दसैं मात्र यस्तो चाड हो, जसले के स्वदेश के बिदेशमा रहेका नेपाली मनहरुलाई एक पटक आफ्नो बाल्यकाल र जन्मघरको स्मरण गराएरै छोड्छ । घरका बाबुआमा जतिसुकै अभावको भुङ्ग्रोमा पिल्सिएको भए पनि अबोध बाल्यकालको बेला दसैंले ल्याउने उमंग, उच्छबास र खुशीयालीको वर्णन गरेर साध्य छैन । संभवतः हरेकको जीवन भोगाईमा मेल खाने यस तथ्यले गर्दा नै दसैंले बाल्यकाल र त्यो जन्मघरको स्मरण गराउँदो हो । निलो आकाशमुनि दसैंको घमाइलो मौसम, लहलह झुलेका धानका बाला, नौरथाभरि गुञ्जिने मालसिरीको धुन, नजिकैको कोट घरमा मानिसहरुको चहलपहलले ल्याउने सबैको मनमा एक तमासको उत्साह र उर्लिने उमंगको छाल अरु बेला शायदै महशुस गर्न पाईन्छ । सहरिया जीवन रोजेकाहरु पनि दसैको बेला एक रातको लागि भए पनि आ-आफ्ना पुर्ख्यौली थातथलो फर्कन्छन् । हरेक दसैंले नेपालीहरुलाई एक पटक सुदूर अतिततिर फर्कन बाध्य बनाउँछ र आफुलाई झनभन्दा झन परिपक्व हुँदै गएको महशुस गराउँदछ ।
दसैंको बेला मामाघर जाने, टिका जमरा र दक्षिणाको अपेक्षा गर्ने, साथीभाइ मिलेर चच-हुई गर्दै रोटेपिङ र लिङ्गे पिङ खेल्ने, नजिकैको दसैमेलामा दगुर्दै गएर सबैभन्दा पहिले बेलुन र सिटी किनेर धित मरुञ्जेल फुक्ने गरेका स्मरणहरु हरेक वर्षको दसैंमा रिल घुमेझैं घुम्ने गर्दछन् । बाल्यकालको दसैंमा नयाँ लुगा र मिठो परिकार एउटा आकर्षण हो भने दसैंमा हुने राम-रमिता एवं उनीहरुलाई सबैले गर्ने माया र पाउने दक्षिणा अर्को आकर्षण हो । त्यसैले होला शायद धेरैको बाल मस्तिष्कमा दसैको छाप गहिरोसंग बसेको हुन्छ अनि हरेक वर्षको दसैंले एकचोटी बाल्यकालको स्मरण गराएरै छोड्दछ र जन्मेको थातथलो पुर्याउँदछ, भूगोलमा चाहे उ जहाँ नै रहेको किन नहोस् ।
प्रवासको दसैंको खै, के खै के ? के बेलिबिस्तार लगाउनु ? चलेको रीतिरिवाज धान्नका लागि मान्ने न हो । मान्यजनलाई वर्षको एकचोटी सम्मान गर्ने अवसर पनि हो दसैं । तर परिवारजन र मान्यजन साथमा नहुँदाको दसैंले दिने पीडा भोग्ने प्रवासीमनहरु खुशी होऊन् पनि कसरी ? अनुहारमा देखावटी हाँसो भए पनि भित्रैदेखि रमाउन सकेका हुँदैनन् उनीहरु । रहर वा बाध्यताले बिदेशमा रहेका र स्वदेश फिर्ने अझै योजना बुनि नसकेकाहरु मनमनै अर्को दसैंमा त जसरी भए पनि घर जाने संकल्प गर्दछन् तर आँखा झिमिक्क नगर्दै अर्को दसैं टुप्लुक्क आईपुग्छ, दसैंमा घरजाने योजनामा फेरि तुषारापात हुन्छ । यसरी नै वर्षौसम्म