काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा बाढीले भत्काएका बाँध तत्काल बनाउने प्रतिबद्धता जनाउनु भएको छ । बाढी प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री देउवाले बाढी पहिरोको समस्यालाई सरकारले गम्भिरतापूर्वक लिएको र प्रभावितलाई प्रभावकारी राहतको ब्यवस्था गर्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुखसहित सप्तरी पुग्नुभएको हो । उहाँले डुवान प्रभावितलाई प्याकेजमा राहत उपलब्ध गराइने पनि बताउनुभयो । बाढीले बगाएको पाँचमध्ये दुई ठाउँ पोर्ताहा र भेरियामा बाँध बनाउने काम अहिले भइरहेको छ । शुक्रबार दिनभरीमा एउटा बाँध बनाइसक्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
लगातार पानी परेपछि खाडो, महुली, सुन्दरी र दूधेला खोलामा आएको बाढीका कारण तिरहुत तिलाठी कोइलाडी र रुपनी गाउँपालिका तथा कंचनरुप, हनुमाननगर र कंकालिनी नगरपालिकाका, विभिन्न गाउँका झण्डै ५ सय घर डुवानमा परेका छन् । डुवानका कारण २८ परिवार विस्थापित भएका छन् । निरीक्षणपछि प्रधानमन्त्रीले देउवाले बाढीपीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गर्नुभयो । साथै उहाँले बाढीपीडितलाई व्यापार–व्यवसाय गर्न सहुलियत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि बताउनु भएको छ ।
हेलिकप्टरमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री जनार्दन शर्मा, विभिन्न संसदीय समितिका सभापतिहरु र सप्तरीका आधादर्जन सांसद बाढी प्रभावित ठाउँ पुगका थिए ।