Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

ofuroजापानमा ज्वालामुखी पहाडहरु प्रशस्त भएको हुनाले त्यहाँबाट निस्कने मुलहरुबाट बग्ने तातोपानीलाई पोखरी बनाई कम तापक्रममा लगेर नुहाउने चलन परापूर्व कालदेखि नै चल्दै आएको पाइन्छ । यसरी तातोपानीको आहाल वा पोखरीमा नुहाउने कार्यलाई जापानमा ओफुरो पस्ने भनिन्छ । विस्तार विस्तार सहरीकरण र औद्योगिकरण हुँदै गएपछि प्राकृतिक ओफुरोमा नुहाउन जाँदा लाग्ने समय र महङ्गो पर्ने भएको हुनाले त्यसको बैकल्पिक ब्यवस्था गर्न थालियो । त्यसै अनुरुप जापानमा हरेक टोलमा र्सवसाधारणले नुहाउने सार्वजनिक ओफुरोको सुरुआत भएको पाइन्छ ।

जापानको साम्राज्यबादी कालमा सेनाहरुले सामुहिक रुपमा नुहाउने चलन चलेको थियो । एउटा स्नान कक्षमा भित्तामा थुप्रै धाराहरु जडान गरिएको हुँदा एकसाथ ठूलो तातोपानीमा रह अर्थात पोखरी बनाई छालाको रोगबाट बच्नका लागि त्यसमा रासायनिक पदार्थ मिश्रण गरी प्रयोग गरिन्थ्यो । यसलाई आधुनिककरण गरी केही सम्पन्न परिवारहरुले यस किसिमको ओफुरो सिमेन्टको प्रयोग गरी केही घरमा नै बनाउन थाले । आजकल सुविधाजनक रुपले हरेक घरभित्र हरेक फ्ल्याटमा कोठाको आकार अनुसार ओफुरो कक्षको भित्तासंग मिल्ने गरी प्लाष्टिकबाट बनेको ओफुरो अर्थात गहिरो ट्युब जडान गरिन्छ । त्यसमा ग्याँसबाट तातेर तातोपानी आउने गरी पानीको पाइप ओफुरोमा जोडिएको हुन्छ । ओफुरो पस्नुभन्दा अघि ओफुरो तातोपानीले भरिन्छ । यो चलन जापानमा अत्यधिक रुपमा रहेको छ ।

घर भित्र र घर बाहिर (Indoor and Outdoor) डुब्ने हिसाबले ओफुरो घरायसी ओफुरो, सार्वजनिक ओफुरो, रोतेम्बुरो तथा ओन्सेन गरी चार प्रकारका रहेका छन् ।

घरायसी ओफुरो
अन्य देशहरुमा नुहाउनका लागि प्रायः हरेक घरमा धारा वा शावर हुने गरे झै जापानमा हरेक घरमा घरायसी ओफुरो रहेको हुन्छ । घरायसी अर्थात व्यक्तिगत ओफुरो विशेष प्रकारको प्लाष्टिकबाट प्रायः चारकुने आकारमा गहिरो पोखरी जस्तो बनाइएको हुन्छ । घरमा ग्यासद्वारा पानी तताउने यन्त्रहरु जोडिएको हुन्छ । तातोपानीको धारा खोल्नासाथ स्वचालित रुपले ग्यास बल्दछ र तातोपानी ट्यूबमा भरिन्छ । त्यस पछि विशेष प्रकारको सुगन्धित धुलो हालिन्छ । आफ्नो घरमा भएको ओफुरोको क्षमता अनुसार परिवारका सदस्यहरु पालैपालो अथवा एकैचोटी नांगै डुब्दछन् । ओफुरोमा डुबेर निस्केपछि सपरिवार खाना खाने, घरायसी छलफल गर्ने, टिभी हेर्ने आदि गरिन्छ । दिनभरिको निरन्तर कामको थकावटलाई ओफुरोमा डुबेपछि निकै आनन्द मिल्छ । यही कारणले गर्दा हरेक दिन मेसिनले झैं काममा जोतिने जापानीहरु साँझ घर र्फके पछि दैनिक नियमित रुपले ओफुरो डुब्ने गर्दछन् ।

