मुलुकभित्र उपलब्ध स्रोत, साधन र संभावनालाई व्यवस्थित गरी त्यसको योजनाबद्ध ढंगले सदुपयोग गर्न नसक्दा देशमा रोजगारीका अवसर सिर्जना गर्न सकिएको छैन । देशमा बेरोजगारको संख्या दिनानुदिन बढिरहेको छ । आक्कलझुक्कल केही संस्था र सरकारी निकायमा नया“ भर्नाका लागि विज्ञापन हुंदा फर्म भर्न देखिने भिडभाडले बेरोजगारीको अवस्था झल्काउ“छ । कोरियामा कामदार पठाउन भर्ना परीक्षाको आवेदन दिनकै लागि फारम भर्न लाइन लागेका युवाको भिडले पनि देशको बेरोजगारीको अवस्था प्रस्ट्याउंछ । देशमा बढ्दो बेरोजगारीका कारण कामको खोजीमा बिदेसिनेको संख्या दिनदिनै बढिरहेको छ । सम्मानजनकरुपमा आफ्नै देशमा काम पाए कोही पनि विदेश जांदैन ।
अमेरिकाको डिभी चिठ्ठा भर्न, मलेसिया, कतार वा दुबईमा कामदारका रुपमा जान या पढ्नका लागि अस्ट्रेलिया वा बेलायत जान हजारौं युवाको लाइन लागेकै छ । हालसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४० लाखभन्दा बढी पुगेको छ । नेपालका विश्वविद्यालय उत्तीर्ण लाखौं व्यक्ति शैक्षिक बेरोजगार बनिरहेका छन् । तिनै बेरोजगार युवा अरबतिर जाने भिडमा लामबद्ध देखिन्छन् ।
बेरोजगारीका कारण कैयौं युवा डिप्रेशनको सिकार भईरहेका छन् भने कतिले त आत्महत्या नै गरेका छन् । बेरोजगारीलाई मन्दविषका रुपमा पनि लिईन्छ, जसले ऊर्जाशील युवालाई नजानि“दो पारामा सिध्याउंछ । सामाजिक अवहेलनाको शिकार बनाउ“छ । बेरोजगारीले समाजमा गरिबी बढाउंछ । देशमा रोजगारीका अवसर नहुंदा न्यून ज्यालामै विदेश जानेको लर्को लाग्ने गरेको देखिन्छ । सरकारले आवधिक योजनादेखि वार्षिक बजेटमा रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राज्यले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त मानव संसाधन उत्पादन गरी रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । सरकारी नीति स्वदेशमा पर्याप्त र मर्यादित रोजगार र स्वरोगारका अवसर सिर्जना गर्ने रहेको छ । उद्यमशील, दक्ष र सीपयुक्त मानव संसाधन विकास गरी बेरोजगारी न्यूनीकरण गर्ने नीति छ । प्राविधिक पढाइलाई विशेष जोड दिने उद्देश्यले प्राविधिक विद्यालय खुलेका छन् । रोजगारीका लागि पिछडिएका क्षेत्र र समुदायलाई विशेष ध्यान दिने जस्ता कुरा नीतिमा मात्र सीमित छ । बेरोजगारीका कारण युवा वर्गलाई राजनीतिक पार्टीहरुले दुरुपयोग गरिरहेका छन् । राजनीतिक पार्टीका नेताको ढोका चाहार्ने युवा जमात पनि सानो छैन ।
वैदेशिक रोजगारीमा गएका युवाबाट प्राप्त विप्रेषणले राष्ट्रिय कुल आय अभिबृद्धिमा ठूलो भूमिका निर्वाह गरेको छ । सीप उपलब्धताको माध्यमबाट विविध क्षेत्रमा रोजगारीका अवसर सिर्जना भएको छ । वैदेशिक रोजगारीबाट सीप, क्षमता, दक्षता भित्रिने, प्रविधिको प्रयोग हुने, प्रविधि र विविधतायुक्त सँस्कृति आयात हुने, रेमिट्यान्स प्राप्त हुने जस्ता फाइदा देखिए पनि वैदेशिक रोजगारीको फाइदाको तुलनामा बेफाइदा नै धेरै छन् । देशको श्रमशक्ति विदेश पलायन हुन्छ, दक्ष कामदार विदेश जांदा देशको समग्र विकासमा असर गर्छ, देशमा अस्थिरता कायम रहन्छ, पूर्वाधार विकास हुन सक्दैन ।
