Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – टोकियोमा आईतबार एक समारोहकाबीच राष्ट्रिय दिवस मनाईएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी भएको दिन असोज ३ गते भएता पनि बिदेशको परिवेशमा असोज ६ गते आईतबारका दिन राष्ट्रिय दिवस मनाईएको हो ।

नेपाली राजदूतावास टोकियो जापानले आयोजना गरेको राष्ट्रिय दिवस विशेष समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माणमा योगदान पुर्‍याउने सबै राजनैतिक दलहरु र तिनका नेतागणप्रति सम्मान प्रकट गर्दै उनले संबिधान कार्यान्वयनको ९ वर्षको अभ्यास र अनुभवको आधारमा अब संबिधान संशोधनका सम्बन्धमा पुनरावलोकन गर्ने बेला आएको बताए । नेपालको संबिधान २०७२ समानुपातिक र समावेशी चरित्रको भएको उल्लेख गर्दै मन्त्री भण्डारीले यसलाई अझ परिष्कृत बनाउन सरोकारवलाहरु सबैको सहमतिमा संबिधान संशोधन गर्नुपर्ने धारणा ब्यक्त गरे । एक अर्को प्रसंगमा मन्त्री भण्डारीले अब छिट्टै नै नेपालीहरुले औपचारिक तवरबाट जापानको श्रमबजारमा प्रवेश पाउने बताए । यसका लागि मन्त्रालयले निर्देशिका समेत जारी गरीसकेको उनले जानकारी दिए ।नेपाली युवाहरुका लागि आकर्षक गन्तब्य मानिने जापानको श्रमबजारमा नेपाली कामदारहरु भित्र्याउन पहल गर्ने सिलसिलामा जापान सरकारसंग आवश्यक सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले औपचारिक भ्रमणका क्रममा मन्त्री भण्डारी जापान आएका हुन् ।

उक्त विशेष समारोहलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले मन्त्री भण्डारीको यस भ्रमणबाट नेपाल र जापानबीच रहीआएको मैत्रिपूर्ण असल सम्बन्ध अझ सुदृढ हुने बिश्वास ब्यक्त गरे । राजदूत डा. सुबेदीले मन्त्री भण्डारीको यस भ्रमणबाट नेपालीहरुका लागि जापानमा रोजगारीका थप अवसरहरुको ढोका खुल्नेमा बिश्वस्त रहेको धारणा ब्यक्त गरे ।
एक अर्को प्रसंगमा राजदूत डा. सुबेदीले भने- ‘राजनैतिक स्थायित्व, आर्थिक बिकास र सामाजिक रुपान्तरण सहितको समुन्नत नेपालको महान लक्ष हासिल गर्ने अभियानमा सहभागी र सक्रिय हुन स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई प्रेरणा मिलोस् भन्ने राष्ट्रिय दिवसको शुभकामना ब्यक्त गर्दछु ।’

नेपालको सर्बाङ्गिण बिकासमा जापानले पुर्‍याएको योगदानको चर्चा गर्दै राजदूत डा. सुबेदीले जापान सरकार तथा जापानीहरुले जापानमा रहेका नेपालीहरुको अनुशासन, इमान्दारिता र लगनशिलताको उच्च कदर गर्ने गरेको पनि उल्लेख गरे । ‘फरक परिवेश र भिन्न सँस्कृतिमा पनि छिट्टै घुलमिल हुन सक्नुका साथै तुलनात्मकरुपमा अरुभन्दा छिट्टै भाषा सिक्नसक्ने छबि बनाएका नेपालीहरुको जापानमा पृथक पहिचान छ’- राजदूत डा. सुबेदीले भने -‘यो यहाँका नेपालीहरुले वर्षौ लगाएर बनाएको इमेज हो ।’

सो अवसरमा राजदूत डा. सुबेदीले अब दूतावासको फोन नउठ्ने समस्या हल गरिएको, राहदानी लगायतका दूतावासबाट प्रवाह हुने सेवाबाट कसैलाई वञ्चित हुन नदिईने ब्यवस्था मिलाईएको, नेपालीहरुको समस्या समाधान गर्न दूतावास सँधै तत्पर रहेको र सीमित जनशक्तिको बावजुद पनि सेवाग्राहीको सुबिधालाई ध्यानमा राखी दूतावासले दैनिक १८ घण्टा सेवा दिईरहेको जिकिर गरे ।

राष्ट्रिय दिवस समारोहको मन्त्री भण्डारीले दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । समारोहमा एभरेष्ट इन्टरनेशनल स्कुल, हिमालय इन्टरनेशनल स्कुल, बाटिका इन्टरनेशनल स्कुलका विद्यार्थीहरुको साँगीतिक प्रस्तुती रहेको थियो । यसैगरी अन्य कलाकारहरुले पनि विभिन्न जातजातिका मौलिक सँस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

राष्ट्रिय दिवस समारोहमा जापानका विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, कलाकर्मी लगायत विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित नेपाली तथा जापानीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो समारोहमा जिज्ञानकुमार थापा र राजदूत डा. सुबेदीद्वारा लिखित दुई पुस्तकको विमोचन पनि गरिएको थियो ।***

तपाईको प्रतिक्रिया