Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

क्रान्ति बिगुल बजाउदै आउदैन । क्रान्ति सुटुक्क पनि आउदैन । भारतका कवि रामधारी सिंहका अनुसार क्रान्ति त यसरी आउछ रे ‘जतिबेला परिवर्तन विस्तारै हुन्छ त्यसलाई विकास भनिन्छ तर परिवर्तन तेजगतिमा हुन्छ त्यसलाई क्रान्ति भनिन्छ । ‘ के यही हो त क्रान्ति ? हुन पनि सक्छ न हुन पनि सक्छ तर नेपालमा हामीले खोजेको क्रान्ति कस्तो हो त ? क्रान्ति धेरै प्रकारका हुन्छन जस्तै, समाजवादी क्रान्ति, पुजीवादी क्रान्ति ? नयाँ जनवादी क्रान्ति ? सर्वहारा क्रान्ति ? इत्यादि । नेपालमा हामीले खोजेको क्रान्ति कस्तो हो भने जनताले बलपूर्वक सामन्तवादी सत्ता पल्टाउने र त्यसको ठाउँमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अर्थात सत्ता कम्युनिष्ट पार्टीको हातमा लिनु हो । त्यतिबेला सेना, पुलिस र कर्मचारीतन्त्रमा व्यापक परिवर्तन हुन्छ तर समाजको स्वरुप भने पुरानै यथावत हुन्छ यस्तो खालको परिवर्तन नयाँ जनवादी क्रान्ति हो । कम्युनिष्ट पार्टी यसैमा चुप लागेर बस्दैन बरु बर्ग संर्घषलाई चर्काउदै समाजवाद र साम्यवादको दिशामा अघि बढ्दछ ।

यसरी बिचार गर्दा क्रान्ति भनेको कुनै पनि एउटा कम्युनिष्ट पार्टीले राज्यसत्ता कब्जागरी लेनिनवादी र्कायशैली अनुरुप न्यायपूर्ण शोषण रहित परिवर्तनको दिशामा समाजलाई अगाडि बढाउनु नै क्रान्ति हो । अब यो क्रान्ति कहिले र कसरी आउछ त ? क्रान्तिलाई कसले छेकेको छ त ? कस्तो कस्तो अवस्थामा क्रान्ति हुन्छ त ? क्रान्तिको अवस्था आफै तयार भएर आउंछ कि पार्टीले कडा मेहनत गरेर तयार पार्ने हो ? अथवा के कस्ता प्रावधानहरुको आवश्यकता पर्छ क्रान्ति सम्पन्न हुनका लागि ? हामी यी नै विषयहरुको बारेमा छलफल गर्ने छौं । लेनिनले भनेका छन – ‘यदी क्रान्ति गर्नु छ भने, पहिला हामीसंग क्रान्तिकारी पार्टी चाहिन्छ र त्यो पार्टीमा मार्क्सवादी लेनिनवादी संगठनात्मक पद्धति र तरिकाको विकास गरेको हुनुपर्छ साथै आम जनताको विश्वास जित्नुपर्छ । यस्तो खालको पार्टी बिना क्रान्ति सम्भव हुदैन।’ अब हामी विचार गरौं, के हामीसंग लेनिनले भने जस्तो पार्टी छ त ? के हामी मालेमावादी सिद्धान्त र तरिकालाई दह्रोगरी अपनाएका छौं त ? के हामीले जनतालाई विश्वास दिलाउन सकेका छौ त ? हो हामीसंग क्रान्तिकारी पार्टी छ त्यसलाई अझै धार लगाउनुपर्छ, मार्क्सवादी सिद्धान्त र तरिकालाई अपनाएका छौं तर आम जनतासंग एकाकार हुन सकेका छैनौं । कसरी जनतासंग एकाकार वा नजिक हुन सकिन्छ त ? माओले भनेका छन कार्यकर्ता गाउँ जानुपर्छ । जनतासंग काम गर्नुपर्छ । जनतासंग सिक्नुपर्छ र उनीहरुलाई सिकाउनुपर्छ । गाउँमा अनेक समस्या छन्, छोरा मान्छे गाउँमा छैनन् हलो कोदालो, पैचो, विवाह, मृत्यु, काजक्रिया, झगडा, मुद्दा मामिला, जातिय विभेद, आर्थिक-भौतिक, विकास, दु:खसुख सबै प्रकारका समस्यासंग पार्टी कार्यकर्ता चिरपरिचित हुनुपर्छ । कसरी हुन्छ जनताका पीर मर्काको सहयोगी बन्नुपर्छ र जनतालाई निर्णायक सर्वमान्य न्याय दिलाउन अग्रसर हुनुपर्छ । गाउँमा युवा जगतलाई हातमा लिनुपर्छ जस्तै – खेलकुद, वनभोज, साँस्कृतिक कार्यक्रम, वादविवाद, हाजिरीजवाफ प्रतियोगिता, गाउँमा सरसफाई, सुरक्षा गस्ती, चाडपर्व मनाउनेदेखि खेतीपाती गर्नेसम्म नयाँ तरिका र सामुहिक रुपमा गर्ने पद्धतिको विकास गरी सहयोग गर्न सकेको खण्डमा मात्र युवावर्ग र जनताले पार्टीलाई विश्वास गर्न सक्नेछन ।

