समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालतमा प्रस्तुत गरेको छ। शनिबार थपिएको १५ दिने म्याद समाप्त भएपछि उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो।
रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धान भइरहेको छ। लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको कास्की प्रहरीका डिएसपी वसन्तकुमार शर्माले जानकारी दिएका छन्।
लामिछानेलाई कात्तिक २ गते पक्राउ गरी अनुसन्धानका क्रममा रुपन्देही, काठमाडौं र चितवनमा बयानका लागि उपस्थित गराइएको थियो। प्रहरीले अब उनलाई जिल्ला अदालत पर्साले जारी गरेको पक्राउ पुर्जीका आधारमा पर्सा लैजाने तयारी गरेको छ।