दिनहुँ कामको थकानले शरिर प्रायजसो थाकेको हुन्छ । बल्लबल्ल हप्ताको एक दिन बिदा हुन्छ । बिदाको सदुपयोग गर्दै कहिलेकाँही नेपालमा रहनुभएका साथीभाइ अनि आफन्तजनसंग फोनमा कुरा गर्छु । कुराकानीको क्रममा उहाँहरुले जापानमा वर्किङ भिसा खुल्यो भन्छन् के हो वास्तविकता भनि सोध्नुहुन्छ । अधिकांशले भिसा पक्रिया, तलव, लाग्ने खर्चबारे सोध्नुहुन्छ । उहाँहरुले यसरी सोधपुछ् गर्नु स्वभाविक ठान्दछु । किन कि नेपालमा बेरोजगारीको चपेटामा परेका युवाहरु धेरै छन् । उहाँहरुको बुझाइअनुसार जापानमा जसको पनि मासिक दुई लाख रुपैयाँ कमाई हुन्छ, ऋणपान गरेर जापान आएपछि दुःख गरे १ बर्षभित्र उकास्न सकिहालिन्छ भन्ने पाईन्छ । वास्तविकता उहाँहरुको बुझाइभन्दा धेरै फरक छ । वास्तविकता बुझ्ने कोशिस नगन्यले मात्र गरेको पाईन्छ ।
जापान बिश्वकै महङ्गो देशको सूचीमा पर्छ । यहाँ बिशेषगरी कोठाभाडा, मोबाइल, यातायात खर्च धेरै महङ्गो छ । काम गर्न थालिएको एक बर्षपछि जापान सरकारको नीति नियमअनुसार यहाँकै नागरिक सरह विभिन्नथरिका कर र वीमा सुविधाका लागि पैसा तिर्नुपर्ने हुन्छ । हामी सानो देशबाट आएर सिधै यहाँको नियम पालना गर्न धेरै गाह्रो हुन्छ । आफ्नो भविष्यको सुरक्षाका लागि वीमा र कर नतिरी हुँदैन । हामी धेरै नेपालीको बाध्यता पैसा कमाएर नेपाल पठाउनै पर्यो । जापानमा केही बर्ष अगाडिसम्म २८ घण्टा भन्दा बढी काम गरेपनि भिसामा खासै समस्या हुँदैनथ्यो तर आजभोलि जापानबासी नेपालीहरु जापान इमिग्रेशनको प्रत्यक्ष निगरानीमा परेको देखिन्छ । भिसा र कामको समस्याका कारण धेरै नेपालीहरुको ओठमा हाँसो हराउँदै गएको देखिन्छ । २८ घण्टा मात्रै काम गरे एक जनाको पेट पाल्न बाहेक केही गर्न नसकिने अधिकांशको गुनासो आफ्नै ठाउँमा छ । ओभरटाइम धेरै गर्ने नेपालीहरुलाई इमिग्रेशनले बारम्बार चेतावनी दिने र अन्तत्वगत्वा नेपाल फर्कन बाध्य गराउँदै आएको पाईन्छ । जापानमा काम गर्ने ठाउँमा, रेल यात्राको क्रममा, बिभिन्न नेपाली कार्यक्रमहरुमा साथीभाइहरुसंग भेटघाट हुँदा बिशेषतः काम र भिसाको समस्याबारे गफगाफ गर्ने गरेको पाईन्छ । जापानमा अधिकांशले भोग्दै आईरहेका यी समस्याहरु समाधान गर्ने बारे नगन्यले मात्र ध्यान दिएको पाइन्छ । पीडितहरु उचित समन्वयको अभाव, सही समयमा सही सूचना प्राप्त हुन नसक्दा कुहिरोभित्र हराएको काग झै देखिन्छन् । हुन त विदेशमा आफ्नो भन्ने कोही हुँदैन भनिन्छ तर नेपालीहरुको समस्या नेपालीहरुले नै समाधान गर्न हेल्पडेक्स, सूचना तथा परामर्श केन्द्र स्थापना गरिनु आवश्यक छ । यसका लागि दर्जनौ संघसंस्थाका जिम्मेवार व्यक्तिहरुको ध्यान जानुपर्दछ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने अहिले कैयौं युवाहरु विभिन्न अनर्गल प्रचार, एजेन्टहरुको प्रलोभनमा लोभिएर जापान आउन लाखौ रुपैयाँ खर्च गर्न तयार देखिन्छन् । कतिपय साथीहरुले जापानमा भिसा खुल्यो भन्छन् भिसा पठाइदिनुपर्यो, नेपालमा बसेर के गर्नु भन्छन् । कसैले जापानमा नेपाली रेस्टुरेन्ट र कियरगिभरमा मान्छे मागिरहेको छ रे बुझनुपर्यो भन्छन् त कसैले पर्यटक भिषामा आएर काम गर्नुपर्यो भन्छन् । उहाँहरुले आफ्नो चाहना ब्यक्त गर्नु स्वभाविक हो किन कि म पनि अर्को कुनै दुनियाँबाट जापान आएको थिएन । एउटै धरातल र एउटै माटोमा हुर्किएर केही सिकिन्छ अनि आफ्नो र घरपरिवारको भविष्य सुन्दर बनाउन सकिएला कि भनेर नै घरदेश त्यागेको एक सैनिक जस्तै हुँ । नेपाल हुँदा मैले पनि विदेशमा रहेका साथी आफन्तहरुसंग यस्तै चाहना नगरेको होईन ।
बल्लतल्ल जापान आएका विद्यार्थी, डिपेन्डेन्ट लगायत अन्य कतिपय नेपालीहरु भिसा नविकरण गर्न नपाउँदै नेपाल फर्कनुपरेको उदाहरणहरु बाक्लिन थालेका छन् । तसर्थ २ लाख कमाउने सोचले मात्र आतुर नहुनुहोस् । जापानमा पाईला टेकेपछि पालना गर्नुपर्ने नीति नियम, विभिन्न खालका कर, वीमा, दैनिक हुने खर्च, कलेज खर्च र यहाँको सँस्कार-सँस्कृति र जीवनशैली बारेमा पनि अध्ययन गर्नुहोस् । जापानमा आएर जोखिम लिन सकिएन, दुःख र धैर्यता गर्न सकिएन भने पुर्पुरोमा हात राखेर बस्नुको विकल्प छैन । यदि तपाइसंग तन, मन, धन छ र केही गर्छु भन्ने जोश र जाँगर छ भने जापानमै आउनुपर्छ भन्ने छैन । हाम्रो देशमा प्रचुर संभावनाहरु छन् । देशमै संघर्ष गरी बाँच्न सिक्नुहोस । विदेश आएर राम्रो काम गर्न पाईन्छ, घेरै कमाइन्छ भन्ने सोच त्याग्नुहोस । २ लाख कमाउन के कति दुःख भोग्नुपर्छ बुझनुहोस् र सोहीअनुसार कामको संभावना पहिल्याएर देशमै दुःख गर्न सके तपाईको भविष्य नेपालमै छ ।***
(लेखक शेर्पा -‘समायोजन खबर डट कम’ का सम्पादक हुन्)