समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
प्रोस्टेटसम्बन्धी समस्याका कारण मंसिर १९ गतेदेखि उपचाररत राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पतालका अधिकारीलाई निर्देशन दिए।
प्रधानमन्त्रीले राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गरी उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण प्राप्त गरेका छन्। आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको र सामान्य रहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभका लागि आवश्यक सबै व्यवस्था गर्न अस्पताललाई थप ध्यान दिन आग्रह गरेका छन्।