समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा विद्युतीय सवारीसाधनका लागि अत्याधुनिक चार्जिङ स्टेशन निर्माण सम्पन्न भएको छ। मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा निर्माण गरिएको यो स्टेशनको लागत दुई करोड ७२ लाख रहेको छ।
नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार यस स्टेशनको संयुक्त रूपमा उद्घाटन गरे।
चार्जिङ स्टेशनमा एकपटकमा १५ वटा सवारी साधन चार्ज गर्न सकिनेछ, जसमा चारवटा चारपाङ्ग्रे र ११ वटा तीन पाङ्ग्रे सवारी साधन समावेश छन्। साथै, यात्रुहरूको सुविधाका लागि प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान र शौचालयजस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था गरिएको छ।
यो स्टेशनले विद्युतीय सवारीसाधनको उपयोगलाई प्रोत्साहन गर्नुका साथै दिगो र पर्यावरणमैत्री यातायात प्रणालीलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।