टोकियो – सन् २०२४ मा जापानप्रति नकारात्मक धारणा राख्ने चिनियाँहरूको संख्या अघिल्लो वर्षको तुलनामा तीव्र रूपमा बढेर झन्डै ९० प्रतिशत पुगेको छ । यो तथ्यांक २०२३ को तुलनामा २४ दशमलव ८ प्रतिशतले बढेको हो ।
सर्वेक्षणको नतिजाले दुई देशबीचको विभिन्न विवादका कारण चिनियाँ जनतामा जापानप्रति नकारात्मक दृष्टिकोण रहेको देखाएको छ । जापानले नियन्त्रण गरेको तर चीनले दाबी गरेका सेनकाकु टापुहरू (जसलाई चीनमा डियाओयू भनिन्छ)का विवाद, द्वितीय विश्वयुद्धकालीन इतिहासबारे मतभेद र जापानले फुकुशिमा दाइचि आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी समुद्रमा फ्याँकिरहनुजस्ता कारणहरूले यो वृद्धि भएको विश्लेषण गरिएको छ ।
जापानी गैरनाफामूलक थिङ्क ट्याङ्क जेनरोन एनपीओ र चीन अन्तर्राष्ट्रिय सञ्चार समूहले संयुक्त रूपमा गरेको सर्वेक्षणमा चिनियाँ उत्तरदाताहरूमध्ये ८७ दशमलव ७ प्रतिशतले जापानप्रति ‘नकारात्मक वा धेरै नकारात्मक’ धारणा राख्ने बताएका थिए । यो परिणाम २०१३ मा ९२ दशमलव ८ प्रतिशतको सबैभन्दा उच्च स्तरपछि आएको हो, जुन समय द्विपक्षीय सम्बन्ध निकै तनावपूर्ण अवस्थामा थियो । त्यो वर्ष जापानले सेनकाकु टापुहरूको नियन्त्रण आफ्नो राज्यअधिकारमा लिएको थियो । यो सर्वेक्षण २००५ देखि हुँदै आएको छ ।
चिनियाँ उत्तरदाताहरूसँग जापानप्रतिको नकारात्मक धारणा बनाउन कारणहरू सोध्दा ४५ दशमलव ५ प्रतिशतले सेनकाकु सम्बन्धी जापानको कदमलाई प्रमुख कारणका रूपमा औंल्याएका थिए । धेरैले ताइवानप्रतिको जापानी धारणा र ऐतिहासिक विषयहरूलाई पनि कारणको रूपमा उल्लेख गरे । अर्कोतर्फ जापानप्रति सकारात्मक वा केही हदसम्म सकारात्मक धारणा राख्ने चिनियाँहरूको संख्या २४ दशमलव ७ प्रतिशतले घटेर १२ दशमलव ३ प्रतिशतमा झरेको छ ।
चीनप्रति नकारात्मक वा केही हदसम्म नकारात्मक धारणा राख्ने जापानीहरूको संख्या ३ दशमलव २ प्रतिशतले घटेर ८९ दशमलव ० प्रतिशत पुगेको छ । द्विपक्षीय सम्बन्धमा बाधा पुर्याउने कारणहरूबारे सोधिएकोमा ३५ दशमलव ५ प्रतिशत चिनियाँ उत्तरदाताहरूले २०२३ को अगस्टदेखि सुरु भएको फुकुशिमा आणविक ऊर्जा केन्द्रको प्रशोधित पानी समुद्रमा फ्याँक्नुलाई दोष दिएका थिए भने ५० दशमलव ६ प्रतिशत जापानी उत्तरदाताहरूले सेनकाकु टापुहरूको विवादलाई मुख्य समस्या बताएका थिए ।
एकअर्काको देशबारे जानकारी पाउने माध्यम सोध्दा ६३ दशमलव ७ प्रतिशत चिनियाँ उत्तरदाताहरूले कम्प्युटर र स्मार्टफोनबाट इन्टरनेट मुख्य स्रोत भएको बताएका थिए । यो प्रतिशत अघिल्लो वर्षको ४१ दशमलव ६ प्रतिशतबाट बढेको हो र टेलिभिजन तथा पत्रिकाको तुलनामा बढी रहेको छ । चिनियाँहरू इन्टरनेटबाट जापानबारे जानकारी लिनेक्रम बढिरहेको देखिएकोमा जेनरोन एनपीओका प्रमुख यासुशी कुडोले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सोसल मिडियाबाट नकारात्मक धारणा सजिलै फैलिन सक्छ ।’
सर्वेक्षणले चीनमा जापान–चीन सम्बन्धलाई महत्त्वपूर्ण मान्ने चिनियाँहरूको संख्या घटेर २६ दशमलव ३ प्रतिशतमा आएको देखाएको छ । यो संख्या २०१३ को ७२ दशमलव ३ प्रतिशत र अघिल्लो वर्षको ६० दशमलव १ प्रतिशतभन्दा धेरै कम हो । पहिलो पटक यो प्रतिशत ६० भन्दा तल झरेको हो । तर, जापानी उत्तरदाताहरूमा भने यो सम्बन्ध महत्त्वपूर्ण रहेको धारणा ६५ दशमलव १ प्रतिशतबाट बढेर ६७ दशमलव १ प्रतिशत पुगेको छ ।
यो सर्वेक्षण अक्टोबरको मध्यदेखि नोभेम्बरको सुरुमा १८ वर्ष वा माथिका १ हजार जापानी र १ हजार ५ सय चिनियाँ व्यक्तिहरूबाट संकलित वैध उत्तरहरूमा आधारित हो ।