काठमाडौं – नेपालीहरू विश्वका प्रायः देशमा पुगेको छन्, सबैभदा धेरै रोजगारी, अध्ययन तथा व्यवसायका लागि विश्वभर पुगिरहेको पाइन्छ । त्यहीमध्ये कतिले त त्यहीको नागरिकता समेत लिएको सरकारी तथ्यांकले देखाउँछ ।
विश्वका धेरै देशमा नेपालीहरू पुगिरहँदा ती देशमा निष्कासित हुनेको संख्या पनि उकालो लागेको सरकारी तथ्यांकले देखाएको छ । अध्यागमन विभागका तथ्यांकअनुसार सन् २०२४ मा ४ सय ९७ विदेशीलाई नेपालबाट निष्कासित गरिएको छ भने १ हजार ५ सय ६ नेपाली विदेशबाट फिर्ता पठाइएका छन् । यो संख्या नेपालबाट निष्कासित हुनेको तुलनामा झण्डै तीन गुणा बढी हो ।
नेपालमा अवैध रूपमा बस्ने विदेशी नागरिकमा चिनियाँ, अमेरिकी, बंगलादेशी र पाकिस्तानीको संख्या बढी रहेको छ । एक वर्षको अवधिमा १४७ चिनियाँ, ५४ अमेरिकी, ५४ बंगलादेशी, ३५ पाकिस्तानी र २७ बेलायती नागरिकलाई निष्कासित गरिएको छ । तीमध्ये धेरैजसो ओभर स्टे अर्थात् भिसा अवधि नाघेर बस्ने गरेको विभागले जनाएको छ ।
अध्यागमन नियमावलीअनुसार पर्यटक भिसामा नेपालमा पाँच महिना बस्न पाउने व्यवस्था छ, तर अमेरिकी नागरिकले छ महिना बस्न पाउँछन् । यो अवधि नाघ्ने विदेशीलाई जरिवाना तिराई निष्कासन गरिन्छ। ओभर स्टेमा बस्ने अधिकांश विदेशी शंकास्पद गतिविधिमा संलग्न हुने भएकाले निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
नेपालमा अवैध रूपमा बस्ने विदेशीहरूको गतिविधि बढ्नुले राष्ट्रिय सुरक्षामा जोखिम थपिएको सुरक्षा अधिकारीहरू बताउँछन् । विशेषगरी चिनियाँ नागरिक पर्यटक भिसा र बिजनेस भिसाको दुरुपयोग गरी सुन तस्करी, अनलाइन ठगीजस्ता अपराधमा संलग्न हुने गरेका छन् । सन् २०२४ मा निष्कासित चिनियाँमध्ये १४१ जनाले ओभर स्टे गरेका थिए भने दुई जनाले सार्वजनिक सम्पत्तिविरुद्धको अपराध गरेका थिए ।
यो पनि : अध्यागमनमा एपिस प्रणाली जडानको तयारी, यात्रुको गन्तव्य ट्रयाकिङ गर्न सकिने
नेपाली नागरिकको धेरैजसो निष्कासन मध्यपूर्वी देशहरू, मलेसिया, अमेरिका, दक्षिण कोरिया, र जापानबाट भएको छ । विशेष गरी अवैध रूपमा बस्ने नेपालीलाई अमेरिकाले विशेष विमानमार्फत नेपाल फिर्ता पठाउने गरेको छ । देश निकाला हुने प्रमुख कारणहरूमा भिसा अवधि समाप्त हुनु, अध्यागमन कानुनको उल्लंघन पाइन्छ । नेपाली आप्रवासीहरूले कतिपय देशहरूमा कानूनी सुरक्षाको कमी झेल्नु पर्छ ।
विदेशीहरूको निगरानी प्रणाली सुधार गर्न अध्यागमन विभागले नयाँ ट्र्याकिङ प्रणाली निर्माण गर्ने तयारी गरिरहेको छ । विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार अवैध रूपमा बस्ने विदेशीहरूलाई जरिवाना तिराई निष्कासन गर्ने प्रक्रिया जारी रहे पनि आगामी दिनमा निगरानी थप प्रभावकारी बनाइनेछ ।