यस खालको क्रियाकलापका लागि पार्टीमा धेरै कार्यकर्ताको उत्पादन गर्ने, प्रत्येक महिनामा गाउँमा पार्टी स्कुल संचालन गर्ने, पत्रपत्रिकाको विकास गर्ने, लेख रचना आदिको विकासका लागि प्रोत्साहन गर्ने, गाउँमै रोजगारी सिर्जना गर्नका लागि गाउँपालिका, प्रदेश सरकार वा केन्द्र सरकारसंग माग गर्ने, सामुहिक आर्थिक परिचालन कार्यक्रम संचालन गर्ने, महंगी, कालोबजारी, घुसखोरी, भ्रष्टाचारी आदी विषयमा संघर्ष चर्काउन आवश्यक नारा, कार्यक्रमको तय गर्ने, विदेश जान चाहने युवालाई गाउँमै बस्न प्रोत्साहन गर्ने, विदेशमा नेपाली युवायुवतीहरुले पाएका दु:खकष्टहरुको वारेमा क्लास चलाउने जस्ता कार्यहरुमा जब हामी गाउँमा गएर जनतालाई प्रशिक्षित गर्न र जनतासंग मिल्न सक्दैनौ तवसम्म हामी जनतादेखि टाढा हुनेछौं र क्रान्ति पनि झन अरु टाढा धकेलिने छ ।

माओले के भनेका छन भने – ‘पार्टी कार्यकर्ताको कार्यविभाजन गरेपछि त्यो कार्यकर्ता आफ्नो कार्य क्षेत्रमा पुगेर त्यहीं बस्नुपर्छ, काम गर्नुपर्छ, सघर्ष गर्नुपर्छ, जनतासंग मिलेर जनतालाई आन्दोलित गर्नुपर्छ ।’ अहिले हाम्रो पार्टीको काम गर्ने तौरतरिकामा आमुल परिवर्तन गरेर कार्यकर्तालाई गाउँ पठाउनुपर्छ । गाउँ सहर जताततै संगठनको जालो विच्छाउनुपर्छ, जनताको मन जित्न हरदम कोशिस गर्नुपर्छ । यदी हामीले जनतालाई वास्तविकता बताउन सकेनौ भने, जनताको आर्थिक, भौतिक, नैतिक र साँस्कृतिक जीवनमा प्रभाव पार्न सकेनौ भने हामी क्रान्तिको कुरा मात्र गर्ने मात्रमा सीमित हुने छौं । माओले भनेका छन – ‘क्रान्तिको फल छिटो चाख्नु छ भने छिटो क्रान्ति गर्नुपर्छ ।’ माओले भने भनेर हामीले क्रान्ति शुरु गरिहाल्ने पनि होईन क्रान्तिकारी वातावरण तयार छ या छैन त्यो पनि हेर्नुपर्छ तर त्यस्तो वातावरण सधैं र सबै ठाउँमा आफै तयार भएर आउदैन पार्टीले तयार गर्नु पनि पर्छ । जस्तो कि रुसमा क्रान्ति हुने वेलामा प्रथम विश्वयुद्ध चलिरहेको थियो । रुस स्वयम एक पक्षमा लडिरहेको थियो । देशको अर्थतन्त्र खस्कदो थियो, नेपालमा जस्तै राजनीतिक अस्थिरता थियो । जनताका समस्या झन झन बल्झिदै थिए । सामाजिक, राजनीतिक अन्तरविरोध तिव्र बनेको थियो, भने साम्राज्यवाद आफै युद्धमा फसेको थियो त्यो अवस्थामा लेनिनले मौकामा चौका हान्न सफल भए । त्यसरी एउटा कुशल राजनेताले मौकामा चौका हान्न सकेको खण्डमा मात्र सफल नेता बन्न सकिन्छ र आफ्नो उद्देश्य पुरा हुनसक्छ । केवल सिद्धान्तको मात्र रटान गरेर मात्र पनि हुदैन जति जति क्रान्तिको समय लम्बिन्छ त्यति कार्यकर्ता समाल्न गाह्रो हुन्छ क्रान्ति पछि धकेलिन्छ ।

