समाचार सुन्नुहोस :
काठमाडौँ – चीनको हुनान प्रान्तको पिङ्जियाङमा हालै १,००० मेट्रिक टन उच्च गुणस्तरको सुनको भण्डार फेला परेको छ। जसको अनुमानित मूल्य ८३ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ।
चिनियाँ वैज्ञानिकहरूले थ्रीडी मोडलिङ र ड्रिलिङ प्रविधिको प्रयोग गरी ४० भन्दा बढी सुनका खानी पत्ता लगाएका छन्। यो उपलब्धिले चीनलाई सुन उत्पादनमा थप बलियो बनाउने अपेक्षा गरिएको छ।
हाल, चीन विश्वको सबैभन्दा ठूलो सुन उत्पादक देश हो। २०२३ मा चीनले विश्वको कुल सुन उत्पादनमा १० प्रतिशत योगदान गरेको थियो। देशको हालको सुन भण्डार २,२६४ टन रहेको छ, जसले चीनलाई विश्वमा छैटौँ स्थानमा राख्छ।
यस सूचीमा अमेरिका ८,१३३ टन सुन भण्डारण गर्दै पहिलो स्थानमा रहेको छ। यस्तो ठूलो परिमाणको सुन भण्डार फेला परेपछि चीनको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सुन बजारमा यसको प्रभावको विषयमा चासो बढेको छ।