नेपालको संविधान ०७२ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने छ भनिएको छ । सरकारले बेरोजगारी न्यूनिकरण गर्दै स्वदेशको रोजगारी तथा वैदेशिक रोजगारीका अवसर सिर्जना गर्न आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयनका लागि उद्योग प्रतिष्ठान, कलकारखाना, मजदुर संगठन, श्रम कार्यालय, रोजगार सूचना केन्द्र, श्रम विभाग, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, कृषि मन्त्रालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगजस्ता संयन्त्र तयार गरेको छ । युवा जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्ने उद्देश्यले सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सरकारी योजनामा रोजगारी केन्द्रीत समावेशी तथा समन्यायिक आर्थिक वृद्धि गरी गरिबी निवारण र दिगो शान्ति स्थापना गर्ने, जनताको जीवनमा प्रत्यक्ष परिवर्तनको अनुभूति दिलाउने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगको तथ्यांक हेर्दा प्रत्येक वर्ष नेपाली श्रम बजारमा ४ लाख ५० हजारको हाराहारीमा नयां श्रमशक्ति थपिने गरेका छन् । दैनिकजसो १५ सयभन्दा बढी नेपाली कामको खोजीमा विदेश पलायन हुने गरेका छन् । नेपाल सरकारले हालसम्म एक सय नौ देशमा रोजगारीका लागि खुला गरेको छ ।
कतिपय नेपाली युवायुवतीलाई वैदेशिक रोजगार रहरको बिषय भएको छ भने कतिपयका लागि वैदेशिक रोजगार बाध्यता बनेको छ । बढी ज्यालादर, सामाजिक सम्मान कायम राख्न वैदेशिक रोजगार आकर्षण बनेको छ भने देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्नु, सीपमूलक शिक्षा नपाउनु, बढ्दो गरिबी, न्यून ज्यालादरमा काम गर्न बाध्य हुनुजस्ता कारणले गर्दा वैदेशिक रोजगारी कतिका लागि बाध्यता भएको छ । गरिबीका कारण विदेश पलायन हुने युवा पनि कम छैनन् । राज्यले बजारको मागअनुसार सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न नसक्नु, सुरक्षित एवं व्यवस्थित रोजगार पद्धती अपनाउन नसक्नु, व्यवहारिक तालिम दिन नसक्नु जस्ता कारण पनि युवा बिदेसिने क्रम बढेको हो ।
वैदेशिक रोजगारीमा जाने युवाका आफ्नै पीडा छन् । विदेश जान पासपोर्ट बनाउने प्रक्रिया नै झन्झटिलो छ । विदेशी भूमिमा आफ्नोपन हुंदैन । विभिन्न किसिमका हिंसा सहनुपर्छ । कठिन कार्य गर्न बाध्य पारिन्छ । औद्योगिक सुरक्षा कमजोर हुन्छ । कति ठाउंमा न्यून ज्यालादरमा काम गर्नुपर्ने बाध्यता छ । सयौं युवा दीर्घरोग बोकेर स्वदेश फर्किने गरेका छन् । अझ दैनिकजसो पाँचभन्दा बढी लास स्वदेश आईपुग्ने गरेका छन् ।
आखिर नेपाली युवा विदेश जान कहिलेसम्म लाइनमा उभिइरहने ? स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न राष्ट्रियस्तरमा कानुनी सुधारको खांचो छ । विद्यालयदेखि विश्वबिद्यालयसम्म दिईने शिक्षमा प्राविधिक जनशक्ति उत्पादनमा विशेष जोड दिनुपर्छ । व्यवसायिक शैक्षिक जनशक्ति केन्द्रको विकास गर्ने, सैद्धान्तिक पढाईभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्छ । ८० प्रतिशतभन्दा वढी नेपाली कृषिमा आबद्ध हुंदा व्यवसायिक कृषि उत्पादनमा जोड दिनुपर्छ । रोजगारी वृद्धिका लागि कृषकलाई सहजरुपमा कृषि ऋण उपलब्ध गराउनुपर्छ । युवालाई कृषि क्षेत्रतर्फ आकर्षित गराउने नीति तर्जुमा गर्नुपर्छ । कृषिसम्बन्धी आवश्यक शैक्षिक