरुप नेपाल सरकारले पनि मान्यता प्रदान गरेको छ । विभिन्न मुलुकमा पुगेका नेपालीहरुले त्यहाँ हासिल गरेका ज्ञान, शिप, अनुभव, विज्ञता र पूँजीलाई नेपालमा व्यवस्थित लगानी गरी रोजगारीको अवसर सिर्जना गर्ने र उत्पादनमा जोड दिने मिशन आफैमा वैज्ञानिक छ । सोहीअनुसार बिस्तारै कामहरु पनि भईरहेका छन्, यो आफैमा सुखद छ । यति हुँदाहुँदै एनआरएन संगठनप्रति सम्बन्धित देशमा रहेका नेपालीहरुको आकर्षण भने अपेक्षित बिस्तार हुन सकेको देखिदैन ।
यसो हुनुमा अभियानलाई सर्बसाधारणसम्म पुर्याउने खालका प्रभावकारी कार्यक्रम, कार्यनीति तथा योजनामा कहीं न कहीं खोट देखिन्छ । सर्बसाधारणलाई आकर्षित गर्न नसकेकै कारण संसारभरि रहेका नेपालीहरुको छाता संगठन भनिने एनआरएनको साधारण सदस्यता लिन नेपालीहरुमा खासै रुची देखिदैन । कुनै पनि संगठनको मेरुदण्ड भनेको उसको साधारण सदस्यतालाई मानिन्छ । लाखौंको संख्यामा नेपालीहरु रहेका अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, युरोपियन मुलुकहरुमा समेत एनआरएनको साधारण सदस्यता लिनेको संख्या हेर्दा अत्यन्तै न्यून देखिन्छ । करीव ९० हजार नेपाली रहेको जापानकै कुरो गर्नुपर्दा पछिल्लो जानकारीअनुसार करीव ३ हजार भन्दा साधारण सदस्यता नहुनु भनेको अभियानसंग नेपालीहरुलाई जोड्न नसक्नु हो । यो भनेको कुल संख्याको मात्र ३ दशमलव ३३ प्रतिशत हो । स्वयम एनआरएनका केन्द्रिय अध्यक्षदेखि जिम्मेवार पदाधिकारीहरु अन्य मुलुकमाभन्दा तुलनात्मकरुपमा बढि भएको देश जापानमा त यो अवस्था छ भने अन्यत्रको अवस्था झन कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । अभियानलाई विभिन्न कार्यक्रमहरु मार्फत ग्रासरुटसम्म पुर्याउने कुनै योजना नहुनु, कुनै न कुनै क्याम्पेनमार्फत नेपालीहरुलाई आबद्धता गराई राख्ने खालको नीति नहुनु, दुई वर्षसम्म साधारण सदस्यताको बिषयले कहिलै प्रवेश नपाउनु, निर्वाचनको पूर्वसन्ध्यामा मात्र नेतृत्वको बिषयलाई केन्द्रमा राखेर हतार हतारमा साधारण सदस्यता अभियान चलाउनु, कसैको आग्रह र लगानीमा भईदिनका लागि सदस्यता लिईदिने र बनिदिने सँस्कारको बिकास हुनुले एनआरएनमा सर्बसाधारणको पहुँच र आकर्षण बढ्न नसकेको देखिन्छ ।
जबसम्म एनआरएन अभियानलाई भित्र मनैदेखि आत्मासाथ गरेर स्वतस्फुर्तरुपमा सदस्यता लिनअधिकाँश नेपालीहरु तयार हुँदैनन् तबसम्म एउटा निश्चित घेराका नेपालीहरुमा मात्र सदस्यता सीमित हुने देखिन्छ । न्युन संख्याका सदस्यहरुमध्यबाट चयन गरिने नेतृत्व र त्यसमा पनि हुने झिनाझम्टीपूर्ण अस्वस्थ्य प्रतिस्पर्धाका कारण कतिपय नेपाली यसप्रकारको झन्झटबाट टाढै बस्न रुचाउनेहरु पनि हुने नै भए । कुनै पनि संघसंस्थामा १ पटक सदस्य बनिसकेपछि पटकपटक सदस्य बनिरहनु नपर्ने र त्यसपछिका तोकिएको वर्षहरुमा नविकरण गर्ने विश्वब्यापी मान्यता छ । तर हामीले अवलम्बन गर्दै आएको झन्झटिलो सदस्यता प्रक्रियाका कारण पनि कतिपयले सदस्यता लिन नचाहेको देखिन्छ । त्यसकारण हालसम्मको अनुभवबाट पाठ सिक्दै साधारण सदस्यता बिस्तारका लागि आकर्षक एवं प्रभावकारी कार्यनीति अवलम्बन गरिनु आवश्यक देखिन्छ ।
अर्कोतिर एनआरएन भनेको धनाढ्यहरुको संगठन हो भन्ने मानसिकतालाई पनि अभियानमार्फत चिर्न जरुरी छ । डेढ दशकको यात्रामा हिड्दै गरेको एनआरएन अभियानमा सुरुदेखि नै उठ्दै आएको यसप्रकारका आवाजको संबोधनतर्फ खासै ध्यान जान सकेको देखिदैन । अभियानलाई धेरै देशमा फैलाउने काम सकारात्मक छ, तथापि सम्बन्धित देशमा रहेका बहुसंख्यक नेपालीहरुको आबद्धता र स्वीकार्यताको दायरा फराकिलो हुन सके अझ अभियानले सार्थकता पाउने देखिन्छ । हरेक महाधिवेशनका बेला नीति भन्दा नेतृत्वका बिषयले सँधै प्राथमिकता पाउने एनआरएनमा हुने चुनावी माहौल, तामझाम, हाइफाइ, तडकभडक जस्ता बिषय अर्को सोचनीय बिषय बन्दै गईरहेका छन् । विभिन्न मुलुकमा राष्ट्रिय तथा केन्द्रिय अधिवेशनको मौसम नजिकिदों छ, क्रमिक सुधारका लागि नीति निर्माणको तहमा रहेका जिम्मेवार अभियान्ताहरुको यतिबेला पुनः ध्यान जान आवश्यक छ ।***