Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

Loknarayan subediलोकतन्त्र आज लोकमान प्रवृत्तिको प्रत्यक्ष तथा अप्रत्यक्ष अवतारहरुमै अल्झिएर हल न चलको सिकार भएको छ । महाअभियोग लगाउने र लगाइमाग्ने दुवै लोकमान प्रवृत्तिकै प्रतिरुप हुन् । भ्रष्टाचारीहरुको पारस्परिक लडाई झगडामा जनता र देश कहिलेसम्म सताइने हुन् कुनै ठेगान छैन । लोकमान प्रवृत्ति वास्तवमा सत्ताका विभिन्न महत्त्वपूर्ण अंगप्रत्यगमा बसेर लोकतन्त्रलाई बद्नाम गर्ने, त्यसको खिल्ली उडाउने, भ्रष्टाचारलाई संस्थागत गर्ने र आफ्ना विरुद्ध रहेका र रहन सक्नेहरुको मान मर्दन गर्दै रहने बिल्कुलै गलत प्रवृत्ति हो । अख्तियार प्रमुखमा लोकमालाई नियुक्त गर्नेहरु र नियुक्ति पाउने लोकमानलाई तुलामा राख्ने हो भने कोही तल माथि नहोला । तर अहिले तिनीहरू एक अर्काका विरुद्ध खनिएका छन् र आ–आफ्नो गल्ती मशसुश गर्ने भन्दा पनि त्यसलाई ढाकछोप गर्ने वा दोष एक अर्काप्रति खन्याएर आफू ‘पानीमाथिको ओभानो’ बन्ने कोसिस गरिरहेका छन् । यसरी लोक लज्जाकै लहर सर्वत्र चलिरहेको छ र लोकतन्त्र नराम्रोसँग लज्जित भइरहेको छ ।

वास्तवमा राजनीतिलाई नीतिबिहीन, नैतिकताबिहीन र सिद्धान्तहीन तुल्याएपछिको परिणति योभन्दा अर्को हुन पनि सक्तैनथ्यो र भयो नै अनि आगामी दिनमा पनि यो दुष्कृया दोहोरिइरहने छ । लोकतन्त्रमा लोकतन्त्रका निमित्त लडेभिडेका शक्तिहरूको राष्ट्र र जनताका हितमा भए गरिएका एकतालाई, उनीहरूको गठडबन्धनलाई र उनीहरू बिचको सहमतिलाई बुझ्न सकिन्छ र बुझ्नु पनि पर्दछ । तर सत्तामा पुग्न र टिक्नका लागि जे जस्ता अबाञ्छित, अमान्य र अस्वीकार्य हर्कतहरु गरिने गरेका छन्, जे जसरी भ्रष्टाचार र अपरदर्शीतालाई प्रश्रय र प्रोत्साहन दिने गरिएको छ त्यसले गर्दा नै आज लोकतन्त्र कमजोर भएर गएको छ र परतन्त्र बढेको छ । जनता र राष्ट्र कमजोर भएका छन् तर सण्डमुसुण्डहरुको चर्तिकाला र चहलपहल बढेर गएको छ । यस्ता गतिविधिले परिवर्तनको अझ आमूल र अग्रगामी परिवर्तनको प्रतिनिधित्व पटक्कै गर्न सक्दैनन् र गर्दैनन् । त्यस प्रकारका क्रियाकलापलाई जतिसुकै सिंगारपटार गरिए पनि अन्ततः ती ‘नीलो स्याल’ कै कथामा अनिवार्यरुपमा परिणत हुन्छन् भने देश र जनताको दुर्गति सीवाय त्यहाँ अरू केही हुँदैन । अहिले भइरहेको कुरा नै त्यही हो । यस कुरामा ती कोही पञ्छिन सक्ने स्थिति छैन जो सत्तामा, संवैधानिक निकायहरुमा पुगेका र बसेका छन् ।

