काठमाडौं – लामो प्रयासपछि कतारमा इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएसँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ । युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरू रिहा समेटिएको जनाएका छन् । छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिनेछ । त्यसको साटो इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुनेछ ।
यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन् । भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ । हमाससँग अझै ९४ जना बन्धकहरू छन् । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको दल लिकुड पार्टीकै सदस्यलगायत कतिपय वामपन्थी नेताहरू सङ्घर्षविरामको विपक्षमा उभिएका बेला पछिल्लो सम्झौता भएको हो ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताले बन्धकहरूको रिहाइ, युद्धको अन्त्य, इजरेलको सुरक्षा र प्यालेस्टिनीहरूका लागि मानवीय सहायतामा अभिवृद्धि गराउने बताएका थिए । सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ । डेर अल-बलाह र खान यूनिशबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ। अन्यत्र इजरेली हमला भएका विवरण समेत छन् । इजरेली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन् । उनीहरूले सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको अप्रत्याशित हमलामा १ हजार २ सय जनाको मृत्यु हुनुका साथै २ सय ५१ जना बन्धक बनाइएका थिए । त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७ हजारभन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीबीसी