लालबाबु पण्डित एउटा यस्तो नाम जसको नाम लिएपछि नचिन्ने सायद कोहि छैनन । अरु भन्दा फरक आफ्नो लागि होईन देशका लागि केहि गर्छु भनेर अगाडि बढ्नुभएका ब्यक्ति हुनुहुन्छ पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित। सुशील कोइराला नेतृत्वको सरकारमा एमालेबाट सामान्य प्रशासन मन्त्री भएर उहाँले देश र जनताका लागि थुप्रै राम्रा काम गर्नुभएको छ । उहाँ हाल नेकपा एमालेका पोलिटब्युरो सदस्य पनि हुनुहुन्छ । उहाँले मन्त्री रहँदा गरेका बिभिन्न कामहरु र उहाँका केहि ब्यक्तिगत कुराहरु खोतल्ने प्रयास गरेका छौ । प्रस्तुत छ – समुद्रपारिकर्मी गोबिन्द मरासिनीले पूर्व मन्त्री पण्डितसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :
आजभोली गुमनाम हुनुभो भो नि कता हराउनुभो ?
म सामान्य प्रशासन मन्त्री भएका बेला राष्ट्रिय रुपमै खासगरी निजामती सेवा ऐनको चौथो शंसोधनलाई लिएर बहस शुरु भयो । त्यसँगै बिदेशमा रहेका नेपालीहरुको बहसले पनि ठाउँ लियो । अब त्यो बिद्येयक पारित भएर कार्यान्वयन भैसकेको र संबिधानको २९१ धारामा लागु पनि भैसकेको र सरकार परिवर्तन भएर नयाँ सरकार बनिसकेपछि स्वभाविक रुपमा त्यतिखेर नयाँ बिषयबस्तु र मन्त्री पदमै रहेकाले अलि बढि सबै ठाउँमा अझ भनौ केन्द्रदेखि चियापसलसम्मै चर्चा थियो । त्यसले परिणाम ल्याइसकेपछि, अहिले पूर्वमन्त्रीको रुपमा र नेकपा एमालेको पोलिटब्युरो सदस्य पनि छु । पहिला मन्त्री हुँदाको जस्तो चर्चा त नहुने नै भयो । तर पनि पार्टीको काम र जनताका बीचमा पनि बिभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै आएको छु । सकारात्मक सोचका साथ देश र जनताप्रति लागिरहेकै छु । मलाइ अनुभुति भएअनुसार मन्त्री हुँदा जति ब्यस्त हुने गर्दथे त्यसको २५ प्रतिशत चाहिँ कम ब्यस्त छु र त्यो स्वभाविक पनि हो । यसबाहेक म जनता र तपाईहरु सञ्चारकर्मीकै साथमा छु ।
मन्त्री रहँदा यँहाले गरेका मुख्य कामहरु ?
मैले मन्त्री हुँदा निजामती सेवा ऐनको चौथो शंशोधनमा मुलतं तीन बिषय थिए । एउटा बिशिष्ट श्रेणीमा पुगेपछि जुनसुकै ब्यक्तिले पदको जिम्मेवारी सम्हाल्ने चलन थियो । त्यसबेला लोकसेवा आयोगका सचिव आलुमा बिज्ञता हासिल गरेका ब्यक्ति थिए, अन्य कतिपय ठाउँमा प्रशासन चलाउनेहरु पशु डाक्टर थिए । मैले ती कुरालाई ६ वटा कुरामा बिशिष्टीकरण गरिदिएर सबै मान्छे सबै काममा होईन जो जे मा बिज्ञ छ, त्यो काम मात्र गर्न पाउने ब्यबस्था गरियो । द्रोस्रो डिभी र पीआरसँग जोडिएर नेपालको मानिसले आवासीय अनुमति लिनु आवश्यक छैन, सामान्य भिजामा गए पुग्छ भन्ने ब्यबस्था पनि लागु गरियो । त्यसमा पनि बढी राष्ट्रसेवक कर्मचारी जसले देशका लागि केहि गर्छु भनेर सरकारी सेवामा लागेका छन् तीनिहरुमा बढी लागु गराईयो । र अर्को चाहिँ सरकारी सेवामा पनि रहने र प्राईभेट पनि सेवा गर्ने