हुन पनि जनतामा आज जुन निराशा छ, राजनीतिप्रति जुन वितृष्णा छ, राजनीतिक नेतृत्वकाप्रति जुन अविश्वास र सन्देह छ त्यो यस्तै सन्दिग्ध चरित्र र चिन्तका कारणले उत्पन्न भएको हो । जसले गर्दा जनताको दुहाइ दिनेहरु बकम्फुसे कुरा गरिरहेका छन् भन्ने यथार्थ प्रस्ट हुन्छ । जनताले प्रस्ट र ठोसरुपमा बिश्वासिलो अर्को विकल्प नपाएकाले मात्र उनीहरूले आफूले जति गल्ती गरे पनि अरू कोही आउन नसक्ने स्थिति कायम रहेको हो उनीहरूले पनि बुझेका छन् । जीवन गुजारा गर्न र धान्न जनतालाई धौ धौ परिरहेको अवस्थामा उनीहरू जनताको यो दयनीय अवस्था देखेर आर्थिक सम्बृद्धिको कुरा निकै उरालिरहेका छन् । तर भ्रष्टाचारको माध्यमबाट आफ्नै सम्बृद्धि गर्ने अनि देश र जनतालई कंगाल तुल्याउने काम उनीहरू निरन्तर गरिरहेका छन् । यो कुरा राजनीतिक दलको नेतृत्व र लोकमानहरुलाई थाहा नहुने कुरै भएन । तर सधैँ यस्तै दुर्दशाकै अवस्थाबाट जनता गुज्रिरहन्छन् भन्ने कुरा छैन । उनीहरूले आफ्नो जीवनमा, परिवारमा, समाजमा र देशमा सहज, समुन्नत र सार्थक स्थिति सिर्जना होस् भन्ने कुरा जहिले पनि चाहन्छन् । त्यसको निमित्त ढिलो चाँडो सचेत र सङ्गठित हुँदै उनीहरू लड्न र अघि बढ्न पनि चाहन्छन् । विगतका जन आन्दोलनहरुले पनि यो यथार्थलाई औंल्याएका, प्रस्ट पारेका छन् र सत्य साबित गरेका छन् ।

त्यसैले अहिले बाहिर बाहिर दुई खेमा जस्तो देखिने लोकमान र प्रतिलोकमानहरुकै सर्वत्र लहर चलेको भए पनि यो एउटै हो । तर यो दुष्परिणामदायी लहर सधैँ चल्छ भन्ने छैन भन्ने कुरा जनताले व्यवहार र अनुभवबाट निरन्तर बुझ्दै जानेछन् र त्यसबाट मुक्त हुने बाटो खोज्ने छन् । किनभने भ्रष्टाचारका कारण देश हरितन्नम हुँदै गएको छ । तर केही हिजोका हरितन्नमहरु रातारात मालामाल भएर स्वदेश तथा विदेशमा समेत ब्याङ्क ब्यालेन्स बढाइरहेका छन् । उनीहरू नव धनाढ्य र नव सामन्त बनेर आफू र आफ्ना आसेपासेहरुको जीवन सुरक्षित तुल्याइरहेका छन् तर आम जन साधारण भने दिनानुदिन जीवन गुजार गर्नै नसक्ने स्थितितर्फ धकेलिदै गएका छन् । यस्तो स्थिति किन सिर्जना भएको हो भन्ने कुरा जनताले पनि बुझ्दै जान थालेका छन् । उनीहरू भ्रष्टाचाररहीत र स्वाधीन विकासको आवश्यकता महसुस गरिरहेका छन् ।

