काठमाडौं – संसदको लेखा समितिले २ महिना भित्र एनसेलबाट करबापतको बाँकी रकम तत्काल लिन सरकारलाई निर्देशन दिएको छ । एनसेलले पुँजीगत लाभकर, ब्याज र जरिवाना गरेर ६० अर्ब ७१ करोड तिर्नुपर्नेमा २३ अर्ब ५७ करोड ४२ लाख मात्र बुझाएको छ ।
समितिको आज बसेको बैठकले एनसेलले तिर्न बाँकी रकम तत्काल असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले आजियाटा र टेलियासोनेराले तिर्नुपर्ने कर, ब्याज र जरिवानाको सबै विवरण बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै, पुँजीगत खर्च बढाउन र असारे विकास रोक्न पनि समितिले निर्देशन दिएको छ ।
समितिले वैदेशिक भ्रमण धेरै भएकाले भ्रमणको विवरण पेश गर्न प्रधानमन्त्रीको कार्यालय र अर्थलाई निर्देशन समेत दिएको छ । बैठकमा अधिकांश सांसदले एनसेलबाट बाँकी कर असुल गर्न माग गरेका थिए ।