तर सरकारीमा समय नदिने प्राइभेटमा मात्र काम गर्ने ब्यवस्थालाई पनि लगभग अन्त्य गरियो । अर्को छात्रबृत्तिमा पढ्न जाने कति समयको लागि गएको हो त्यसको ३० दिनपछि हाजिर हुनुपर्ने र नभए कारबाही गरिने योजना पनि बनाईयो । अर्को मुख्य समस्या सबै कर्मचारी काठमाडौंमा थुप्रने कर्मचारीलाई आ-आफ्नो कार्यथलोमा पुर्याउने र भीडभाड हुने कार्यालयहरुमा २ सिफ्टमा कार्यालय सञ्चालन गर्ने पनि ब्यबस्था पनि गर्यौँ । त्यससँगै थप कार्यालयहरु झण्डै १६० थपियो पनि । श्रमको अवधारणा विदेशमा रहेका नेपालीहरुलाई १० बर्ष भित्र विदेशमा रहेका नेपालीलाई १० बर्ष भित्र नेपाल फर्काउने योजना पनि मेरै हो । अर्को अबैद्य हुण्डी र रेमिट्यान्सका बिषयमा पनि काम त थालियो तर त्यो प्रक्रिया मै रहृयो । कार्यालय बाहेकको समयमा ट्रेड युनियन चलाउने पनि बनाईयो । सरुवाको पनि मापदण्ड बनाएर ब्यबस्थित गरियो । पूर्व बिशिष्ट ब्यक्तिलाई एउटा सल्लाहकार मानेर कार्यालय पनि बनाईयो ।
यहाँले सरकारी अफिसमा शुरु गरेको बिहानी सेवा अहिले बन्द भयो भनिन्छ नि हो ?
मलाइ लाग्छ, सबै ठाँउमा शुरु गरेका बिहानी सेवा बन्द भएका छैनन् तर केहि ठाउँ बन्द भएका होलान् । हामीले भीडभाड हुने र ब्यबस्थापन गर्न गाह्रो हुने कार्यालयहरुमा सेवा बिस्तार गरेका थियौं ।
मन्त्री हुँदा यहाँले थुप्रै राम्रा काम गर्न खोज्नुभो तर तपाइलाई आफ्नै पार्टीका नेताहरुले पनि समर्थन गरेनन् भन्छन् नी ?
नयाँ बिषयबस्तुमा काम गर्न शुरु गर्दा पक्ष र बिपक्षमा बाँडिने कुरा स्वभाविक नै हो । मैले देशबासी र जनताको ब्यापक समर्थन पाएकाले शुरुमा केहि बिरोध भए चाहे त्यो बिरोध आफ्नै पार्टीबाट चाहे अन्य तर पछि बिस्तारै समर्थन पाउँदै गए । त्यतिबेला ब्यक्तिगत रुपमा रिस राख्ने बिफल हुँदै गए र अहिले छैनन् होला यदि भएपनि निकै कम मात्र ।
यहाँले डिभी र पीआरवाला कर्मचारीको छानबीन गर्नुभो त्यस्ता कार्य गर्दा कतैबाट धम्की पनि आए की ?
मैले गलत काम गर्नेलाई दण्डित गर्ने काम शुरु गरे । जुन परिवर्तनको योजना बोकेर अघि बढे जुन जनताको चाहना थियो । जनताको चाहना अनुसारको काम गर्न खोजेकाले ब्यापक रुपमा समर्थन र चर्चा नै पाए । तर कहि कतै बिरोध भएपनि बिरोध गर्नेहरु ओझेलमा परे । त्यतिबेला कारबाहीमा पर्ने केहि ब्यक्तिहरुबाट ज्यान मार्छु सिध्याइदिन्छु भन्ने धम्की त आएकै हो ।
तपाइको बिचारमा आम नेपाली जनताले खोजेको नेपालको प्रशासन कस्तो होला ?
हाम्रो प्रशासन क्षमता अन्तर्राष्ट्रिय स्तरको भए पनि लागु भने भएन । नेपालका कर्मचारीहरु नै जनताप्रती उत्तरदायी भएनन् खाली ‘सरकारी काम कहिले जाला घाम’ भन्ने पट्टी लागे । यी र यस्ता कुराहरुलाई निरुत्साहित गरेर कार्यान्वयनमा लागे जनतालाई सहज हुन्छ ।
तपाईले शुरु गरेका कामहरु सफल बनाउन कति बर्ष मन्त्री हुनुपर्थ्यो जस्तो लाग्छ ?