सार्वजनिक ओफुरो
जापानका हरेक टोल टोलमा सार्वजनिक ओफुरो रहेका हुन्छन् । खासगरी आफ्नो घर वा डेरामा नुहाउने सुविधा नभएकाहरुका लागि यसप्रकारको सार्वजनिक स्नानघरको ब्यवस्था गरिएको देखिन्छ । तर घरका ओफुरो भएकाहरु पनि खुल्ला र विशेष वातावरणमा नुहाउन नियमितरुपमा सार्वजनिक ओफुरोमा आउने गर्दछन् । सार्वजनिक ओफुरोलाई जापानीहरु सेन्तो पनि भन्दछन् । यसप्रकारको ओफुरो ब्यवसायिकरुपमा सञ्चालन गरिएको हुन्छ । हाल सार्वजनिक ओफुरो पसेबापत प्रति ब्यक्ति ४६० येन शुल्क लाग्दछ । यो सार्वजनिक ओफुरो घरमा प्रवेश गर्नुभन्दा पहिला जुत्ता र छाता राख्नका लागि चाबी लगाउने बाकसहरु हुन्छन् । आफुले लगाएको जुत्ता त्यस बाकस भित्र राखेर चाबी आफुले लिएर जानुपर्दछ । सार्वजनिक ओफुरोमा महिला र पुरुषको छुट्टाछुट्टै खण्ड रहेको हुन्छ । प्रवेशद्वार र काउन्टर पुरुष र महिला खण्डको ठिक बिचमा रहेको हुन्छ । काउन्टरमा प्रायः एकजना महिला कर्मचारी रहेका हुन्छन् । काउन्टरमा रहेका कर्मचारीले काउन्टरबाट महिला तथा पुरुष दुबै खण्डमा नांगै नुहाइरहेका सबैलाई देख्न सक्दछन् । काउन्टरमा ओफुरो महशुल तिरेपछि महिलाहरु महिला ओफुरो कक्षतिर र पुरुषहरु पुरुष ओफुरो कक्षतिर प्रवेश गर्दछन् । प्रवेश गरेपछि हरेकले आफ्ना सम्पूर्ण लुगा फुकालेर सानो दराजभित्र राखी चाबी लगाइन्छ । नुहाउँदा प्रयोग हुने बाथ टावल, स्याम्पू, बोडी शप, दाह्री काट्ने रेजर, नुहाउदा पिठ्यूं कनाउने खस्रो रुमाल आफैले लिएर जानुपर्दछ । यदि साथमा लिएर गएको छैन भने पनि सोहि ठाँउमा खरिद गर्न पनि सकिन्छ । ती सबै सामानहरु प्लाष्टिकको सानो बाटा अथवा बास्केटमा आफुलाई नुहाउँदा चाहिने सम्पूर्ण सामानहरु राखेर स्नान कक्ष (ओफुरोभित्र) प्रवेश गरिन्छ । स्नान कक्षमा उठेर नुहाउने र बसेर नुहाउने दुई किसिमका धाराहरु राखिएका हुन्छन् । बसेर नुहाउनेहरुका लागि बाटुलो तर अलिकति लामो प्लाष्टिकको पिर्काहरुमा बसी नुहाईन्छ । अगाडिपट्टी ऐना राखिएको हुन्छ । शरीरमा भएको फोहोरमैला फालेर अविरल तातोपानी बगेर आइरहने रहमा डुबेर नुहाईन्छ । रहहरुमध्ये एउटा चिसो पानीको, एउटा तातो पानीको र अर्को चर्मरोगीहरुको लागि प्रयोग गरिने रासायनिक पदार्थ मिसाइएको तातोपानीको रह हुन्छ । यो रहमा तातो पानी बग्ने ब्यवस्था मिलाइएको हुदैन । तातोपानीको रहहरुमा विद्युतीय शक्तिद्वारा पिँधमा रहेको प्वालबाट शक्तिशाली हावाले फालेको पानीको फोहोरानिर बसी शरीरको मसाज गरिन्छ । ओफुरो व्यबसायको क्षमता अनुसार विभिन्न किसिमको बनाइएको हुन्छ । सुतेर नुहाउने ओफुरोको व्यवस्था पनि गरिएको हुन्छ । कुनैकुनै ओफुरोमा साउना अर्थात तातो पानीको बाफ मात्र आउने कोठामा बसेर गरिने स्नान पनि राखिएको हुन्छ । ओफुरोमा नुहाउने काम सकिएपछि रुमालले पुछि कपडा लगाएर ईच्छा भएमा विश्राम कक्षमा गएर टेलिभिजन हेर्ने, बिशेष कुर्चीमा बसेर शरीर मसाज गर्ने, भेण्डिङ मेशिनमा बेच्न राखिएको चिसो पेयपदार्थ पिएर आनन्द लिने आदि गर्न सकिन्छ ।

