समाचार सुन्नुहोस :
काठमाडौँ – म्याग्दी जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएका छन्। यी भवनहरू बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक र मालिका तथा रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा गरी निर्माण गरिएका हुन्।
बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखको लागतमा सभाहलसहित पाँच कोठे स्वास्थ्य चौकी भवन बनेको छ। रघुगङ्गा गाउँपालिका–४ दग्नाममा रु १ करोड ५९ लाखमा र वडा नम्बर ७ चिमखोलामा रु १ करोड ६७ लाख २८ हजारको लागतमा भवन निर्माण भएको हो। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूतिगृहसहितको भवन निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको छ।
यसैगरी, मालिका गाउँपालिकाको रुम र डाँडागाउँमा क्रमशः रु २ करोड ६४ लाख र रु १ करोड ५९ लाख लागतमा स्वास्थ्य चौकी भवनहरू बनेका छन्। मङ्गला गाउँपालिका–२ रणवाङमा रु १ करोड ३० लाखको लागतमा र धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा भवनहरू निर्माण भई सेवा सञ्चालनमा आएका छन्।
यद्यपि, केही स्थानमा पुराना भवनबाटै सेवा दिइँदैछ भने कतिपय नयाँ भवनहरू उपकरण र जनशक्ति अभावका कारण सञ्चालनमा आउन बाँकी छ।