काठमाडौं – नेपाल चिकित्सक संघले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले तुरन्त निर्णायक वार्ता नगरे पुनस् कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । चिकित्सक संघले डा. केसीको जीवन रक्षाको अपिल सहित ठोस कदम चाल्न सरकारलाई चेतावनी दिएको हो ।
बाढी पहिरोका कारण उत्पन्न आपतकालीन परिस्थितिलाई ध्यानमा राखी संघले आकस्मिक बाहेकका सेवा बन्दको विरोध कार्यक्रम भने स्थगित गरेको थियो । तत्काल वार्ता गरेर डा केसीको माग सम्बोधनमा ठोस पहल गर्न आह्वान गरेपनि सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै संघले आपत्ती जनाएको छ ।
चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले माग सम्बोधनका लागि सार्थक पहल नहुँदा डा. केसीको स्वास्थ्य गम्भीर मोडमा पुगेको बताउनुभयो । आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय स्थगन गरेपनि सरकार माग सम्बोधनका लागि सुस्त देखिएको डा. श्रेष्ठले बताउनुभयो ।
डा.केसीले ११ औं पटक अनशन सुरु गरेको आज २३ औ दिन पुग्दा पनि सरकारले आवश्यक पहल गरेको पाईदैन । डा. केसीको स्वास्थ्यस्थिति जुनसुकै समयमा गम्भीर भएर ज्यान समेत जान सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।