समाज के हो ? समाजको भूमिका के हुन्छ ? समाज कसरी बन्छ ? हो यि र यस्तै यावत कुराहरुले कता कता मेरो मन आज छचल्किएको छ । हुन त धेरै मान्छेहरुको यि प्रश्नप्रति सरल र सहज उत्तर फुर्न सक्छ तर म यि प्रश्नप्रति अनुत्तरित जस्तै भएको छु ।
यसर्थ म अनुत्तरित छु कि, मेरो कागजी पढाईको उत्तर र मेरो कर्मभूमिको गराई भोगाई र देखाईको उत्तर एक अर्काप्रति कुनै पनि हालतमा मेल नखाएर हैरान छु । हिजो समाजको अर्थ बृहत र बिशाल थियो तर आज यसको अर्थ संकुचित र सांगुरो पारिएको छ । बिशेषत: जथाभावी खोलिने नाम मात्रका सामाजिक संघसस्थाले गर्दा समाज र समाजसेवीको परिभाषा के भन्नेमा अन्यौलता सिर्जना भएजस्तो लाग्छ ।
समाजसेवीको उपमा पाउनैका लागि उदेश्यहिन तर भ्रामक तरिकाले महत्वाकांक्षीको अफवाह फैलाईन्छ । यहाँ दुई चारजनाको जमघटले नै बृहत उदेश्य भन्दै संस्था जन्माईन्छ, जापान जस्तो अत्यन्तै ब्यस्त सहरमा पनि ।
दुईचार जना बिदेशीको जम्काभेट र त्यति नै संख्यामा हामी नेपालीको जम्काभेट हुँदा उनिहरुको सोच र हाम्रो सोच आकाश पातालको फरक हुनेगर्दछ । बिदेशीको जम्काभेट कुनै राम्रा कामको योजना र लगानीको बिषयमा केन्द्रित हुनेगर्दछ भने हाम्रो जम्काभेट कुनै राजनैतिक दलको संगठन गर्न आरोप प्रत्यारोप गर्नमै सीमित हुने गर्दछ यो कुनै पनि हालतमा राम्रो हुँदै होईन ।
सानो समुदायको बिचमा धेरै संगठनले दिने प्रतिफल भनेको एकाध बाहेक प्राय: शुन्य हुने गर्दछ । संगठन गर्ने र पदको निम्ती तँछाड मछाड गरिरहंदा समस्यामा रहेका कोही कसैलाई समाधानको लागि कुनै संघसंस्था वा संगठनले पहल गरेको पाईदैन ।
सामाजिक संघ-संस्थाहरुले प्रवासमा रहेका नेपालीलाई राहत होईन आहत दिईरहेका छन् भन्ने गुनासो ब्यापक सुन्न पाईन्छ । यो अवस्था सिर्जना हुनुमा तपाईं हामी नै दोषी छौ, किन कि ति संस्थाका पदाधिकारिहरुलाई हामी बहिष्कारको बाटो रोज्नै सक्दैनौ ।
प्रवासमा एकिकृत हुनु राम्रो र सह्रानीय पाटो हो तर एकिकृत हुने बहानामा लक्षित समुह र पार्ने प्रभावको वास्तै नगरी एकिकृत हुँदा नकारात्मक प्रभाव ब्याप्त भएको सहजै अनुमान गर्न सकिन्छ । जापानमा रहेका लगभग ७० हजार नेपालीको बिचमा झण्डै एक सय बढि सामाजिक संघ संस्था छन् भनिएता पनि यतिनै छन् भन्ने कुनै निकायलाई यकिन जानकारी नै छैन । जापानस्थित नेपाली राजदूतावास पनि यस बारेमा शायद अनभिज्ञ नै होला । यही रफ्तारमा जापानमा नेपाली संघसंस्था गठन हुँदै जाने हो भने हाम्रा ब्यवहारमा अहमता मौलाउदै जाने पक्कापक्की छ । यसतर्फ सम्बन्धित निकाय केही हदसम्म भए पनि जानकार हुनु नितान्त आवश्यक छ ।
