समाचार सुन्नुहोस :
काठमाडौँ – इजरायलका लागि नेपालका नवनियुक्त राजदूत श्मुलिक आरी बासले हमासले अपहरण गरी बन्धक बनाएका नेपाली युवक विपिन जोशीलाई सकुशल उद्धार गरी स्वदेश फर्काउने प्रयास जारी रहेको बताएका छन्।
काठमाडौंस्थित इजरायली राजदूतावासमा सञ्चारकर्मीसँगको भेटमा उनले हमासले अपहरण गरेका विपिन जोशीलगायत अन्य देशका नागरिकको अवस्थाबारे जानकारी लिन र उद्धार गर्न इजरायली सरकार निरन्तर सक्रिय रहेको बताए। हमासको कब्जामा विपिन अन्य बन्धकहरूसँग रहेको अनुमान गरे पनि उनीहरूको ठेगाना अझै अज्ञात रहेको उनले बताए।
पछिल्ला दिनमा इजरायल र लेबनानबीचको द्वन्द्व केही मत्थर भएको र छिट्टै युद्धविरामको सम्भावना रहेको चर्चा गर्दै राजदूतले इजरायललाई हमासजस्ता समूहबाट सधैं सतर्क रहनुपर्ने बताए।
हमासको आक्रमणमा ज्यान गुमाएका १० नेपाली युवाका परिवारलाई इजरायली सरकारले त्यहाँका नागरिकसरह मासिक भत्ता दिने व्यवस्था गरेको जानकारी गराउँदै उनले कृषिसम्बन्धी अध्ययन र कामका लागि इजरायल पुगेका अन्य नेपालीहरूको सुरक्षित फिर्ताको पहल भइरहेको बताए।
राजदूतले इजरायलमा कामदारको ठूलो अभाव रहेको उल्लेख गर्दै युद्ध शान्त भएपछि नेपाली युवालाई जीटूजी प्रक्रियामार्फत इजरायल पठाउन तयार रहेको र हाल प्रक्रिया अगाडि बढिरहेको विश्वास व्यक्त गरे।