काठमाडौं – अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसहरूको ज्यान लिएको भीषण डढेलोपछि लस एन्जलसका बासिन्दाहरूलाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ ।
डढेलोका कारण धुवाँ र खरानीले आकाश ढाकेर अत्यधिक वायुप्रदूषण बढेपछि लस एन्जलस प्रशासनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । स्थानीय जनस्वास्थ्य निकायले आगो र तीव्र बेगको हावाका कारण वायुको गुणस्तर निकै खराब भएको चेतावनी जारी गरेको छ । जसका कारण जनस्वास्थ्यमा तत्काल देखिने देखि र दिगो जोखिम हुनसक्ने चेतावनीमा उल्लेख छ ।सहरमा परेको आगोले स्वास्थ्य संस्थाहरूमा समेत क्षति पुर्याएका कारण महत्त्वपूर्ण सेवा र स्रोत साधन अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् । प्रशासनले धुलो उडाउने कुनै पनि उपकरण प्रयोग नगर्न निर्देशन दिएको छ । अत्यधिक खरानी र धुवाँका कारण श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिममा रहेका मानिसहरू, बालबालिका र वृद्धवृद्धालाई समस्या हुनसक्ने भन्दै सजग गराइएको छ ।
यसअघि प्रशासनले लस एन्जलसका केही भागमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको थियो । मङ्गलवारदेखिको भीषण डढेलोका कारण सहरबाट अनिवार्य रूपमा बाहिरिनुपर्ने आदेशका कारण डेढ लाख भन्दा धेरै मानिसहरूले घर छाडेका छन् । सहरमा छ वटा मुख्य डढेलो सक्रिय रहेको अधिकारीहरूले बताएका छन् । ती सबै क्षेत्रका मानिसहरूलाई उद्धारका लागि निर्देशन दिइएको छ ।१० हजार घर नष्ट
अधिकारीहरूले मानवीय क्षतिबाहेक १० हजार भन्दा धेरै घरहरू डढेलोबाट नष्ट भएको र थप ६० हजार जोखिममा रहेको बताएका छन् । प्रारम्भिक अनुमानहरूमा कुल क्षति १५० अर्ब अमेरिकी डलरभन्दा बढी हुनसक्ने बताइएको छ । लस एन्जलसमा एक लाखभन्दा धेरै घर तथा व्यवसायहरूमा बिजुली आपूर्ति टुटेको छ ।
राष्ट्रपति जो बाइडनले लस एन्जलसले आफूलाई ‘युद्धभूमि’ सम्झाएको बताउँदै मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको बताए । उनले यस विपद्सँग जलवायु परिवर्तनका पक्ष जोडिएको बताए । राज्यका गभर्नर न्यूजमले राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पलाई क्षति प्रत्यक्ष हेर्नका लागि क्यालिफोर्निया आउन निम्त्याउँदै विपद्लाई राजनीतिकरण नगर्न आह्वान गरेका गरेका छन् । –बीबीसी