त्यसैगरी चिनमा माओले पार्टी स्थापना संगसंगै क्रान्ति शुरु गरे । किन भने दोस्रो विश्वयुद्ध चलिरहेको थियो । जापानी साम्राज्यवादको विगविगी थियो । चिनको केही भाग जापानले अतिक्रमण गरिसकेको थियो । देशमा निरंकुश अस्थिर सरकार थियो । त्यस्तो अवस्थामा माओले क्रान्तिको भविष्य देखें र क्रान्ति सुरु गरें तर माओले क्युवाका चेग्वेरासंगको वार्तालापमा लम्वे अभियानका कारण क्रान्ती ढिला भएको कुरा वताएका छन । त्यसको अर्थ हो यदी लम्वे अभियानमा नलागेको भए केही छिटो सत्ता कब्जा गर्न सकिन्थ्यो । यसरी चिनमा सन् १९४९ क्रान्ति सम्पन्न भएको थियो ।

अब नेपालमा कसरी क्रान्ति सम्पन्न गर्न सकिन्छ त ? मार्क्स, लेनिन, माओका पालामा फोन थिएन, यातायातको राम्रो सुविधा थिएन । इमेल, इन्टरनेट थिएनन्, साम्राज्यवादले अहिले जस्तो चर्को विकास गरिसकेको थिएन । अहिले त मानिसहरु कहाँ जम्मा भएका छन, कोठामा कि चौरमा सवै सेटालाइटबाट हेरेर आक्रमण गरिन्छ । सूचना, प्रबिधी र हतियारमा पुजीवादीहरुले धेरै ठूलो फड्को मारिसकेका छन । यस्तो खालको खतरनाक अवस्थामा धेरै लामो लडाइ लड्नु घातक हुन्छ । सुरक्षित, छिटो, छरितो, कम रत्तपातपूर्ण लडाई लड्नु आजको आवश्यकता हो । यसका लागि केवल क्रान्तिकारी पार्टी, लेनिनवादी संगठन, मालेमावादी सिद्धान्त र तरिका अनि आमजनता साथमा हुनुपर्छ । यस खालको वातावरण पार्टीमा हुनु र देशमा अस्थिर सरकार, जनता सरकारदेखि आजित भएको अवस्था, सेना, पुलिस र कर्मचारीतन्त्र पनि सरकारको एन्टी बनेको अवस्थामा लेनिनले जस्तै पहाडबाट जोखाना हेरर शिकार गर्न सक्ने कुशल नेता नै महान नेता बन्न सक्छ । त्यसकारण अब हामीले पार्टीलाई स्पात बनाउनुपर्छ, कार्यकर्तालाई गाउँ गाउँमा पठाउनुपर्छ, जहाँबाट क्रान्तिको धुँवा पुत्ताउन सकोस । नेतृत्व पहाडि चिल बन्न सक्नुपर्छ र नै क्रान्ति लेफ्टराइटको तालमा आउनेछ । ***

तपाईको प्रतिक्रिया