यसो भनिरहदा प्रवासमा सामाजिक संघसंस्था चाहिदैं चाहिंदैन भन्न खोजिएको होइन । कुनै टोलछिमेक बिशेष, जातजाति, राजनीतिक दल संबध्द संगठन आवश्यक छैन, तर कुनै जिल्ला क्षेत्रको संगठन भने आवश्यक छ र प्रवासीका दु:खसुखको साथी बन्न सक्नुपर्छ ।
अहिले हामी प्रवासी नेपालीहरुले आफैले आफ्नो शान, मान र इज्जतमा आंच आउने काम गरिरहेका छौ । एकले अर्काको अस्तित्व स्विकार नगर्ने, घमण्ड, रिस, डाह इत्यादि कारणले देशको अस्मिता माथिनै खलल पुरयाउने कामले प्रश्रय पाउंदै गएको छ भन्न सकिन्छ । असली समाजसेवी र सहि संस्था अहिलेको आवश्यकता पनि जरुरी छ । प्रवासमा र त्यो अभ्यास गर्ने असल र ठूलो भूगोल समेट्ने साहसिक ब्यक्तिको खांचो भने पक्कै खड्किएको छ ।
प्रवासमा रहेर देशको कायपलट गर्ने सपना देखिरहनुभएका र बुनिरहेका समाजसेवीहरुमा यो हेक्का हुनु जरुरी छ कि तपाईं वरपर रहेका कुक, विद्यार्थी, डिपेन्डेन्ट लगायतले भोगिरहेका समस्याहरु के के छन् र कसरी स्थायी समाधान गर्न सकिन्छ । त्यस बिषयमा चासो देखाउने र समस्यामा रहेका प्रवासीको सारथी बन्दै समाधान तर्फ ध्यान दिनुभयो भने मात्र नै तपाईं आफुले आफैलाई समाजसेवी त्यो पनि बरिष्ठ भनेर परिभाषित गराईरहनु पर्दैनथ्यो होला ।
प्रवास त्यसमा पनि जापानमा रहेका थुप्रै नेपालीहरुलाई भाषा, पाउने सेवा सुबिधा, स्थानिय नियमको बारेमा सचेतिकरण गरेमा मात्र पनि प्रवासी नेपालीहरुको बिचमा नायक साबित हुनेमा कसैको दुई मत नै छैन । तपाईं नायक बन्ने कि मनोदशा पालेर बस्ने त्यो तपाईंको छनोटको बिषय हो ।
उसो त संसार भरका प्रवासी नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएन) ले पनि सबै नेपालीलाई समेट्न सकिरहेको छैन । एनआरएनतर्फ भन्दा नेपालीहरुको क्षेत्रीय संघसंगठनतर्फ आकर्षण बढिरहेको छ । यो हुनुमा एनआरएनभित्र राजनीतिक गन्ध मौलाउदै गैरहेकै कारण नै हो भन्ने प्रष्ट देख्न सकिन्छ ।
बिकसित राष्ट्रमा बिकासोन्मुख राष्ट्रका हामी नागरिकले इमान्दारिता प्रदर्शन गरेर राष्ट्रिय अस्मिता जोगाउनुको सट्टा बिकृतिकै मलजल गर्नमा लिप्त छौ । शायद हाम्रा गतिबिधिहरु उच्छृङ्खल बन्दै गएकै कारण नेपालीहरु जापानको बिशेष निगरानीमा छौ । यतिमात्र होईन नेपालबाट आउने उच्च तह र प्रतिष्ठित ब्यक्तिहरु समेत जापान सरकारको बिशेष निगरानीमा हुने गर्दछन् । यो अवस्था सिर्जना हुनुका पछाडि दोषी को ? बहसको बिषय हुनुपर्ने होइन र ? स्वाभिमानी नेपालीमाथि आंच आउने क्रियाकलाप दिनानुदिन बढिरहेको महसुश भईरहेको यो बिषम परिस्थितिलाई ख्याल गरेर अलिकति सचेतिकरणका काम गर्नु पहिलो आवश्यकता हो कि ?