परिवर्तन भनेको निश्चित समयमै गर्न सकिन्छ भन्ने होईन । परिवर्तनका लागि निरन्तरता चाहिन्छ । जुन समयमा मेरो लक्ष्य थियो त्यो पुरा गरे । तर नयाँ कामका लागि समय पाउँदा नयाँ बिषय चाँहि ल्याउनुपर्छ । यदि सकारात्मक सोचियो भने परिवर्तन सम्भव छ । तर परिवर्तन एक ब्यक्तिले मात्र गरेर हुने होईन, सबै ब्यक्ति आ-आफ्नो ठाउँबाट लाग्नुपर्छ ।
कुनै ब्यक्ति मन्त्री रहँदा राम्रा काम गर्न सक्ने कुनै हुँदा गर्न नसक्ने किन होला ?
ब्यक्तिको अलग अलग क्षमता हुन्छ । हिजोकाले के गरे जनताले बुझेकै स्थिति छन, म पछिका ले के गरे पनि जनताले बुझेकै छन् र मैले के गरे भन्ने आम जनताले बुझेकै छन् । मैले मेरो समयमा देश र जनताका लागि जे गरे त्यसलाई जनताले सकारात्मक रुपमा लिएको पाएको छु ।
तपाई एकदम सरल सोझो देखिनुहुन्छ, सरल सोझो हुँदा त काम गर्न गाह्रो हुनुपर्ने हैन र ?
मैले भन्ने गरेको छु, जिउ ठुलो, ज्याङगो हुँदैमा र महँगो चिज खादैमा, महँगो गाडी र महंगो सुबिधा सम्पन्न घरमा बस्दैमा त्यसै अनुसार दिमाख बन्छ भन्ने लाग्दैन । इतिहासमा हेर्ने हो भने पनि साधारण ऋषिमुनिहरुले नै राम्रा बिचारहरु ल्याएका छन् । राजनीतिमा पनि परिवर्तन र सकारात्मक त्याग गर्नुपर्छ मानौ न गौतम बुद्व जसले दरबार छाडेर त्याग र तपस्या नगरेको भए उनका बारे कसलाई थाहा हुन्थ्यो र ? गौतम बुद्व पनि सरल र सोझो नै थिए हैन र ? मैले पनि जनताका लागि केहि गर्ने सोचका साथ अघि बढे । मलाई धेरै राम्रो मान्छे बनाउन नसकेपनि एक असल नेपाली भन्ने चाहि बनाएको छु ।
मन्त्री बन्दा घर जग्गा बनाउने सपना देख्नुभयो कि देख्नुभएन ? यहाँले मन्त्री पद छाडेपछि केहि पनि सेवा सुविधा लिनुभएन भनिन्छ नि ?
मैले नेपाल बनाउने सपना देखें । म बारम्बार भन्ने गर्छु – ‘जननी जन्मभूमिश्च स्वर्ग दपी गरियसी’ यसलाई खाली उखानमा मात्र नभई ब्यबहारमा पनि लागु गर्नुपर्छ । नेपाल कसरी समृद्वि र सुखी बन्छ भन्ने सोच्ने गरौं । मैले कुनै सुबिधा नलिई टेम्पो र बसमै हिड्दा म सन्तुष्ट छु । ४० बर्ष देखि म काठमाडौंमा भाडामा बस्दै आएको छु । मैले गलत गरेर महल बनाएको भए यसले पनि जनतालाई लुट्यो भन्ने मात्र पर्थ्यो । मैले कुनै पनि अपराध गरिन, भन्ने अनुभुति हुन्छ । जनताले पनि मलाई पूर्व मन्त्री मसँगै हिडिदिन्छन् भन्दा गर्व गर्छु मेरो जे हैसियत छ म त्यै अनुसार अगाडि बढ्छु र अहिले जनताले जे प्रयोग गर्छन् म पनि त्यै नै प्रयोग गर्छु।
४० बर्ष देखि भाडामै बस्छु भन्नुभो आम नागरिक भाडामा बस्दा त निकै समस्या पर्छ । भाडामा बस्दाका समस्याहरु चाहि के छन् ?
जीवन भनेकै संघर्ष हो । संघर्ष गर्दा सुख मात्र हुँदैन दुख पनि हुन्छ । भाडामा बस्दा समय समयमा भाडा बढ्ने, पानीको समस्या हुने, साघुरोपन हुने, भिडभाड हुँदा पनि सचेत हुनुपर्ने, अरुको बिश्बास जितेर बस्नुपर्ने लगायतका समस्या त छन् नै सबैले एक अर्काको समस्या बुझ्दा केहि सहज भने हुन सक्छ । आफ्नै सानो कटेरो हुँदा सहज अनुभूति चाँहि हुन्छ तर नसक्नेले जबरजस्ती बनाउनुपर्छ भन्ने चाहिँ होईन ।
भाडा चाहि कति तिर्नुहुन्छ ?
