समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन प्रक्रिया अघि बढिसकेको हुँदा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन्। शनिबार विराटनगरमा आयोजित नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले कांग्रेस र एमालेबीचको गठबन्धन देशको आवश्यकताका लागि गरिएको स्पष्ट पारे।
थापाले विधिको शासन सुनिश्चित गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गरे। अपराध र भ्रष्टाचारमा संलग्न जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो। साथै, उनले बीआरआई सम्झौताबारे देखिएको भ्रम र आलोचनाबारे संसदमा खुला छलफल गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी कांग्रेस केन्द्रीय नेताहरूले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी एकता कायम गर्न सबै तहका नेताहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनीहरूले पार्टीलाई सबल र एकीकृत बनाउन स्पष्ट योजना आवश्यक रहेको औंल्याए। सम्मेलनले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने दिशामा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।