काठमाडौँ – उपत्यकामा रहेका २२ वटा नगरपालिका एउटै संरचना ‘मेट्रो सिटी’भित्र रहने भएका छन् । स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँ उपत्यकामा रहेका सबै नगरपालिकाको एउटै संरचना निर्माण गर्न सरकारलाई मेट्रो सिटीको प्रस्ताव गर्न लागेको हो । हाल काठमाडौँ उपत्यकामा २२ वटा नगरपालिका रहे पनि स्थानीय तहको पुनः संरचनासँगै १६ वटामा कायम हुनेछन् ।
उपत्यकामा भएका १६ वटा नगरपालिकाको एकीकृत विकास र समन्वय गर्न मूल संरचना आवश्यक भएको आयोगले महसुस गर्दै एउटै संरचनाभित्र सबै नगरपालिका अटाउने गरी आयोगले सरकारलाई प्रस्ताव गर्न लागेको हो ।
स्थानीय तह पुनःसंरचना आयोगलाई सरकारले दिएको कार्यादेश (टीओआर)मा काठमाडौँ उपत्यकाको एकीकृत तथा समन्वयात्मक विकासका निम्ति उपयुक्त संरचना निर्माणका लागि सुझाव दिनुपर्ने उल्लेख गरिएको छ । सोही अनुरूप आयोगले उपत्यकाको एकीकृत विकासका लागि एउटै संरचना निर्माण गर्ने तयारी गरेको आयोगले जनाएको छ ।
आयोगका सदस्य निरज शाहले भने, “उपत्यकामा रहेका १६ नगरपालिकाको छाता सङ्गठन काठमाडौँ मेट्रो सिटी रहनेछ । मेट्रो सिटीले उपत्यकामा रहेका १६ वटा नगरपालिकाको समन्वय गर्नेछ ।” उहाँका अनुसार मेट्रो सिटीले खासगरी १६ वटै नगरपालिकाको पूर्वाधार विकास र नीति निर्माण गर्नेछ । उपत्यकामा रहेका सबै नगरपालिका उक्त मेट्रो सिटीको मातहतमा रहनेछन् । नगरपालिकाभित्र बन्ने सडकको मापदण्ड, पर्यटकीय स्थानको छनोट, फोहोरमैलाको व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी, पुल, शिक्षालय, यातायात, उत्पादनयोग्य जमिनको संरक्षण र ऊर्जाको विकासका लागि समन्वयको काम मेट्रो सिटीले गर्नेछ ।
तपाईको प्रतिक्रिया