९ हजार तिर्छु, अरु सबै गर्दा अलि बढी नै हुन्छ ।
मन्त्रीमा रहँदा पारिवारिक सहयोग कस्तो रहृयो ?
– मैले पूणरुपमा पारिवारिक सहयोग पाएको थिँए । र मैले मेरो ब्यक्तिगत काममा कसैको हस्तक्षेप स्वीकार्दिन पनि ।
लालबाबु पण्डितलाई आफ्नै पार्टीको प्रधानमन्त्री हुँदा किन मन्त्री बनाइएन ?
मन्त्री बनाउने नबनाउने भन्ने कुरा नेतृत्वले सोच्ने हो । मैले म सँधै मन्त्री बन्छु भनेर सोच्दिन पनि र सोच्नु पनि हुँदैन तर जनताले चाँहि राम्रो काम गर्नेलाई अवसर दिए देशले फड्को मार्छ भन्ने चाहि सोच्छन् ।
पार्टीको भित्री गुट उपगुटले त हैन नि ?
नेपालमा थरिथरिका अन्तरबिरोध छन् । पार्टीभित्र पनि छन् र अन्य ठाँउमा पनि छन् । म गुटलाई बिश्बास गर्दिन र कुनै गुट उपगुटमा छैन र बिश्बास पनि गर्दिन । जसले देश र जनताको भलाई हुने एजेण्डा ल्याउछ म त्यसैको समर्थन गर्छु म कसैको अन्धभक्त भएर लाग्दिन । यदि कसैले मलाई अन्धभक्त ठान्छ भने म देश र जनताको लागि मात्र हो ।
तपाईले मन्त्री पदमा राम्रा र उत्कृष्ट काम गर्नुभो भनेर सामाजिक सञ्जालमा फेरी पनि लालबाबुलाई मन्त्री बनाउनुपर्छ भनेर अभियान नै थालिएको छ यस्तो माग हुँदा तपाईलाई कस्तो लाग्छ ?
म फेसबुक चाहिँ हेर्छु तर प्रतिक्रिया त्यति दिन्न । सामाजिक सञ्जालमा हेर्दा मेरो कामले जनतामा सकारात्मक छाप परेको रहेछ भन्ने अनुभूति चाहिँ हुन्छ । जसले मलाई स्वभाविक रुपमा खुशी लाग्छ ।
लालबाबु भन्दासाथ तपाईको रुप झल्कन्छ, यो सुन्दर नाम चाहि कसले राख्यो ? अर्थ के हुन्छ ?
बच्चामा परिवारका सदस्यले नै नाम राख्नुभयो । यो नामको धेरै मान्छे पाईन्न । लालबाबु भन्दा चाहि मायालाग्दो बच्चा भन्ने बुझिन्छ । लाल भनेको रातो धेरैले मन पराउने र बाबु भन्नाले बच्चा भन्ने बुझिन आउँछ । जसमा रातोलाई राम्रो मानिन्छ । परिवारले मात्र नभई देश र जनताले पनि मायालाग्दो लालबाबुले केहि गर्न खोज्यो भनेर माया गरिरहनुभएको छ ।
अन्त्यमा केहि भन्नु छ कि ?
प्रत्येक नेपालीले नेपाललाई नबिर्सौ । प्रकृतिले हामीलाई सबथोक दिएको छ तर हामीले धेरै बनाउन बाँकी छ । सकारात्मक सोचका साथ देश निर्माण र परिवर्तनकारी सोच लिएर देशलाई सुखी र समृद्ध नेपाल बनाउने दिशा तर्फ आफ्नो ठाउँबाट पाईला चालौ नेपाललाई नयाँ पहिचानको आवश्यकता छ । अहिले खाली नेपाल अरुको दिएको लिनका लागि हात थाप्ने नेपाल भनेर चिनिन थालेको छ, युवा बिदेश पलायन हुने देश भनेर चिनिन थालेको छ, अब देशलाई नयाँ पहिचान र बनाउँदै नेपाल मागेर नभई आफै बनाउछु, मैले नगरे कसले गर्छ भन्ने जिम्मेवारी बहन गर्दै सकारात्मक सोचमा अघि बढौं भन्ने मेरो आहृवान हो । यसमा म पनि सहभागी हुन्छु भन्ने कसैलाइ लाग्छ भने सहभागी भएर लाग्नुस नेपाल पक्कै पनि सुखी, शान्त र समृद्ध बन्छ । ***