ताप्लेजुङ – अविरल वर्षाका कारण माथिबाट झरेको ढिस्कोले घर भत्किएर पुरिँदा ताप्लेजुङमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् ।
आज बिहान करिब २ बजेको समयमा माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर ज्यान गएको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षीया सीता तामाङ र दिदी १२ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
यता मेची राजमार्ग अन्तर्गत दोखुमा पर्ने ल्याङ्बा सडकखण्डमा माथिबाट झरेको पहिरोले बाटो अवरुद्ध भएको छ । अविरल वर्षाका कारण गएराति झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने सवारीसाधन बिचमै अलपत्र परेका छन् । ***