टोकियो – म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानले यही आउँदो २६ तारिख आइतवार टोकियोमा एक साँगीतिक कार्यक्रम ’मोना नाइट’को आयोजना गर्ने भएको छ ।
एशियाको नोवेल भनेर चिनिने म्यागासेसे पुरस्कार विजेता समेत रहनुभएका नेपालकै चर्चित आईटी विज्ञ डा. महावीर पुन मगरको निःशुल्क वाइफाई जिल्ला बनाउने अभियानमा सघाउन मोना नाइटको आयोजना गर्न लागिएको मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले समुद्रपारिलाई बताउनुभयो ।
मोना नाइट कार्यक्रमका लागि नेपालका पछिल्ला समयका चल्तीका कलाकारहरु जापान आउने भएका छन् । धेरैजसो बिदेशका कार्यक्रमहरुमा ब्यस्त रहने लोक तथा दोहोरी गायिका मिना लामा, शान्ति सुनारका साथै चिजा तामाङ र सुमन परियार जापान आउने भएका हुन् । कार्यक्रममा स्थानीय कलाकर्मीहरुको पनि प्रस्तुती रहने जनाईएको छ ।
मोनाका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका ’मोना नाइट’ कार्यक्रमका संयोजक महेन्द्र खड्काले विविध कारणवश कार्यक्रम बारे सार्बजनिक जानकारी गराउन ढिला भएको भन्दै म्याग्दी जिल्लालाई निःशुल्क वाइफाई जिल्ला बनाई नेपालकै पहिलो र नमुना जिल्ला बनाउने बिश्वब्यापी अभियानमा सहकार्य गर्न जापानबासी नेपालीहरुमा अपिल गर्नुभएको छ ।
कार्यक्रम इकेबुकुरोस्थित तोसिमा कुमिन सेन्टरमा उक्त दिनको अपरान्ह साढे चारबजे देखि हुने भएकोले समयमै उपस्थित भई दिन मोना जापानका महासचिव खेम मल्लले जापानबासी नेपालीहरुमा अनुरोध गर्नुभएको छ । टोकियो रोधी क्लवको बिशेष प्रायोजनमा हुने उक्त कार्यक्रमको टिकट दर भने दुई हजार येन राखिएको आयोजक पक्षले जनाएको छ ।
नेपालबाट आमन्त्रित कलाकारहरुको स्वागतमा आउंदो शनिवार सांझ शिनओकुबोस्थित नेपाली इजागाया साकुरामा रात्रीभोजको आयोजना गरिने भएको छ । ******