काठमाडौं – नेपाल सरकारले यसवर्ष १ सय ३९ वटा विद्यालयलाई प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि अनुमति दिएको छ । यसअघि देशभर ९९ सय विद्यालयमा मात्र प्राविधिक तथा व्यवसायिक शिक्षाको व्यवस्था थियो ।
विद्यार्थी र अभिभावकको आकर्षणका कारण यसवर्ष १ सय ३९ वटा विद्यालयलाई अनुमति दिइएको शिक्षा विभाग, प्राविधिक तथा व्यवसायीक शिक्षा शाखाका प्रमुख रामराज खकुरेलले बताउनुभयो । उहाँका अनुसार अहिले २ सय २ निर्वाचन क्षेत्रमा यसको पहुँच पुगेको छ ।
बाँकी ३८ निर्वाचन क्षेत्रमा पनि प्राविधिक र व्यवसायिक शिक्षाको लागि विद्यालय संचालन गर्ने गरी काम भैरहेको उहाँले बताउनुभयो । अहिले मनाङ बाहेकका सबै जिल्लामा प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि कक्षा संचालन हुन थालेका छन् । सबैभन्दा धेरै मोरङमा १० वटा र नवलपरासीमा ९ वटा विद्यालयमा यसबारे पढाइ हुन्छ ।
सरकारले अहिले कृषि र इन्जिनियरिङमा मात्र कक्षा संचालन गर्न अनुमति दिएको छ । जसअनुसार कृषिमा पशुपालन र वालीविज्ञान तथा इन्जिनियरिङमा सिभिल, कम्प्यूटर र इलेक्ट्रिकल गरि ५ विषयको पढाइ हुन्छ । ८ कक्षा पास गरेका विद्यार्थीले ९ कक्षामा भर्ना हुँदा यी विषय लिएर पढ्न पाउनेछन् ।
सरकारले कृषि विषयको लागि सिंचाइ सुविधा सहितको कृषि योग्य जमिन, बत्तिको लाइन, इन्टरनेट सुविधा लगायत अरु आवश्यक भौतिक पुर्वाधार भएका विद्यालयलाई पढाइको लागि अनुमति दिएको हो । यस्तै इन्जिनियरिङको लागि प्रयोगात्मक कक्षाको लागि आवश्यक पर्ने छुट्टै ल्याव, विद्यालयको आम्दानी र दक्ष शिक्षक भएको विद्यालयलाइ कक्षा संचालनको अनुमति दिइएको शिक्षा विभागले जनाएको छ ।