वासिंटन – विश्वकै सबैभन्दा ठूलो कम्पनीमा सामेल अमेरिकी कम्पनी ‘एप्पल’ले एकै दिन ७५ अर्ब डलर घाटा व्यहोरेको छ ।
एप्पलको शेयरमा बिहीबार भारी गिरावट आएपछि उक्त परिमाणमा नोक्सान भएको हो । गत वर्ष अगस्टमा एप्पलले कीर्तिमान रचेको थियो ।
विश्वबजारमा आफ्नो बर्चश्व बढाएर एप्पलले एक ट्रिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनीमा आफ्नो नाम लेखाएको थियो ।
त्यतिबेला एप्पलको शेयर उकालो लागेको थियो । हाल एप्पलको शेयरमा भारी गिरावट आएको छ । आइफोन बिक्रीमा आएको गिरावटका कारण यो अवस्था आएको एप्पलले जनाएको छ ।
पहिला नयाँ आइफोन बजारमा आउनासाथ उपभोक्ताको लाइन लाग्ने गर्दथ्यो तर, पछिल्ला दिनमा यो अवस्था अन्त्य हुँदै गएको छ । चीनको अर्थव्यवस्थामा आएको गिरावटका कारण चीनमा आइफोनको व्यापार घटेको बताइन्छ ।
चीन र अमेरिकाबीचको व्यापारिक तनावका कारण पनि एप्पलको कारोबार घटेको विश्लेषकहरु बताउँछन् ।