रोतेम्बुरो
यस प्रकारको ओफुरो घर बाहिर बनाइएको हुन्छ । बिशेष गरेर होटल र रयोकान अर्थात जापानको परम्परागत शैलीमा काठबाट बनाइएको हुन्छ । विशेष गरेर होटेलहरुमा रोतेम्बुरो बनाइएको हुन्छ । यस किसिमको ओफुरो खुलास्थानमा प्राकृतिक खालको हुन्छ । रोतेम्बोरोमा डुबेर बाहृय दृश्यहरु हेर्न सकिन्छ । यस प्रकारको ओफुरो जापान ग्रामीण क्षेत्रमा बढी पाइन्छ । जापानीहरु आफ्नो कम्पनी वा कार्यालयबाट छुट्टी मनाउन जांदा यस्ता ओफुरो बढी प्रयोग गर्दछन् । रोतेम्बुरोको निश्चीत शुल्क तोकिएको हुन्छ । अधिकांश होटेल तथा रयोकान व्यवसायीहरुले आफ्ना ग्राहकहरुलाई निःशुल्क व्यवस्था गर्दछन् । रोतेम्बुरो भएका होटेल तथा रयोकानहरुमा जाडोको बिदामा भिड हुन्छ । रयोकान जापानी परम्परा अनुसारका परिकारहरु बनाएर राखिएको हुन्छ । बिशेष गरेर सहरी क्षेत्रमा नपाइने अथवा साह्रै कम पाइने परिकारहरु पाइन्छ । यी परिकारहरु अत्यन्तै ताजा, स्वादिलो र परिमाणमा कम हुन्छन् । जापानीहरु बिदेश भ्रमणमा बढी जान थालेपछि भने यो व्यवसायमा निकै ह्रास आएको बताइन्छ । हाल विदेशी मुलुकहरुमा पनि रोतेम्बुरोको व्यवसाय बढिरहेको छ । हाम्रो देश नेपालमा पनि लाजिम्पाटस्थित जापानीहरुद्वारा सञ्चालित रोयाल हाना गार्डेन र कास्की जिल्लाको धम्पुसमा ओफुरो सञ्चालन गरिएको छ ।

ओन्सेन
जमिनको सतहबाट प्राकृतिकरुपमा मूल फुटेर आएको तातोपानीको दहलाई ओन्सेन भनिन्छ । जापानमा ज्वालामुखी पहाडहरु धेरै भएकोले ओन्सेनका मुलहरु पनि प्रशस्तै छन् । कानागावाकेन स्थित हाकोनेमा एउटा पहाडको आधा भाग नै तातोपानीको मूलले भरिएको छ । त्यस्तै होक्काइदोमा पनि तातोपानीका मुलहरु पाइन्छन् । अत्यधिक तापक्रम भएका मुलहरुमा सर्बसाधारणका लागि पूर्णरुपमा प्रवेश निषेध गरिएको छ । मूलप्रवाह हुने स्थानहरु अनुसार विभिन्न रासायनिक पदार्थहरुको मिश्रण भएको हुनाले शरीरका लागि फाईदा हुने ठाउँका मुलहरु मात्र प्रयोग गरिएका छन् । होक्काइदोस्थित एउटा बगिरहेको ओन्सेनमा एक किलोको फलामको डल्लो राखिदिने हो भने केहि मिनेट मै पग्लिएर नष्ट हुन्छ । कुनै ठाउँका ओन्सेनहरु सफा र निर्मल हुन्छन् भने कुनै ठाउँका ओन्सेनहरु सेती गण्डकी जस्तो सेतो र काली गण्डकी जस्तो कालो र काठमाडौंका गन्हाउने पानी जस्तो पहेलो र हरियो पनि हुन्छ । कुनैकुनै ओन्सेनको मूलमा जाने हो भने दही जस्तो बाक्लो पानी पनि देख्न सकिन्छ ।

नांगै नुहाउने चलन
जापानीहरु नम्र, लजालु र बढी अनुशासित देखिए तापनि नुहाउने अर्थात ओफुरो पस्ने उनिहरुको बानी भने अस्वभाविक लाग्ने खालको छ । आफ्नो घरभित्र एक्लै नुहाउँदा मात्र होइन अरुसंग नुहाउदा पनि नांगै नुहाउने चलन छ । सार्वजनिक ओफुरोहरुमा त ओफुरोको भित्रपट्टी कुनै पनि कपडा लगाएर जान मनाही गरिएको हुन्छ । पहिलो पटक जापानको सार्वजनिक ओफुरोमा जाने नेपालीहरुको निमित्त ओफुरोमा नांगै नुहाइरहेको दृश्य र आफू पनि सर्बाङ्ग नांगो हुनुपरेको अवस्था निकै अनौठो लाग्दो बन्दछ । अझ अचम्मलाग्दो कुरा त के छ भने सार्वजनिक ओफुरोहरुमा आफ्ना बाबुआमाका साथ केटाकेटीहरु पनि जान पाउँदछन् । ओफुरोमा महिला र पुरुषको लागि छुट्टाछुट्टै खण्ड रहेता पनि बाबु आमाले आफ्ना छोराछोरीलाई साथमा लिएर जान छुट भएकोले बाबु र छोरा अनि आमा र छोरी साथै नांगै नुहाउने मात्र होइन आमासंग छोरा र बाबुसंग छोरी एकसाथ ओफुरो पस्ने गर्दछन् । यसरी सानैदेखि नांगो शरीर देख्न र देखाउन अभ्यस्त जापानीहरुमा नांगो शरीर देख्नु वा देखाउनुलाई लाजलाग्दो विषय मानिदैन । ***

तपाईको प्रतिक्रिया