समाचार सुन्नुहोस :
काठमाडौँ – दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ‘मार्शल ल’ (सैन्य कानून) घोषणा गरेको निर्णयका लागि देशवासीसँग माफी माग्नुभएको छ। बीबीसीको रिपोर्टअनुसार, राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले उक्त निर्णयबाट उत्पन्न कानूनी र राजनीतिक जिम्मेवारीलाई बेवास्ता नगरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
राष्ट्रपति युनले अब भविष्यमा कुनै पनि परिस्थितिमा ‘मार्शल ल’ घोषणा नगर्ने आश्वासन समेत दिनुभएको छ। उहाँले आफ्नो कार्यकालसँग सम्बन्धित मुद्दाहरू आफ्नो पार्टीको जिम्मामा छोडेको बताउँदै सम्बोधन समाप्त गर्नुभएको छ।
तर, मार्शल ल घोषणाको विवादले उहाँमाथि राजीनामाको दबाब सिर्जना गरेको छ। आफ्नै पार्टीका नेताहरूले राष्ट्रपति युनले राजीनामा दिनुपर्ने धारणा राखेका छन्, भने प्रमुख प्रतिपक्षी दलका नेताहरूले राष्ट्रपति युनको सम्बोधनलाई ‘अत्यन्तै निराशाजनक’ भनेका छन्।
सैन्य शासन लागू गर्ने प्रयास विफल भएपछि राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्तावमाथि मतदान आजै हुन लागेको छ। गएको मङ्गलबार राति राष्ट्रपतिको चौंकाउने निर्णयमा मार्शल ल घोषणा भएको केही घण्टामै फिर्ता गरिएको थियो, जसले देश र विश्वलाई स्तब्ध बनाएको छ।