घरदेशको दसैंसंग टाढिएका परदेशीहरु संसारभर लाखौंका संख्यामा छन् । उनीहरु चाहेर पनि भनेको बेला नेपाल जान सकेका हुँदैनन् र भित्रभित्रै हरेक दसैंले उनीहरुलाई चिमोट्ने गर्दछ, चिथोर्ने गर्दछ र जिस्क्याउने गर्दछ अनि बाल्यकालको झल्याँस्स स्मरण गराउने गर्दछ, उनै गाउंघर, उनै घरआंगन, तिनै बालसखाको तस्विर आंखाभरि नाच्ने गर्दछ ।
स्कुल जान पनि नपर्ने, होमवर्क गर्न पनि नपर्ने, काम त झन गर्नै परेन, नयाँ लुगा देखाउँदै दिनभरि मनलाग्दै गाउँभरि डुल्यो, भोक लागे घर फर्क्यो गास टिप्यो फेरि बुर्कुसी मार्यो आहा, त्यस्तो पो जिन्दगी । कहाँको त्यो बाल्यकालको दसैं र कहाँको यो प्रवासको निरसिलो र बिरसिलो दसैं ? तुलना हुनै सक्दैन । दसैं मनाउनुको मजा बेग्लै हुन्थ्यो त्यतिबेला । दसैं आउनु अगावै मनमिल्ने र खुरुखुरु भनेको मान्ने भुराहरुको एक हुल बनाईन्थ्यो त्यसको नाइके आफै भएर प्रशासन लगाईन्थ्यो, बिमति राख्नेहरुलाई तत्काल अवकाश दिईन्थ्यो। अर्को हुलसंग भिड्नुपर्यो भने अरुलाई पठाईन्थ्यो आफु भने कमाण्डरको भूमिकामा उपरखुट्टी लगाएर आदेश दिईन्थ्यो । भुराहरुले कहिले जितेर स्याबासी पाउँथे भने कहिले हारेर पिटाई खाएका बिचराहरुले उल्टै सजायँ पाउँथे ।
गुम्सिएको साँगुरो कोठा, दिक्कलाग्दो एकनासको दैनिकी, कता कताबाट संयोगले भेटिएका-जुरेका भाइसाथीहरु, बिरानो रस्ती-बस्ती, जति नजिक हुन खोजे पनि नजिक हुन नसकिने तर नजिक नभई पनि नहुने अनौठो सम्बन्ध, खोजखाज पारेर, टालाटुली बटुली कति राम्रो पुतली भनेझैं गरेर बनेको अस्थायी सर्कल यस्तै यस्तै परिवेशमा प्रवासको जिन्दगी गुजुल्टिएको हुन्छ प्रायःको । आफन्त र बिरानोको स्वाद र मापन त्यतिखेर थाहा लाग्दोरहेछ जतिबेला जीवनमा गहिरो चोट लाग्छ, चाहे त्यो शारीरिकरुपमा होस् या भावनात्मक, त्यो चोट बुझिदिने र सुनिदिने प्राणी नजिकमा कोही नहुँदा जीवन साह्रै बिलखबन्दमा परेजस्तो महशुस हुँदोरहेछ । दसैं पनि हो त्यस्तै एक प्रकारको चोट बनेर आईदिन्छ वर्षैपिच्छे एक पटक, तर सहेर बस्न बाध्य छौं हामी प्रवासी, भित्रभित्रै विरक्तिए पनि बाहिर रुञ्चे हाँसो हाँसेर भएर पनि जगतसामु राम्रो देखिन कोशिस गरिरहेका हुन्छौं ।
