समाचार सुन्नुहोस :
काठमाडौँ – निरन्तर परेको वर्षाका कारण काठमाडौंको बाग्मती नदीमा जलस्तर सतर्कता तह पार गरेको छ, जसलाई गौरीघाट जलमापन केन्द्रले पुष्टि गरेको छ। जलस्तर अझै बढ्ने सम्भावना रहेकोले तटीय क्षेत्र र बाग्मती कोरिडोर भएर यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
आज बिहानको मापन अनुसार, कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई लगायतका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहेको छ तर बहाव बढ्दो क्रममा छ। महाकाली नदी पारीगाउँ क्षेत्रमा जलस्तर सतर्कता तह नजिक पुगेको जानकारी प्राप्त भएको छ।
बाढी पूर्वानुमान महाशाखाले बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा स-साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र केही क्षेत्रमा आकस्मिक बहावको मध्यम जोखिम रहेको चेतावनी दिएको छ।
यसैगरी, सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दार्चुला लगायतका जिल्लामा पनि केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ।