काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा एमालेले पूर्ननिर्माण प्राधिकरणमा एकलौटि गरेको भन्दै तत्काल उक्त कदम नसच्याए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।
व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको चर्चा चलिरहेका बेला संसद् बैठकमा भूकम्प प्रभावितहरूको आवाज प्रभावकारी रूपमा उठाउन काँग्रेस सभापति शेरबहादुर देउवाले आज भूकम्प प्रभावित जिल्लाका जिल्ला सभापतिहरूसँग छलफल गर्नुभएको थियो ।
काँग्रेसले सत्तारुढ दलले भूकम्प पुर्ननिर्माणको नाममा मनलाग्दी गरेको, आफना कार्यकर्तालाईै भर्ती गरेको, पीडितलाई पहिलो चरणमा अनुदान स्वरूप २ लाख दिने कुरालाई ५० हजारमा झारेको भन्दै उक्त कदमहरू तत्काल नसच्याए आफूहरु भोलिबाटै संसद अवरुद्ध पार्ने तयारीमा रहेको काँग्रेस निकट उच्च स्रोतले जानकारी दियो ।
बैठकमा उपस्थित अधिकांश सभापतिहरुले एमालेले एकलौटी काम अघि बढाएको गुनासो गरेपछि सभापति देउवाले भोलिबाटै संसदमा यस विषयमा सशक्त आवाज उठाउने आश्वासन दिनुभएको हो । भोलि असार १ गतेदेखि बस्ने व्यवस्थापिका संसद्को बैठकमा उठाउने एजेण्डा र भूकम्प प्रभावित क्षेत्रमा काँग्रेसले खेल्ने भूमिकाका विषयमा पनि छलफल थियो ।