काठमाडौं – एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पञ्चकन्या तेजले विशाल वारियर्सलाई दुई विकेटले हराएको छ । अन्तिम खेल अघि नै फाइनलमा पुगिसकेको पञ्चकन्याले अन्तिम खेलमा विशाललाई पनि हराएर सबै खेल जितेको छ ।
किर्तिपुर मैदानमा शुक्रबार भएको दोस्रो खेलमा विशाल वारियर्सले टस जितेर ब्याटिङ रोजेको थियो । विशालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनायो । १ सय ४३ रनको लक्ष्य पञ्चकन्याले २० ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
पहिले ब्याटिङ गरेको विशालका लागि सागर पुनले ३८ बलमा ४४ रन, पारस खड्काले १७ बलमा २७ रन, मन्जित श्रेष्ठले ३५ बलमा ४० रन बनाए । पञ्चकन्याका सुशिल कँडेल र भुवन कार्कीले दुई दुई विकेट लिए । यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
पञ्चकन्याका पृथु बाँस्कोटाले २२ बलमा २४ रन, आरिफ शेखले ३४ बलमा ४७ रन, सोनु तामाङले ६ बलमा १४ रन बनाए । विशालका दिपेश श्रेष्ठले ४ विकेट लिए । यस्तै रामनरेश गिरीले दुई साथै सुशन भारी र सागर पुनले एक एक विकेट लिए ।
शुक्रबार नै भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सले सुपर ओभरमा जगदम्बा राइनोजलाई हराएको थियो ।