काठमाडौँ – केही दिन अघि मात्र एक कार्यक्रममा नयाँ शक्ति केन्द्रका संयोजक डा बाबुराम भट्टराईले उच्च शिक्षा हासिल गर्न नसकेकाले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने भन्दै प्रधानमन्त्री ओलीलाई व्यग्य गर्नुभएको थियो ।
त्यस भनाइबाट चित्त दुःखाएका ओलीले पनि पालोको पैचो तिर्ने मौका पाउनुभएको छ । आज दशरथ रंगशालामा हुने नयाँ शक्तिको पार्टी घोषणा सभामा यसअघि नजाने जनाउनुभएका ओलीले पटक–पटक संयोजक भट्टराईले टेलिफोन गरेपछि समारोहमा पुग्ने बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कार्यक्रमको सिलसिलामा काठमाडौँ बाहिर रहेकोले नयाँ शक्ति पार्टीको कार्यक्रममा आउन नसक्ने बताइरहँदा प्रधानमन्त्री ओली समेत उक्त कार्यक्रममा नजाने सूचना प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको थियो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भट्टराईले फोन गरेपछि प्रधानमन्त्री ओलीले ‘म नपढ्या मान्छे, फिट हुँला र तपाईँ विद्वानहरुको सभामा ?’ भनेर सोध्नुभएको थियो । स्रोतका अनुसार प्रमले ‘आउन त मन थियो, पढ्या छैन के गरुम’ भन्दै नपढेका नि आए हुन्छ भने चाहिँ आउँछु’ भन्दै व्यग्यात्मक जवाफ दिनुभएको थियो ।