जनशक्तिको विकास गर्नुपर्छ । व्यवसायिक खेती प्रणाली लागू गराउनुपर्छ । खेतीयोग्य जमिन टुक्र्याएर बेचबिखन गर्न नपाउने गरी व्यवस्थित गराउनुपर्छ । कृषि बैंकिङ क्षेत्रको लगानी बढाउन स्पष्ट कानुन तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ । कृषि क्षेत्रमा युवाको आकर्षणका लागि शैक्षिक प्रमाणपत्र धरौटीकारुपमा राखी सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्छ । कृषकलाई विदेशमा कृषिसम्बन्धी तालिम दिलाई कृषि क्षेत्रको अत्याधुनिक विकास गर्न जोड दिनुपर्छ । कृषि क्षेत्रको विकासका लागि नयां किसिमले भूमिसुधार कार्यक्रम लागू गरेर ठूला जमिनदार, गुठी आदिको स्वामित्वमा रहेको जमिनमा किसानको पहुंच वृद्धि गराईनुपर्छ । किसानलाई उद्यमी व्यवसायी बन्नका लागि प्रेरित गर्ने, साथै उपयुक्त बजारको समेत व्यवस्था गर्न सक्नुपर्छ । यसले ग्रामिण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गराउन ठूलो मद्दत गर्छ ।
औद्योगिक क्षेत्रको विकासविना बेरोजगारी समस्या समाधान हु“दैन । रुग्ण उद्योग सञ्चालनमा ल्याई औद्योगिक विकासमा वैदेशिक लगानी आकर्षित गर्न सकियो भने स्वदेशमा रोजगारीका अवसर सिर्जना हुन सक्छ । यसरी रोजगारी केन्द्रीत नयां क्षेत्र पहिचान गरी रोजगारका अवसर सिर्जना गर्न सकिन्छ । नेपाल जलसम्पदा र जडीबुटीका क्षेत्रमा विश्वकै धनी देशका रुपमा चिनिन्छ । यसको उपयोग गरेर पनि रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । कृषिसंग सम्बन्धित घरेलु तथा साना उद्योगमार्फत रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।
पर्यटन क्षेत्रमा लगानी वृद्धि गराई युवालाई पर्यटन व्यवसायतर्फ आकर्षित गराउने हो भने रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारमा जाने युवाको संख्या घटाउन सकिन्छ । वैदेशिक क्षेत्रबाट प्राप्त रेमिट्यान्सको प्रयोग उपभोग्य वस्तुमा मात्र खर्च नगरी रोजगारमुखी व्यवसायमा लगानी गर्ने वातावरण तयार गर्न सक्नुपर्छ । जसले देशमा रोजगारीका अवसर सिर्जना गरी ‘ब्रेन ड्रेन’ को समस्या कम गर्छ । अर्धदक्ष वा अदक्ष कामदार उत्पादन र तिनको विदेश निर्यात, नेपालको संभवतः सबैभन्दा ठूलो उद्योग हो भन्ने आलोचनालाई निस्तेज पार्नका लागि कृषि उद्योग सूचना प्रविधि, व्यापार व्यवसाय, पर्यटन क्षेत्र र जलसम्पदाको उपयोग गरेर स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सक्नुपर्छ । यस्ता क्षेत्रको विकासमा स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्न सके विदेश जाने हजारौं नेपाली युवा स्वदेशमै रहने थिए । सरकारले स्वरोजगार कार्यक्रममा शिक्षित युवालाई समेट्न सकेको छैन । उद्यमशीलता र औद्योगीकरण वृद्धिका लागि शैक्षिक युवालाई स्वरोजगार कार्यक्रममा समावेश गराउनु अनिवार्य छ । सरकारले व्यापार व्यवसाय तथा अन्य आर्थिक प्राविधिक क्षेत्रमा उच्च शिक्षा हासिल गरेका तर पुंजी अभावले गर्दा आफैले केही गर्न नसकेका युवालाई लगानी गरिदिने वा स्वरोजगार कार्यक्रममा समेट्न सके बिदेसिने युवाको संख्यामा कमी हुने थियो । बिदेसिने युवा शक्ति नेपालमा खपत हुने हो भने मात्र देशले अग्रगामी छलाङ मार्ने आशा गर्न सकिन्छ । ***