काठमाडौँ – युरोकप फुटबल अन्तर्गत शनिबार राती भएका खेलहरुमा स्वीट्जरल्याण्ड र वेल्स विजयी भएका छन् । फ्रान्समा जारी फुटबलको समूह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले अल्बानियालाई १–० ले हरायो ।
खेलमा स्वीस टोलीलाई विजयी गराउन फाबियन शहारले गरेको गोल नै निर्णायक गोल बन्यो । यस्तै गएराति भएको अर्को खेलमा वेल्सले स्लोभाकियालाई २–१ ले हराएको छ । वेल्सलाई विजयी गराउन ग्यारेथ बेल र हाल रोब्सन कानुले एक–एक गोल गरे । पराजित टोली स्लोभाकियाको लागि ओन्द्रेज डुडाले एक गोल फर्काए । युरोकप अन्तर्गतको अर्को खेलमा इङ्ल्यान्डलाई रुसले एक–एक गोलको बराबरीमा रोकेको छ । खेलमा इङ्ल्यान्डका एरिक डायरले पहिलो गोल गरे पनि रुसका भासीली बेरेजुस्कीले ईन्जुरी समयमा एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
यस्तै युरोकप फुटबलमा आज पनि तीन खेल हुँदै छन् । नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने खेलमा टर्की र क्रोएशिया भिड्नेछन् । यसैगरी बेलुकी पौने १० बजे पोल्याण्ड र नर्दन आयरल्याण्ड भिड्दा राति पौने १ बजे जर्मनीले युक्रेनसँग खेल्नेछ । – एजेन्सी