काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ । सभापति लामिछानेले पेस गरेको निवेदन सोमबार उच्च अदालत पोखरामा दर्ता भएको हो ।
उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए । कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन दिएका हुन् । जिल्ला अदालत पोखराले उनलाई ६५ लाख धरौटी माग गरेको थियो । उनले उक्त बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरिपाउँ भनि दावी गरेका छन् ।
उनलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माग राखी सरकारी पक्ष यसअघि नै उच्च अदालत पुगिसकेको छ । त्यसको प्रतिवादमा रवि पनि धरौटी रकम चर्को परेको भन्दै अर्को निवेदन लिएर पुगेका हुन् ।काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध पनि रविले पुनरावेदन गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
ती अदालतहरूले दिएको आदेशमा पनि उनी असन्तुष्ट छन् । काठमाडौंले ६० लाख रुपैयाँ र रुपन्देहीले एक करोड धरौटी मागेको थियो । सहकारीमा प्रत्यक्ष रूपमा संलग्न नभएको व्यक्तिलाई यत्रो रकम धरौटी मागिनु न्यायसंगत नरहेको रविका कानून व्यवसायीहरु बताउँछन् । सहकारीका सञ्चालकहरूलाई भन्दा रविलाई धेरै धरौटी मागिएकोमा उनीहरूको आपत्ति छ ।