हुन त मान्छे जहाँ खुशी हुन्छ त्यतै रमाउने हो, भुल्ने हो । तर बिडम्बनाको कुरो हामी औसत नेपाली न त स्वदेशमा रम्न सक्यौं न त बिदेशमा जम्न सक्यौं । यो खाँती कुरा हो कि, हामी न त घरको ढिडों न त गोठको खीर बनिरहेका छौं । अर्कोतिर न त कुनै एक बिषयमा दखल छौं न कुनै एक भाषामा, सबैकुरामा जानकार राख्ने तर पूर्ण कुनैमा पनि नहुनु हामी औसत नेपालीको बिशेषता हो । थोरै साहित्य, थोरै संगीत, थोरै राजनीति, थोरै पत्रकारिता, थोरै बिश्लेषक, थोरै ब्यवसाय, थोरै भए पनि खेलकूद, थोरै समाजसेवा, थोरै धर्मकर्म-दानपूण्य तर पूर्णरुपमा कुनैमा पनि नहुँदा हाम्रो दिनचर्या परिणाम शून्य फोगतको ब्यस्त मात्र बन्न पुगेको छ, जसले गर्दा जीवन भोगाईलाई सकस बनाईदिएको छ । यो खालको सकसले अरु सिर्जनात्मक सोचहरुको उत्पादनमा बाधा पुर्याईरहेको छ । प्रवासीको दसैं पनि ठिक त्यसरी नै आफैले रचेको गोलचक्करमा फसेको प्रतीत हुन्छ । यो गोलचक्करबाट माथि उठ्न कि त ठूलै प्रलयकारी परिवर्तन हुन पर्यो, कि त भने साहसिक निर्णय गर्नुपर्दछ भन्ने लाग्दछ ।
सन्दर्भ दसैंकै, जापान प्रवासका नेपालीहरु निधारमा टिका र कानमा जमरा घुसारेर चोसो पसार्दै खिचेको सेल्फी फोटोले फेसबुक रङ्ग्याएको जस्तो उनीहरुको वास्तविक दसैं रंगिन छैन । काम र दामको राप र ताप अनि चापसंग घरपरिवार हुनेहरु घरपरिवार र नहुनेहरु रुमपार्टनरसंगको बिदाको तालमेल, आ-आफ्ना खाइखेल्ने गरेका सर्कलसंगको समय र समन्वय आदि सबैको तारतम्य मिलाउन त्यति सजिलो छैन जापानमा । दसैं आएको जनाउ दिन फेसबुकका वालमा जिउँदा खसीको फोटो पोष्ट गरिए पनि, धेरैको चुल्होमा आइपुग्ने भनेको लामो समयदेखि फ्रोजन गरिएको अष्ट्रेलियन भेंडाका मासु नै हुन् । कानुनतः जापानमा मासुका लागि होस् या अरु कुनै प्रयोजनले कुनै पनि पशुपंक्षी बिना अनुमति काटमार गर्न बर्जित छ । यस्तो मुलुकमा बसेर आफैले खसी काटेर ताजा मासुको रटान गर्नु जगत हँसाउने कुरा मात्र हुन् । त्यसैले जसरी सोचे पनि प्रवासको दसैं परम्परा धान्नका लागि र औपचारिकता पुरा गर्नका लागि मात्र मानिदै आएका हुन् । कसैले आधारातमा, कसैले भोलिपल्ट र कसैले फेसबुकमा पोष्ट गर्नका लागि आफैले टिका लगाएर दसैं मनाएको सन्देश दिने प्रचलन बढेपनि त्यसबाट प्राप्त हुने सन्तुष्टि र दसैं मनाउनुको खास मजा लिन सक्ने कुरै भएन । जसरी सकिन्छ त्यसरी मनाईनु राम्रो मानिए पनि, प्रवासको दसैं, के दसै ? दसैं जस्तै लाग्दैन, च्वास्स बिझाउने गरी आउँछ, गिज्याएर भाग्छ, अनि अतितको क्षितिजतिर फर्केर एकोहोरो सोच्न बाध्य बनाउँछ, यस्तै यस्तै छ, प्रवासको दसैं खै के, खै के भनेजस्तै ।