यस्तो स्थितिमा उनीहरू आफ्ना श्रोत साधनहरुमाथि कसैको हैकम र एकाधिकार होइन नेपाली जनताको स्वामित्व र परिचालन हुनुपर्दछ भन्ने चाहन्छन् । आफ्नो देशको जमिन, जल, जङ्गल, जडीबुटी, जैविक तथा अजैबिक खनिज पदार्थ एव सम्पन्न साँस्कृति सम्पदा र सीप आफ्नै समृद्धि र समुन्नतिका निमित्त प्रयुक्त गरिनु पर्ने आवश्यकता महसुस गर्दै र त्यसको खोजी गर्दै जान थालेका छन् । यो बढ्दो जन चेतनकै द्योतक कुरा पनि हो । आज उनीहरूले विकासको अर्थ बिस्तारै बुझ्न पनि थालेका छन् । केही मुठ्ठीभर मानिसहरू मात्र होइन, आम जनता सुखी सम्पन्न र समृद्ध हुनु पर्दछ भन्ने बोध पनि गर्न थालेका छन् । यो राष्ट्रिय विकासका लागि कम महत्त्वपूर्ण कुरा होइन ।

हुन पनि अहिलेसम्म खाशगरी बितेको ६० वर्षमा विकासको जुन मोडल, प्रवृत्ति र परिणाम उनीहरूले देखे, भोगे र वास्तविकताको अनुभव गर्न पाए त्यसबाट केही नहुने रहेछ भन्ने यथार्थको ज्ञान र शिक्षा पनि उनीहरूले पाएका छन् र पाइरहेका छन् । अब विकास भन्ने कुरा पनि नेपाली जनताका लागि नेपाली जनताले गर्ने र मूलतः आफैमाथि भर पर्ने तथा सम्मानपूर्ण अन्तरनिर्भरताको नीति अवलम्बन गर्ने हुनु पर्दछ भन्ने पनि व्यवहारबाट बुझ्दै आएका छन् । हुन पनि सङ्घीय राज्य पुनर्संरचनाो सार तत्त्व भनेकै देशको विकास निर्माणमा जनताको निर्णय सर्बोपरी हुने, उनीहरूको विकास परियोजनाको छनौट, लगानी, उत्पादन, वितरण सबै क्षेत्रमा सचेत सक्रियता एवं समानता कायम राख्न र निरन्तरता दिन अग्रसर हुने संरचनाको निर्माण हो । त्यो केवल नाम र क्षेत्रको भूगोलको कुरा मात्र होइन । जन सक्रियता सक्रिय जन निगरानी बिना विकास र सम्पन्नता स्वामित्वको सम्भावना छैन । भ्रष्टहरुको हातबाट विकासलाई मुक्त गर्न यस्तो स्थिति सिर्जना गरिनु अपरिहार्य छ । आजको जनताको आधारभूत चाहना, अपेक्षा र मनसुवा नै यही हो र हुनु पर्दछ । यसबाट बिमुख भएको आजसम्मको विकास प्रक्रियाले मुठ्ठीभरको थैली भर्ने र जनतालाई कंगालीकरण गर्ने मात्र स्थिति सिर्जना गर्यो र त्यो असफल भयो ।

आज के एकदमै प्रस्ट भएको छ भने गरिबी, अभाव, असुरक्षा, बेरोजगारी र भ्रष्टाचारका कारण लोकतन्त्रले जन दिशा लिन सक्तैन र लोकतन्त्र सुरक्षित रहन पाउदैन । लोकतन्त्रलाई भ्रष्टहरु, जन दमनकारीहरु र मुठ्ठीभर कमिशनखोर शोषकहरुले आफ्नो मुठ्ठीमा पार्न चाहन्छन् र निरन्तर अहिलेको जस्तै लोकमान र प्रतिलोकमानको परम्परा कायम राख्न चाहन्छन् । यसका विरुद्ध आज सम्पूर्ण जनता सेचत, सङ्गठित, संघर्षशील र अनुशासित भएर एकताबद्धरुपमा खडा हुनुका कुनै अरू भरपर्दो र बिश्वासलाग्दो विकल्प छैन । यहीनै आजको हाम्रो राष्ट्रिय आवश्यकता र विकास पनि एक मात्र सही बाटो हो र दमनकारी र भ्रष्टाचारीहरुका विरुद्धको सङ्घर्षको मूल बाटो पनि हो ।

तपाईको प्रतिक्रिया