Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो ।

उक्त गाउँपालिकाले एप्स निर्माण गरी पाँचवटै स्वास्थ्यचौकीमा एप्ससहितको मोबाइल वितरण पनि गरेको छ । वितरित मोबाइलमा रहेको एप्समा आफ्नो सेवा क्षेत्रमा रहेका गर्भवती र सुत्केरीबारे जानकारी विवरण स्वास्थ्यचौकीमा कार्यरत प्रसूति सेवा हेर्ने कर्मचारीले अद्यावधिक गर्नेछन् । अद्यावधिक गरिएको विवरणबमोजिम एप्सले समयावधिको आधारमा ‘नोटिफिकेशन’ पठाउने र सोहीबमोजिम स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीलाई आवश्यक परामर्श र स्याहारका लागि परामर्श दिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टङ्कबहादुर मोक्तानले बताउनुभयो ।

“स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवासुविधालाई प्रविधिसँग जोडेर सहज पार्न खोजेका छौँ”, अध्यक्ष मोक्तानले भन्नुभयो, “हामी बिकट र दुर्गममा पनि प्रविधिको उपयोग गरेर जनतालाई सजिलो पर्ने गरी सेवा दिन लागेका छौँ ।” एप्सको प्रयोगबाट सुत्केरी र गर्भवतीको विवरण अद्यावधिक हुने र उनीहरुको स्याहार गर्न सजिलो हुने उहाँले जानकारी दिनुभयोे ।

गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एउटा स्वास्थ्य केन्द्रमा बालबालिका जन्म गराउने सङ्ख्या ३० भन्दा बढी भएमा प्रतिबालबालिका ५०० का दरले कर्मचारीलाई समेत प्रोत्साहन भत्ता दिने जनाएको छ । उहाँका अनुसार भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क गरी पाँच स्वास्थ्यचौकीमा बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुनेछ । पाँचै स्वास्थ्यचौकीमा प्रसूति सेवाका लागि गाउँपालिकाले गर्ने व्यवस्थामा कमी नआउने र सङ्ख्या वृद्धि गरेमा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिको रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया