काठमाडौं – पछिल्लो समयमा जापानमा अध्ययन र रोजगारीका लागि जापानी भाषाको माग बढिरहेको बेला राजधानीको एक उच्च माविले मुलुकमै पहिलो पटक कक्षा ११ र १२ मा जापानी भाषालाई ऐच्छिक विषयको रुपमा अध्यापन सुरु गर्ने भएको छ ।
उच्चमाध्यमिक शिक्षा परिषदबाट अनुमति लिएर राजधानीको ग्रिनफिल्ड नेसनल उमावि, बाफल, सीतापाईलाले जापानी भाषाको औपचारिक अध्यापन सुरु गरेको हो । अरु ऐच्छिक विषय झै जापानी भाषा लिने विद्यार्थीले ११ र १२ मा एक एक सय पूर्णाङ्कको परिक्षा दिनुपर्नेछ । राजधानीमा पत्रकार सम्मेलन गरेर विद्यालयले इन्स्टिच्यूटमा जापानी भाषा सिकेर उच्च शिक्षाको लागि जापान जाँदा थप भाषा कक्षा लिनुपर्ने बाध्यतालाई यो पढाईले अन्त्य गर्ने विश्वास ब्यक्त गर्दै कक्षा ११, १२ मा जापानी भाषा अध्ययन गरेकाले जापानमा सिधै उच्चशिक्षामा भर्ना हुन सक्ने दावी गरे ।
त्यसैगरी यो अभियानले जापामा रोजगारी गर्ने, नेपालमै पर्यटन गाईड गरेर रोजगारी गर्न चाहनेहरुका लागि अवसर दिने उमाविको विश्वास रहेको छ । विद्यालयका प्राचार्य खड्कबहादुर बस्नेतले विश्वाभाषा क्याम्पसले अनौपचारिक रुपमा भाषा शिक्षा दिईरहेको भएपनि औपचारिक शिक्षाको अभावमा समस्या देखेर आफूहरुले यो सुविधा उपलब्ध गराएको बताउनुभयो । उहाँले यो शिक्षाले नेपालमा जापानी भाषा शिक्षण गर्ने अध्यापकको अभावलाई कम गर्दै लैजाने विश्वास ब्यक्त गर्नुभयो । ***